ओली-प्रचण्डको चालबाजीले सत्ता गठबन्धन ‘ग्रिन जोनमा’, माधव र उपेन्द्र एकैपटक ‘डिफ्यूज’ – Nepal Press

ओली-प्रचण्डको चालबाजीले सत्ता गठबन्धन ‘ग्रिन जोनमा’, माधव र उपेन्द्र एकैपटक ‘डिफ्यूज’

सरकार नछाड्ने पक्षमा माधव-उपेन्द्र, गठबन्धनले नै गलहत्याउने सम्भावना कति ?

काठमाडौं । सत्तारुढ दल जसपा नेपालमा अनायास आएको विभाजनले वर्तमान सत्ता गठबन्धनलाई ‘डेन्जर जोन’बाट उकासेर ‘ग्रीन जोन’ मा पुर्याइदिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सहयोगमा प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक आफ्नो सत्ता लम्ब्याउन निर्णायक चाल चलेका छन् ।

एमाले-माओवादीको सत्ता गठबन्धन जन्मेकै दिनबाट धरमर थियो । नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो हैसियतभन्दा अग्लाअग्ला डिमाण्ड राखेर प्रचण्ड-ओलीलार्ई वाक्क बनाइरहेका थिए ।

अर्कोतर्फ यो गठबन्धन चाँडोभन्दा चाँडो भत्काएर कांग्रेसलाई सत्तामा पुनर्स्थापन गर्न विदेशी शक्ति केन्द्र लागिपरेकै थिए । संसदीय गणितले पनि वैकल्पिक गठबन्धन निर्माण त्यति कठिन हुन्थेन । यो खेलमा वर्तमान सरकारमा उपप्रधानमन्त्री रहेका उपेन्द्र यादव स्वयम् सामेल थिए ।

उपेन्द्र र माधवले निम्त्याउन सक्ने खतराबाट चनाखो रहेका ओली-प्रचण्डले नेकपा एस र जसपामा विभाजन ल्याउने कसरत सुरु गरे । यी दुवै पार्टीमा केही नेताहरु ओलीप्रति सकारात्मक र अनुग्रही थिए ।

अन्ततः जसपाका वरिष्ठ नेता अशोक राईले नयाँ पार्टी दर्ता गरेर सत्ता गठबन्धनलाई ठूलो त्राण दिएका छन् । अब माधव नेपालको नेकपा एस र उपेन्द्र यादवको जसपा नेपालबिनै पनि सरकारलाई बहुमत पुग्ने आधार तयार भएको छ ।

जसपा फुट्दैछ भन्ने सुईंको बाहिर कसैलाई पनि थिएन । जब अशोक राई निवेदन बोकेर निर्वाचन आयोग पुगे, अनिमात्रै के भएछ मिडियाले के भएछ भनेर खोजिनीति गर्न थालेका हुन् ।

जसपाका १२ मध्ये ७ जना सांसद राईतिर लागेका छन् । अब उपेन्द्र वा माधवले सरकारबाट बाहिरिने निर्णय गरे भने पनि सरकारलाई खतरा छैन । बरु गठबन्धनले नै उनीहरुलाई गलहत्याउन सक्ने चर्चा हुन थालेको छ ।

प्रचण्ड ओलीले जसपासँगै नेकपा एसमा पनि विभाजन ल्याउन खोजेका थिए । एसका दुई सांसद प्रेम आले र किसान श्रेष्ठले बल गरेका पनि हुन् । तर, उनीले आवश्यक संख्या पुर्याउन सकिरहेका छैनन् । पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ । नेकपा एसमा अधिकांश केन्द्रीय सदस्यहरु फुटको विपक्षमा छन् ।

यता, जसपा विभाजनपछि माधव नेपालको पनि ‘टोन डाउन’ भइसकेको छ । सरकारको भविष्य आफ्नो हातमा हुँदा शक्तिशाली देखिएका उनी एकाएक निरीह देखिएका छन् ।

एकप्रकारले उनी ‘पुन मुसिको भव’ को अवस्थामा फर्किएका छन् । यही बदलावको छनक उनले हिजो बसेको पार्टी बैठकमा पनि दिए । नेपालले यो गठबन्धन आफूहरु ।

१५ दिन अगाडि माधव नेपालको टोन अर्कै र चर्कै थियो । उनले गत वैशाख १० गते एक भाषणमा यो सरकार कति दिन टिक्छ टुंगो नभएको बताएका थिए ।

नेपाल भन्दै थिए, ‘हामी सहज अनुभुति गरिरहेका छैनौं । हामी कसैको धाकधम्की र थिचोमिचो सहन जन्मेका होइनौ । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।’

उनको अभिव्यक्तिको सार भनेको यदि आफ्नो डिमान्डहरु पूरा नगरेमा सरकारबाट बाहिरिने नै थियो । तर, अब उनी यस्तो अभिव्यक्ति दिनसक्ने स्थितिमा रहेनन् । पार्टी जोगाउनका लागि पनि उनलाई सरकारमा टाँसिनैपर्ने बाध्यता छ ।

नेपालले गठवन्धनमा चर्को बार्गेनिङ गरेर सुदरपश्चिमको मुख्यमन्त्रीसमेत हत्याउन सफल भएका थिए । तर, मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिन सकेका छैनन् ।

एमालेले सोडारी सरकारलाई समर्थन गर्नेमा शंका छ । ओलीले केही दिन पर्खिन सन्देश पठाएका छन् । माधवको अबको चुनौति सुदुरपश्चिम सरकार जोगाउनु पनि हो ।

लगभग उस्तै निरिहतामा पुगेका छन् उपेन्द्र यादव पनि । आफैं सरकारमा रहेको हुँदा नेपालले जस्तो चर्को अभिव्यक्ति नदिए पनि भित्रभित्र उनी गठबन्धन भत्काउने खेलमा सक्रिय थिए । उनलाई विदेशी शक्तिकेन्द्रले मज्जाले प्रयोग गरिरहेको थियो ।

तर, वैकल्पिक गठबन्धन बनाउन सक्ने सम्भावनाको अन्त्य भएसँगै यादव पनि डिफ्यूज भएका छन् । यादवले पनि आज पार्टीको वैठक राखेर यो गठबन्धनबाट ‘जुगजुग बाहिर ननिस्किने’ खालको निर्णय गराए ।

माधव र उपेन्द्र एकैपटक निस्तेज भएपछि प्रचण्ड शक्तिशाली प्रधानमन्त्री बनेका छन् । यद्यपि, उनी निश्चिन्त भने नरहन सक्छन् किनकी कांग्रेसका केही नेताहरुले एमाले अध्यक्ष ओलीलाई फकाउन निरन्तर प्रयास गरिरहेका छन् ।

प्रचण्डसँग ओली बेखुशी भएको दिन सरकार असुरक्षित बन्न सक्छ । तर, साना दलहरुले ठूलो बार्गेनिङ गर्ने स्थितिको चाहीँ अन्त्य भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर