सतर्कता केन्द्रको सिंहदरबारमा छड्के, १६ कर्मचारी अनुपस्थित, ७८ जना ढिलो – Nepal Press

सतर्कता केन्द्रको सिंहदरबारमा छड्के, १६ कर्मचारी अनुपस्थित, ७८ जना ढिलो

तोकिएको पोशाक नलगाउने २० जना भेटिँदा कार्यकक्षमै चार जना भेटिएनन्

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चार वटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । केन्द्रले आइतबार कर्मचारीले समय पालना गरे नगरेको, तोकिएका पोसाक लगाए नलगाएको लगायत विषयमा गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छड्के अनुगमन गरेको हो ।

छड्के अनुगमनका क्रममा विदा स्विकृत नगराएरै अनुपस्थित हुने कर्मचारीको संख्या १६ रहेको छ । जसमा गृह मन्त्रालयमा नौ जना र शिक्षा मन्त्रालयमा सात जना रहेका सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा तोकिएको कार्यालय समयभन्दा ढिला आउने कर्मचारीको सङ्ख्या ७८ जना भेटिएको छ ।

गृह मन्त्रालयका ३४ जना, परराष्ट्र मन्त्रालयका १० जना, शिक्षा मन्त्रालयका सात जना र उद्योग मन्त्रालयका दुई जनाले तोकिएको कार्यालय समयभन्दा ढिला कार्यालय आएको भेटिएको सूचना अधिकारी शर्माले बताए । अनुगमनका क्रममा शिक्षा मन्त्रालयका चार जना कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिएको पनि सतर्कता केन्द्रले जनाएको छ ।

अनुगमनका क्रममा ती मन्त्रालयमा तोकिएको पोसाक नलगाउने कर्मचारीको सङ्ख्या पनि उल्लेख्य देखिएको छ । जसमा शिक्षा मन्त्रालयका नौ, परराष्ट्र मन्त्रालयका नौ र उद्योग मन्त्रालयका दुई गरेर २० जना कर्मचारी तोकिएको पोसाक नलगाएरै कार्यालयमा उपस्थित भएको सतर्कता केन्द्रले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *