नीति तथा कार्यक्रममा किसानका मुद्दा समेट्न महासंघले बुझायो ४२ बुँदे ज्ञापन पत्र – Nepal Press

नीति तथा कार्यक्रममा किसानका मुद्दा समेट्न महासंघले बुझायो ४२ बुँदे ज्ञापन पत्र

माग सम्बोधन हुने मुख्यमन्त्री र कृषि मन्त्रीको प्रतिबद्धता

कैलाली । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा किसानका विषय समेट्न माग गरेको छ ।

किसान महासङ्घका प्रदेश अध्यक्ष मदनराज रेग्मी सहितको टोलीले किसानको माग सम्बोधन हुने गरि नीति तथा कार्यक्रम निर्माण गर्न मुख्यमन्त्री दीर्घ सोडारी र भूमि व्यवस्था कृषि तथा सहकारी टिका थापालाई ज्ञापन पत्र बुझाइएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१्०८२ को लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको बेला ४२ बुँदे माग राखिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

उनका अनुसार किसान मैत्री एकीकृत कृषि नीति निर्माण गरि लागू प्रदेश स्तरीय किसान आयोग गठन, कृषि उत्पादनको तथ्याङ्क अद्यावधिक गर्ने, प्रभावकारी एकीकृत सूचना व्यवस्थापक प्रणाली लागू गर्ने , मल तथा बिउँको सहज उपलब्धताको माग गरिएको छ ।

वास्तविक किसानले अनुदान नपाएको भन्दै उनले किसानको अनुदान किसानकै खातामा जाने व्यवस्था गर्न पनि माग गरिएको बताए ।

कृषि तथा पशु बिमा निःशुल्क तथा अनिवार्य गर्नु पर्ने, कृषि औजारमा ९० प्रतिशत अनुदान दिनु पर्ने र कृषि औजार कारखाना प्रदेशमै खोल्नु पर्ने व्यवस्था गर्न माग गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।

किसान महासङ्घको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सोडारीले ती मागहरू प्रति प्रदेश सरकार गम्भीर रहेको र माग सम्बोधन गर्न आफूले भूमिका खेल्ने बताएका थिए ।

‘तपाइहरूले महत्त्वपूर्ण माग लिएर आउनु भएको छ । यी माग सम्बोधन गर्नु प्रदेश सरकारको दाइत्व पनि हो’, उनले भने, ‘म माग सम्बोधन हुने गरि नीति तथा कार्यक्रम बनाउन लाग्छु ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापाले पनि किसान मैत्री नीति तथा कार्यक्रम र बजेट ल्याउन पहल गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर