नेपाल-यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न दूतावासमा अन्तरक्रिया – Nepal Press

नेपाल-यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्न दूतावासमा अन्तरक्रिया

आबुधावी । नेपाली दूतावास आबुधावीले नेपाल-यूएईबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धमा अन्तरक्रिया गरेको छ ।

आइतबार आबुधावीस्थित नेपाली दूतावासकै सभाहलमा आयोजित कार्यक्रममा यूएईमा लामो सयमदेखि व्यापार, व्यावसाय, लगानी र पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गरिरहेका झन्डै तीन दर्जन नेपाली व्यावसायीहरु सहभागी थिए ।

कार्यक्रममा दूतावासका नियोग उपप्रमुख विशाल भट्टराईले नेपाल र यूएई बीचको व्यापार, लगानी र पर्यटन प्रवर्द्धन सम्बन्धी विस्तृत प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा उपस्थित व्यवसायीहरुले नेपालको व्यापार, लगानी र पर्यटनको क्षेत्रमा रहेका चुनौती र समाधानका उपायहरुवारे आ–आफ्ना विचार तथा सुझाव दिएका थिए ।

कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सरकारले हालैका दिनहरुमा अबलम्बन गरेका नीति र कार्यक्रमहरुबारे जानकारी दिए ।

राजदूत क्षेत्रिले नेपालको व्यापार, लगानी र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावनाहरु रहेकाले युएईमा लगानी गरेका नेपाली व्यावसायीहरुलाई आ-आफ्नो क्षेत्रबाट नेपालको समृद्धि र विकासमा सहयोग गर्न अनुरोध गरे ।

नेपाल सरकारले गएको महिना मात्रै लगानी सम्मेलन गरेको र लगानी सम्मेलनमार्फत् अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बाधक देखिएका भनिएका केही कानुन अध्यादेशमार्फत् संशोधन गर्ने निर्णय समेत गरेको थियो ।

कार्यक्रमको सहजीकरण दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले गरेका थिए ।

यसैबीच भन्सार विभागको एक तथ्याकअनुसार युएईसँग २ अर्ब ५० करोड ४६ लाख ९ हजार रुपैयाँ व्यापार घाटा छ । यही व्यापार घाटा अन्तरलाई न्यूनीकरण गर्न समेत यस्ता कार्यक्रम सहयोगी बन्ने दुतावासको बुझाई छ । नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देश अन्तर्गत भारत, चीनसहित युएई छैठौं नम्बरमा छ ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका मुलुकहरु मध्ये भारत, अमेरिका, जर्मनी, युके, चीन, फ्रान्स, युएई, जापान, अष्ट्रेलिया, क्यानडा, इटाली टर्की, हङकङ (चीन) र डेनमार्क प्रमुखरुपमा रहेका छन् ।

नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, युएई, युक्रेन, मलेशिया, अष्ट्रेलिया, इण्डोनेशिया, मोरोक्को, जर्मनी, अमेरिका, ओमान, थाइलेण्ड, अर्जेन्टिना र फ्रान्स प्रमुखरुपमा रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *