‘पुजार सार्की’को ४ मिनेट २१ सेकेन्ड लामो ट्रेलर सार्वजनिक – Nepal Press

‘पुजार सार्की’को ४ मिनेट २१ सेकेन्ड लामो ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गतेबाट विश्वव्यापी रूपमा रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँको वन सिनेमामा एक समारोहको आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

आयोजित समारोहमा चलचित्रका कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाल लगायतको उपस्थिति रहेको थियो । अर्को चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण कार्यक्रममा नायक पल शाह भने उपस्थित थिएनन् ।

सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजका हरेक तहका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ । चार मिनेट २१ सेकेन्ड लामो ट्रेलरमा अभिनेता पल शाहलाई समाज परिवर्तन गर्न अग्रसर युवाको भूमिकामा प्रस्तुत गरिएको छ ।

आर्यन सिग्देल पुजारको रोलमा र प्रदीप खड्का मैतबहादुर नामक दलित युवकको भूमिकामा छन्। त्यस्तै, अञ्जना बराइलीले दलित युवती र परीक्षा लिम्बूले कथित उपल्लो जातको भूमिका निर्वाह गरेकी छिन ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। राउतले यसअघि ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायतका चलचित्रहरू निर्देशन गरेका थिए ।

यसअघिका दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’बाट जातीय विभेद र भौगोलिक विपन्नताको मुद्दा उठाएका दिनेश राउतले यो चलचित्रमा पनि जातीय विभेदकै मुद्दालाई मूल विषय बनाएका छन् ।

यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए। चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । डिजिटल वितरण ओएसआर डिजिटलले गरेको छ ।

चलचित्रमा तारा शर्मा, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ । निर्माता भुसालले स्वयं यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन् ।

हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले चलचित्रका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देवेन्द्र बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *