मरिण डाइभर्सन सुरुङ मार्गको ब्रेक थ्रु भोलि, विश्व रेकर्डमा नाम लेखाउने तयारी ! – Nepal Press

मरिण डाइभर्सन सुरुङ मार्गको ब्रेक थ्रु भोलि, विश्व रेकर्डमा नाम लेखाउने तयारी !

काठमाडौं । सुनकोशी मरिण डाइभर्सनको सुरुङमार्ग ब्रेक थ्रु भोलि हुने भएको छ । यो परियोजनालाई आर्थिक गेम चेन्जर परियोजनाको रुपमा हेरिएको छ ।

आयोजना प्रमुख मित्र बरालले प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि सुरुङ मार्गको ब्रेक थ्रु गर्ने बताए । सुनकोशी-मरिण डाइभर्सनको कुल लम्बाइ १३.३ किलोमिटर रहेको छ ।

सुरुङ निर्माण समय २ वर्ष रहेकोमा १९ महिनामै काम सकिन लागेको बरालले बताए । उनले भने, ‘केही समय भौगोलिक समस्या देखिएर काम रोकिएको थियो । नरोकिएको भए १९ महिनाभन्दा पहिले नै सकिने थियो । सुरुङको ब्रेक थ्रु भए पनि अन्य काम पूरा गर्न अझै करिब १ वर्ष लाग्ने छ ।’

आयोजनाको काम २०७९ असोज २८ गते सुरु भएको थियो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ ।

सो आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सुरुङको ब्रेक थ्रु हुन लागे पनि बाँध तथा विद्युत गृहको काम लक्ष्यअनुसार हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न आयोजनाले पटक पटक निर्देशन दिएको छ । विसं २०८४ असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विद्युत प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोशी-मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई ९०० मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ ।

बाँध तथा विद्युत गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

सुनकोशी गाउँपालिका-७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा लगिनेछ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका- २ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिंचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ हुनेछ ।

एक महिनामै १ हजार २०० मिटर सुरुङ मार्ग खनेर विश्व रेकर्ड राख्ने विषयमा समेत आयोजनाले छलफल गरिरहेको छ । भौगोलिक हिसाबले चुरे पहाड र महाभारत पर्वतमा पर्ने क्षेत्रमा पनि १ महिनामै १.२ किलोमिटर सुरुङ खनेकाले रेकर्डको लागि पहल भइरहेको बरालले बताए ।

बरालले भने, ‘जेठमा मात्रै १.२ किलोमिटर सुरुङ मार्ग खनेको र विश्व रेकर्डमा नाम लेखाउन पहल भइरहेको छ । हामीले विश्वमा यस्तो भौगोलिक ठाउँ भएको स्थानमा यसरी सुरुङ खनिएको छ वा छैन भनेर खोजिरहेका छौं । अहिलेसम्म कुनै देशले यस्तो भौगोलिक संरचना भएको ठाउँमा यति छिटो खनेको पाएका छैनौं ।’

सो आयोजनाको सुरुङको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । सो कम्पनीले ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गरेका थिए । आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, वृद्धि भएर अहिले ४९ अर्ब ४२ करोड पुगेको बरालले बताए ।

हालसम्म आयोजनामा १३ अर्ब खर्च भएको छ र ३० प्रतिशत भौतिक प्रगति भएको छ । गत आवमा ५ अर्ब ४१ करोड खर्च भएको थियो ।

बागमती सिंचाइ आयोजनाबाट सिंचाइ भइरहेको रौतहट र सर्लाहीको ४५ हजार ६०० हेक्टर र बारा, रौतहट, धनुषा र सर्लाही गरी जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिंचाइ पुर्‍याउने आयोजनाको उद्देश्य छ । आयोजनाबाट ३१.०७ मेगावाट विद्युतसमेत उत्पादन गर्ने उद्देश्य लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *