परीक्षाकाे पहिलाे परीक्षा (भिडिओ) – Nepal Press

परीक्षाकाे पहिलाे परीक्षा (भिडिओ)

काठमाडौं । यदि तपाईंले चलचित्र ‘पुजार सार्की’ को सार्वजनिक कुनै पनि गीत, ट्रेलर वा टिजर हेर्नुभएको छ । तपाईंको नौलो लाग्नेछ ‘गौमाया’, तर ‘गौमाया’ कुनै नौलो पात्र होइन ।

प्रदीपकी प्रेमिकाको भूमिका निभाएकी ‘गौमाया’ को वास्तविक नाम परीक्षा लिम्बू हो । धेरैलाई उनको यो पहिलो चलचित्र जस्तो लाग्न सक्छ, तर उनले यसअघि चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिका निभाइसकेकी छन् । यसपालि परीक्षा चलचित्र ‘पुजार सार्की’मार्फत पूर्ण भूमिकामा देखिँदैछिन् । यही जेठ १० गते विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा परीक्षाले ‘गौमाया’ को भूमिका निभाएकी छन् ।

भिडिओ:

चलचित्रमा परीक्षासहित अहिले रुचाइएका तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय देख्न सकिन्छ । विकास सुवेदीको लेखन र निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा नायिका अञ्जना बराइलीको पनि अभिनय छ । यी पाँचै जना कलाकारमध्ये उमेरको हिसाबले परीक्षा सबैभन्दा कान्छी हुन् । टिनएजमै रहेकी परीक्षाले काम भने कुनै अब्बल कलाकारको भन्दा कम गरेकी छैनन् ।

परीक्षाले यस चलचित्रमा अडिसनमार्फत आफ्नो स्थान बनाएकी थिइन् । मंगोलियन फेस भएकाले पनि उनलाई चलचित्रमा जोडिन थप सहज भयो । उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन् । सुरुवाती दिन सम्झिँदै उनी भन्छिन्, ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनु भएको रहेछ । मलाई चिन्नु हुनेले चलचित्रको अडिसन खुलेकाले प्रयास गर्न सुझाव दिनुभयो । त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ । चलचित्रमा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन् ।

अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लास्थित कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो । लवजकै कारण उनी यस चलचित्रमा काम गर्ने या नगर्ने भन्ने विषयमै अन्योलमा परिन् । अन्योलबीच उनलाई चलचित्रको टीमले भाषा ‘प्राक्टिस’ गरायो । उनले अभ्यास पनि राम्रै गरिन् । अभ्यासपछि परीक्षामा चलचित्रको लागि जरुरी पर्ने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनलाई निर्माण पक्षले ‘पुजार सार्की’को लागि फाइनल गर्‍यो । त्यसपछि उनी भइन्, ‘मैतबहादुर’ अर्थात प्रदीप खड्काको जोडी ‘गौमाया मगर’ ।

प्रदीपसँग उनको यो पहिलो सहकार्य हो । परीक्षा भन्छिन्, ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकें । उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । उहाँ आफ्नो काममा जति अब्बल हुनुहुन्छ, व्यक्तिगत रूपमा त्यति नै सहयोगी पनि हुनुहुन्छ ।’

परीक्षालाई सुरुमा तीन जना स्टार एकैसाथ भएको चलचित्रमा काम गर्दा कस्तो हुन्छ होला भन्ने डर रहेछ ।
‘मलाई सुरुमा उहाँहरूले कसरी काम गर्नुहुन्छ होला वा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहल र डर थियो, तर उहाँहरूलाई भेटिसकेपछि भने त्यो सबै हरायो । उहाँहरूसँग काम गर्दा झनै धेरै कुरा सिक्न पाइने रहेछ भन्ने भयो’, उनले सुनाइन् ।

चलचित्रमा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ । चलचित्रमा गरेको अभिनय र कथाबाट अन्तरजातीय प्रेम निकै गाह्रो हुने परीक्षाले महसुस गरेकी छन् । अहिलेसम्म आफूले जातीय विभेद नदेखेको उनको भनाइ छ । परीक्षाले भनिन्, ‘मैले हाम्रो घरमा कहिल्यै पनि जातीय विभेदको कुरा गरेको सुनिनँ । एक चोटि साथीको मुखबाट सुनेकी थिएँ । कास्कीकोट पुगेपछि भने प्रत्यक्ष देख्न पाएँ । त्यहाँ त तल्लो वर्गको छुट्टै बस्ती रहेछ ।’

उनका अनुसार कास्कीकोटमा तल्लो जातका लागि भनेर बस्तीहरु छुट्याइएका छन् ।

‘उहाँहरु आफ्नो थरअनुसार आफ्नै छुट्टै बस्ती र समाज बनाएर बस्नुभएको छ’, उनले थपिन्, ‘तर अचम्मको कुरा के हो भने त्यहाँ तल्लो वर्ग भनेर छुट्याएको समाजभित्र समेत भेदभाव छ । उहाँहरु हामीभन्दा यो जात अझ सानो हो भन्दै आफ्नै समाजभित्र जात वर्गीकरण गर्नुहुँदो रहेछ । जमाना कहाँ पुगिसक्यो, उहाँहरु भने आफ्नै समाजबाट माथि उठ्न सक्नुभएको रहेनछ । त्यो देखेर चाहिँ साह्रै नरमाइलो लाग्यो ।’

चलचित्रमा परीक्षाले मगर समुदायको प्रतिनिधित्व गरेकी छन् ।

‘यो जातीय विभेदले कुनै एक व्यक्तिलाई मात्र नभएर उनीहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो पार्दो रहेछ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो रहेछ’, परीक्षा भन्छिन्, ‘मैले चलचित्रमा एउटा पात्र भएर विभेद महसुस गर्न पाएँ, जुन रियल लाइफमा कहिल्यै महसुस गरेकी थिइनँ । यो अनुभवका लागि म भाग्यशाली छु ।’

परीक्षालाई भाषामा भने निकै गाह्रो परेको सुनाइन् । पूर्वकी बासिन्दा भएकाले पनि होला उनलाई पश्चिमको लवजमा ढल्न केही समय लाग्यो । यो आफ्नो लागि एक चुनौती भएको र आफूबाट अर्को मान्छे हुन पाउँदा निकै इन्जोय पनि गरेको परीक्षा बताउँछिन् ।

‘जारी र छक्का पञ्जामा धेरै कुरा सिक्न पाएँ । पुजार सार्कीमा भने ती सिकेका कुरा लागू गर्ने कोसिस गरेकी छु । तीन वटै चलचित्रमार्फत राम्रो ब्यानर, राम्रो ब्रान्ड र राम्रो टीमसँग काम गर्ने मौका पाएँ । एकदमै आशावादी र हर्षित छु’, उनी भन्छिन् ।

परीक्षालाई ‘पुजार सार्की’बाट ठूलो आशा छ । उनको बुझाइमा उनको उमेरका दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ ।

‘समाज र देशको भविष्य बनाउने हामी युवाहरु नै हौं । परिपक्व भइसकेपछि सम्झाउन र सम्झिन समय लाग्छ । त्यसैले सानैदेखि जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ’, उनी भन्छिन्, ‘चलचित्रले २०४६ सालमा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिएको छ । त्यसैले एकचोटि सबैले यो चलचित्र हेर्न जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *