पुजार सार्कीको ट्रेलरभित्र छायाँमा परेका पल शाहको प्रष्टीकरण : फिल्ममा मेरो पनि महत्त्वपूर्ण भूमिका छ – Nepal Press

पुजार सार्कीको ट्रेलरभित्र छायाँमा परेका पल शाहको प्रष्टीकरण : फिल्ममा मेरो पनि महत्त्वपूर्ण भूमिका छ

काठमाडौं। दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ सार्कीको ट्रेलरले वाहवाही पाइरहँदा यसका एक अभिनेता पल शाहमाथि भने प्रश्नहरू उठेका छन् । ट्रेलर हेर्दा पल शाहको भूमिका पृथक् भए पनि छोटो र निर्बल छ कि भन्ने आशंका उनका फ्यानहरूलाई भएको छ ।

चलचित्रको केन्द्रीय पात्र प्रदीप खड्का हुन् भन्ने आँकलन ट्रेलरबाट गर्न सकिन्छ । उनको अभिनय र संवाद सम्प्रेषणले दर्शकलाई आकर्षित गरेको छ । प्रदीपपछि आर्यन सिग्देलले ट्रेलरमा राम्रो स्थान पाएका छन् । तर, पल शाहको उपस्थित बलियो छैन । ४ मिनेट २१ सेकेन्डको ट्रेलरमा उनी एकाध दृश्यमा मात्रै देखिन्छन् । फिल्ममा उनको भूमिका ‘नायक’ नभई चरित्र अभिनेताको जस्तो प्रतीत भएको छ ।

पल शाह पुजार सार्कीको ट्रेलर रिलिज कार्यक्रममा पनि उपस्थित भएनन् । पछिल्ला दिनमा आर्यन र प्रदीप चलचित्रको प्रमोसनमा दौडधुप रहँदा पल भने आफ्नो नयाँ फिल्म ‘रावायण’ को छायांकन गर्न हिँडे । यद्यपि, जानुअघि उनले पनि केही मिडियालाई अन्तरवार्ता दिन भ्याएका थिए ।

ट्रेलर रिलिजपछि उत्पन्न भइरहेका क्रिया प्रतिक्रियालाई लिएर पल शाहले आज प्रष्टीकरण दिएका छन् । चलचित्रमा आफ्नो स्क्रिम टाइम थोरै भए पनि भूमिका महत्त्वपूर्ण रहेको उनको दाबी छ । उनले ‘रावायण’ को छायांकनमा व्यस्त रहेकाले नै आफू ट्रेलर रिलिजमा आउन नसकेको पनि बताएका छन् ।

पल भन्छन्, ‘मैले यो चलचित्रमा अन्य चलचित्रभन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु । ट्रेलरबाट तपाईँले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु । मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु । ‘पुजार सार्की’ मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रष्ट पार्न चाहन्छु कि यो चलचित्रमा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ । निर्देशकले आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *