अनमोलको ‘रिभाइभल’ – Nepal Press

अनमोलको ‘रिभाइभल’

‘फर्की फर्की’ले फर्कायो अनमोल क्रेज, मल्टिस्टारर ‘पुजार सार्की’ लाई एक्लै टक्कर

काठमाडौं । आफ्नो करिअरको नवौं फिल्म ‘छड्के २’ बाट लज्जाजनक असफलता र आलोचना खेप्नुपरेपछि नायक अनमोल केसीले सामाजिक सञ्जालमा एउटा संवेदनशील स्टाटस लेखेका थिए । उनको स्टाटसको सार थियो- आज म जिरोमा झरेको छु, अब १०औं फिल्मबाट मेरो दोस्रो सत्रको सुरुवात हुनेछ ।

कुनै पनि फिल्मकर्मी आफ्नो फिल्म फ्लप भएको भनेर सार्वजनिक रुपमा स्वीकार्न हिच्किचाउँछन् । हलमा फिल्मले पानी भन्न नपाए पनि केक काटेर ‘सक्सेस सेलिब्रेसन’ गर्नेहरुको कमी छैन, तर अनमोलले आफू ‘छड्के २’ मा चुकेको स्पष्ट शब्दमा स्वीकार गरेका थिए । र, अब आफूलाई नयाँ शिराबाट उतार्ने अठोट पनि व्यक्त गरेका थिए ।

अनमोल साँच्चिकै आफ्नो अठोटमा खरो उत्रिएका छन् । उनको १०औं फिल्म ‘फर्की फर्की’ बक्स अफिसमा हिट भएकोमात्र छैन, चौतर्फी प्रशंसा पनि पाइरहेको छ । यसअघि फिल्महरु हिट हुँदा पनि अनमोलको अभिनयमाथि प्रश्न उठ्ने गर्थ्यो । सामाजिक सञ्जालमा ट्रोल बन्ने गर्थे, तर ट्रोलरलाई कहिल्यै मुखले जवाफ नदिएका अनमोलले मेहनत र कामबाट जवाफ दिए । बायस्ड समिक्षकलाई छोडेर धेरैले ‘फर्की फर्की’ लाई उनको करिअरको ‘बेस्ट फिल्म’ मानेका छन् ।

पहिलो फिल्म ‘होस्टेल’ बाटै सफलताको स्वाद चाखेपछि अनमोलले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको थिएन । होस्टेलपछि उनले लगातार हिट फिल्म दिएर आफूलाई छोटो समयमै सुपरस्टारको श्रेणीमा पुर्‍याए । ‘जेरी’, ‘गाजलु’ र ‘ड्रिम्स’ व्यापारिक रुपमा सफल हुँदा उनको मार्केट भ्यालु ह्वात्तै बढ्यो । उनलाई खेलाउन निर्माता-निर्देशकहरुको लाइन लागे, तर अनमोलले त्यो गल्ती गरेनन्, जुन विगतमा अभिनेता राजेश हमालले गरे र अहिले दयाहाङ रार्ईले गरिरहेका छन् । उनले वर्षमा मुस्किलले एउटामात्रै चलचित्र साइन गरे । त्यसैमा पूरा समय र परिश्रम लगाए । पारिश्रमिकमा पनि सम्झौता गरेनन् । जसले गर्दा नेपाली फिल्म इन्डस्ट्रीकै महँगा नायक दरिन पुगे ।

‘ड्रिम्स’ पछि अनमोलका दुई चलचित्रले औसत व्यापारमात्रै गर्दा उनको क्रेज अलिकति सेलाएको भान भएको थियो । एक्सन जनराको ‘कृ’ र स्पोट्र्स जनराको ‘क्याप्टेन’ ले जेनतेन लगानी उठाउनमात्रै सके । तर, त्यसपछि झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ ले अनमोललाई फेरि उठायो । ‘ए मेरो हजुर ४’ त मेघा बजेटको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ सित भिड्नु परेको थियो । र, पनि चलचित्रले नाफाको व्यापार गर्न सफल भयो ।

यसरी आठौं फिल्मसम्म असफलता चाख्नु नपरेका अनमोललाई ‘छड्के २’ ले भने ठूलो सेटब्याक दियो । चलचित्रको ट्रेलरबाटै उनी ट्रोल हुन थालिसकेका थिए । उनको ग्याङस्टर लुकलाई दर्शकले रुचाएनन् । न चलचित्रको विषयवस्तुले नै दर्शकलाई अपिल गर्‍यो । फिल्मी भाषामा भन्दा ‘छड्के २’ ले पानी भन्न पाएन । अनमोलको स्टारडममा ठूलो प्रश्नचिन्ह लाग्यो । उनी स्वयम् नराम्ररी रन्थनिएका थिए ।

‘छड्के २’ पछि अनमोलले फिल्मको छनोटमा निकै सतर्कता अपनाए । उनले यसअघि नै साइन गरिसकेको पूजा शर्माको फिल्म ‘रावायण’बाट हात झिके । त्यसपछि उत्पन्न विवादले अनमोललाई प्रहरी हिरासतमै पुर्‍याएको थियो । अनमोलले फिल्म छाड्दा आफूलाई करोडौं क्षति भएको भन्दै सुदर्शन थापाले उजुरी दिएका थिए ।

निकै सोचीसम्झी अनमोलले ‘फर्की फर्की २’ साइन गरेका हुन् । निर्माता रोहित अधिकारीले अनमोललाई ‘फर्की फर्की’ मा अनुवन्धित गरेपछि धेरैलाई आशंका थियो कि अनमोलले यो फिल्म पनि छोड्न सक्छन् । निर्माता अधिकारीलाई पनि यही प्रश्नले घेरेको थियो । त्यसपछि उनले फेसबुकमै प्रष्टीकरण दिएका थिए, ‘यो फिल्म अनमोलको प्रोजेक्ट हो र यसमा हामी इन भएका हौं । त्यसैले अनमोलले फिल्म छोड्ने प्रश्नै उठ्दैन । हामी तोकिएको डेटमा नै जान्छौं ।’

‘छड्के २’ फ्लप भएपछि अनमोलले आफ्नो अभिनयको सीमा र दर्शकको रुचि बुझेका थिए । त्यसैले यसबीचमा आएका दर्जनौं अफर उनले पन्छाए र ‘फर्की फर्की’ रोजे । यसअघि उनले खेल्ने फिल्मको निर्धारण बाबु भुवन केसीले गर्ने गर्थे । भुवनलाई पैसाको खाँचो पर्‍यो भने पनि अनमोललाई एउटा फिल्म साइन गराएर एड्भान्स रकम लिइहाल्थे । ‘आज्ञाकारी’ अनमोलले थुप्रै फिल्मको कथै राम्रोसित नसुनिकन एड्भान्स लिएका छन् र पछि फिर्ता गरेका छन् । यसले गर्दा उनको क्रेडिबिलिटीमा नै समस्या उत्पन्न भएको थियो ।

‘छड्के २’ पछि भने अनमोलले आफ्नो फिल्मको विषयमा आफैंले निर्णय लिने गरे । यही निर्णयले उनलाई हचुवामा फिल्म साइन गर्न रोकेको छ । सायद भुवन केसी पनि आफ्नोभन्दा छोराको छनोट सही भएकोमा विश्वस्त भए होलान् ।

हुन त भुवन पनि नेपाली फिल्म इन्डस्ट्रीका लिजेन्ड हुन् । नायकका रुपमा मात्र नभएर निर्माताका रुपमा पनि उनले फिल्म उद्योगमा ठूलो योगदान पुर्‍याइरहेका छन्, तर बुवा र छोराको तौरतरिका र स्वभावमा आकाश-जमिनको फरक छ । भुवनका हेटर्सहरु जति छन्, त्यसको तुलनामा अनमोलका नगण्य छन् । अनमोलको आलोचना गर्ने विषयवस्तु नपाएकाहरुले भुवनसँगै नाम जोडेर उनलाई विवादित बनाउन खोज्छन्, तर अहिलेसम्म अनमोल आफूलाई कुनै पनि ठूलो कन्ट्रोभर्सीबाट बाहिर राख्न सफल भइरहेका छन् ।

नेपालका आमफिल्मी सेलिब्रिटीभन्दा अनमोलको काम गर्ने शैलि र जीवनशैली  भिन्न छ । उनी आफ्नो स्टारडम मेन्टेन गर्न सक्ने नेपालका एकमात्र कलाकार हुन् भन्दा पनि हुन्छ । अरु कलाकार जस्तो यत्रतत्र देखिँदैनन् । आफ्नो फिल्म रिलिजको बेलामा बाहेक मिडियामा देखा नै पर्दैनन् । सार्वजनिक कार्यक्रममा पनि निकै कम उपस्थित हुन्छन् । काम नभएकाे बेला बरु घरमै कुकुर खेलाएर, विरुवामा पानी हालेर बस्छन् । आलोचकहरुलाई जवाफ दिएर नबस्नु अनमोलको अर्को सत्गुण हो । न उनी अरुलाई नराम्रो भन्छन् न त नराम्रो भन्नेलाई जवाफ दिन्छन् ।

कलाकारकाे हिसाबले भने अनमोलको क्षमता सिमित छ ।  उनी अभिनयमा पाेख्त छैनन् । नेचुरल एक्टर होइनन् । उनकाे अभिनय निर्देशकमा धेरै निर्भर हुन्छ । सबैखाले भूमिकामा फिट हुन सक्दैनन् । संवाद सम्प्रेषण स्वस्फुर्त  छैन । यद्यपि, उनी मेहनती हुन् र मेहनतले नै आफूलाई निखार्दै लगेका छन् । जस्तो कि सुरुका चलचित्रहरुमा उनी डान्समा निकै कमजोर थिए । अहिले राम्रै डान्स गर्न सक्छन् ।

‘फर्की फर्की’ रिलिजअघि निकै दबाबमा थिए अनमोल । यदि यो चलचित्र नचलेको भए उनको स्टारडममा निकै क्षति पुग्नेवाला थियो । ‘मेघा स्टार’ को उपमा जोक बन्न सक्थ्यो । आगामी यात्रा कठिन हुने पक्का थियो । तर ‘फर्की फर्की’ बाट अनमोलले दर्शकको माया पाए । मल्टिस्टारर ‘पुजार सार्की’ कै हाराहारीमा ‘फर्की फर्की’ ले व्यापार गरिरहेको छ । ‘फर्की फर्की’ लाई युवायुवतीले बढी रुचाएका छन् भने ‘पुजार सार्की’ ले सिरियस अडियन्सलाई अपिल गरेको छ ।

‘पुजार सार्की’ मा अनमोलका प्रतिस्पर्धी मानिने प्रदीप खड्कासहित आर्यन सिग्देल र पल शाहले एकसाथ अभिनय गरेका छन् । फर्स्ट लुक आएदेखि नै यो चलचित्रमाथि दर्शकको कौतुहल बढेको थियो र प्रतीक्षित बनेको थियो, तर जब ‘फर्की फर्की’ को रिलिज डेटसँग जुधाएर ‘पुजार सार्की’ को रिलिज डेट घोषणा भयो, धेरैले ‘फर्की फर्की’ ले रिलिज सार्ने अनुमान गरेका थिए, तर अनमोल टसमस भएनन् । निर्माताले पनि उनीमाथि विश्वास देखाए ।

‘फर्की फर्की’को ट्रेलर आएपछि यो चलचित्रप्रति दर्शकको उत्सुकता ह्वात्तै बढेको थियो । उत्कृष्ट मेकिङको छनक ट्रेलरबाटै मिल्थ्यो । यता ‘पुजार सार्की’को ट्रेलर पनि कम दमदार थिएन । एकसाथ दुई उत्कृष्ट चलचित्र भिड्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी चलचित्र पण्डितहरुले गरिरहेका थिए, तर दर्शकले दुवै चलचित्रलाई साथ दिएका छन् । एकैपटक रिलिज हुँदा पनि दुइवटा चलचित्र पालिन सक्ने बजार नेपालमा क्रियट भइसकेको छ भन्ने दृष्टान्त पनि हो यो ।

सबैभन्दा सुखद पक्ष चाहिँ नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्नु नै हो । हरेक वर्ष विदेशी, खासगरी भारतीय र दक्षिण भारतीय फिल्महरुले नेपालबाट करोडौं रकम सोहोर्दा नेपाली निर्माताहरुले पोस्टर खर्चसमेत उठाउन नसक्ने अवस्था छ । वर्षमा सय हाराहारी चलचित्र बन्दा मुस्किलले १ दर्जनले मात्रै लगानी उठाउन सक्छन्, तर यो वर्षको सुरुवात निकै भिन्न रुपमा भएको छ । एकपछि अर्को चलचित्रले बम्पर व्यापार गरिरहेका छन् । भर्खरैमात्र केकी अधिकारीको ‘बोक्सीको घर’मा दर्शक उर्लिएका थिए । दर्शकहरु विस्तारै मौलिक विषयवस्तुमा रमाउन थालेको सुखद संकेत पनि हो यो ।

– चिरञ्जीवी


प्रतिक्रिया

One thought on “अनमोलको ‘रिभाइभल’

  1. Anmol is a great person. I know him personally. He is honest and trustworthy, but sometimes even the greatest artist can go through difficult times. Such times come to make someone more serious, powerful, and strong. I hope he is doing the same, and I admire his resilience. He accepted his weaknesses, identified the main reasons for his failures, and worked on them. Now it seems like a rebirth for him. This is the habit of highly successful people.

Leave a Reply

Your email address will not be published. Required fields are marked *