इलाममा ‘बजेट पार्न’ सिंहदरबारभित्र सुहाङको दौडधुप – Nepal Press

इलाममा ‘बजेट पार्न’ सिंहदरबारभित्र सुहाङको दौडधुप

मन्त्री चौधरीलाई भने- अरु क्षेत्रको बजेट काट्नुपर्छ भने हुन्दिनु

काठमाडौं । मंगलबार मध्यान्ह करिब १२ बजे सिंहदरबार परिसरभित्र झुल्किए एक उत्साही युवा । भादगाउँले टोपी, कालो सटमाथि खरानी रंगको कोट-पेन्टमा सजिएका उनी टाढैबाट चिनिए- सुहाङ नेम्वाङ ।

भर्खरै इलाम २ को उपनिर्वाचनमा जित हासिल गरेका सुहाङको व्यक्तिगत ‘क्रेज’ सिंहदरबारभित्र पनि राम्रैसँग उजागर भयो । उनलाई चिन्नेहरू सेलिब्रिटी भेटेजसरी हात मिलाउन र फोटो खिचाउन आतुर देखिन्थे । कर्मचारीदेखि नेता-कार्यकर्ताहरू समेत उनीसँग नजिकिन चाहिरहेका थिए । सुहाङले पनि भ्याएसम्म सबैलाई रेस्पोन्स गरे ।

सुहाङ सिंहदरबारभित्र यसरी छिरेको आज दोस्रो दिन थियो । इलामबाट आइतबार साँझ काठमाडौं ओर्लिएका उनी हिजो पनि आएका थिए । उद्देश्य एउटै थियो, आफ्नो निर्वाचन क्षेत्रमा बजेटका लागि ताकेता । देश संघीयतामा गएर ‘टोलटोलमा सिंहदरबार’ भनिए पनि अहिलेसम्म बजेटका लागि काठमाडौंकै सिंहदरबारको मुख ताक्नुपर्ने अवस्था छ । सुहाङको यो दौडधुपले समस्या सांसदहरूको प्रतिनिधित्वसमेत गर्छ ।

सुहाङसँग भेट्ने अधिकांशले बुवा सुवासको नाम लिएर उनीप्रति आत्मीयता दर्शाए । बुवाको विरासतलाई कायम राख्दै राजनीतिक सफलताको शुभकामना दिए । अरुले बुवाको नाम लिनासाथ सुहाङको अनुहारमा भावुकता छाइहाल्थ्यो ।

सुहाङले विभिन्न मन्त्रालयमा मन्त्री, सचिवलाई भेटेर आफ्ना क्षेत्रका समस्या राख्दै रकम विनियोजनका लागि योजनाको माग गरे ।

‘भोट माग्दै जाँदा मतदाताहरूले विभिन्न समस्या र मागहरू राख्नुभएको छ । त्यसलाई सम्बोधन गर्नु/गराउनु मेरो कर्तव्य हो । मेरो काँधमा अझ ठूलो जिम्मेवारी आएको छ । इलामेलीको सुखदुःखमा कहाँ गएर कसलाई भेट्दा हुन्छ गम्भीरतापूर्वक लाग्नेछु’, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअघि भेटिएका उनले भने ।

मन्त्री भगवती चौधरीलाई भेटेर उनले इलाम २ का एकल महिला र बालबालिकाको उत्थान र अधिकारका लागि बजेटको माग राखे । मन्त्री चौधरीले प्रायः योजनाहरू तय भइसकेको बताउँदै अन्यत्रबाट काटेर भए पनि मिलाउने आश्वासन दिइन् ।

महिला बालबालिका मन्त्रालयमा मन्त्री चौधरी सचिव भट्टराईबाट बधाई थाप्दै सुहाङ ।

उनले भने, ‘कतैबाट काटेरै त नगरौं, त्यहाँ फेरि अन्याय पर्ला । अरु ठाउँ छ भने हेरिदिनुहोस् ।’

सुहाङको यो जवाफ ‘अनपेक्षित’ थियो । मन्त्रीसँगको यो वार्तालापमा सचिव दिनेश भट्टराईलगायतका अधिकारी सँगै थिए । सचिवसँगै रहेका एक उच्च तहका कर्मचारीले भने- नेताले भन्ने त यस्तो हो नि ! आफ्नो क्षेत्रलाई मात्र नभएर सबैतिर समान नजरले हेर्ने ।

मन्त्री चौधरीले भनिन्, ‘मलाई सुवास दाइले गर्नुभएको सपोर्ट जिन्दगीभर भुल्ने छैन । तपाईँका लागि मेरो मन्त्रालयको ढोका चौबिसै घण्टा खुल्ला छ । आफ्ना कुरा निर्धक्क राख्न सक्नुहुन्छ बाबु !’

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई भेटेर सांसद नेम्वाङले इलामको चिया, कफी विकास र कृषकका जीवनस्तरका लागि योजना सुनाए ।

मन्त्रीसमक्ष उनले भने, ‘त्यहाँ उत्पादन भएको दूधले बजार पाउन नसकिरहेको अवस्था छ । आफूसँग स्रोतसाधन नहुँदा जमिन बाँझै छ । अनेकन सम्भावना हुँदाहुँदै पनि सिँचाइ, मलखादलगायतका समस्याले बसाइ हिँड्न बाध्य छन् । यी विषयलाई सम्बोधन गर्न अनुदानलाई विशेष ध्यान दिनुपर्‍यो ।’

मन्त्री साहले पनि आफ्नो मन्त्रालय र मातहतका निकायबाट सकेको सहयोग गर्ने वचन दिइन् ।

सुहाङले हिजो उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भेटेका थिए । आज कानूनमन्त्री पदम गिरी, खानेपानीमन्त्री राजेन्द्र राईलाई पनि भेटेका छन् । ऊर्जामन्त्री शक्ति बस्नेतलाई पनि भेट्ने उनले सुनाए ।

चुनावी अभियानका क्रममा उठेका सवालको सूची तयार गरिरहेको सुहाङले बताएका छन् । पूर्वाधार, कृषि, खानेपानी, पर्यटन, सामाजिक विकासलाई प्राथमिकताका अघि बढाउँदै निर्वाचन क्षेत्रको मुहार फेर्न अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर अघि बढ्ने उनको योजना छ ।

‘देश यतिखेर नयाँ बजेटको अन्तिम चरणमा छ । सबैतिरका समस्या एकैपटक सम्बोधन गर्न गार्‍है हुन्छ । सीमित स्रोत साधनका बाबजुत यो चटारोका बीच कति सक्छु, अधिकतम आयोजना पार्ने, क्रमागतमा राख्ने २/४ दिन अझै दिनरात मिहेनत गर्छु । आउँदा दिनमा यसलाई निरन्तरता दिने त छँदैछ ‘, सांसद नेम्वाङले भने ।

सबै मन्त्रालय र सरोकारवाला निकायमा एक चरण पुगेर निर्वाचन क्षेत्र र मतदाताका सवालको सूची भोलितिर अर्थमन्त्री वर्षमान पुनसमक्ष पेश गर्ने सुहाङले बताएका छन् ।

उनले भोलि प्रतिनिधिसभा सदस्यको शपथ लिँदै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर