‘कङ्गारु’मा जितु नेपाल अनुबन्धित – Nepal Press

‘कङ्गारु’मा जितु नेपाल अनुबन्धित

काठमाडौं । चलचित्र ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । सम्राट बस्नेतको निर्देशनमा बन्ने चलचित्रका लागि निर्माण पक्षले शुक्रबार जितुसँग लिखित सम्झौता गरेको हो ।

चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा यसअघि नै अनुबन्धित भइसकेका छन् । राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा तयार हुने चलचित्रको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लाइनअप बलियो बन्दै गएको छ ।

जितुले यो चलचित्रमा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन् । उनले भने, ‘फिल्म ज्वाइँ साबको सेटमै आएर हस्ताक्षर गराउनु भयो । यो अवसरका लागि निर्देशक सम्राट बस्नेत निर्माण नियन्त्रक, दिलीप पन्तजीलगायत सम्पूर्ण टीमप्रति आभारी छु ।’

यसअघि चलचित्र ‘लाखे’ निर्देशन गरेका बस्नेतले यो चलचित्रलाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए । हाल चलचित्रका लागि अष्ट्रेलियामा छायांकन अवलोकन गरिरहेका निर्देशक बस्नेतले अब केही दिनमा नायिका फाइनल गरेर छायांकनमा जाने तयारी रहेको जानकारी दिए । ३५ दिनको छायांकन सेड्युल तय गरिएको चलचित्रको छायांकन अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरालगायतका क्षेत्रमा गरिने उनले बताए ।

चलचित्र ‘कङ्गारु’मा केही फरक कथा भन्न मन लागेको निर्देशक बस्नेतको भनाइ छ । ‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो । केही फरक कथा भन्न मन लागेको छ । कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौं । यस पटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ’, उनले भने ।

‘कंगारु’ फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजीटी प्रोडक्सन प्रालिको सहकार्यमा निर्माण हुन लागेको हो । चलचित्रमा प्रेम थापा, धनबहादुर गुरुङ ‘डीबी’ र मनोज भण्डारी ‘म्याक्स’ निर्माताको रुपमा छन् ।

चलचित्रको सह-निर्मातामा अञ्जन दुरा र लक्ष्मी राई छन् । कार्यकारी निर्माता टीका भण्डारी हुन् । चलचित्रका लाइन अप प्रोड्युसरमा सविन ज्ञवाली (अष्ट्रेलिया) रहेका छन् । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ । चलचित्रमा सीमा गुरुङको कथा रहेको छ । चलचित्रका छायाँकार सुशन प्रजापति हुन् भने प्रोडक्सन डिजाइनरमा दिलीप पन्त छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *