पहिलोपटक नेपाली क्रिकेट टीमको विजनेस क्लासमा यात्रा – Nepal Press

पहिलोपटक नेपाली क्रिकेट टीमको विजनेस क्लासमा यात्रा

सोमपालले हाले भ्लग

काठमाडौं । देशमा क्रिकेटको बढ्दो क्रेज र नेपाल क्रिकेट संघ (क्यान) आर्थिकरुपमा बलियो हुन थालेसँगै खेलाडीहरुको लाइफ स्टाइल पनि बदलिँदै गएको छ । खासगरि क्यानमा पारस खड्काको आगमनपश्चात खेलाडीहरुको सेवा सुविधालाई अत्यधिक महत्व दिएका छन् ।

अहिले नेपाली टीम टि २० विश्वकप खेल्न अमेरिकामा छ । यसपाली खेलाडीहरुलाई क्यानले जहाजको विजनेस क्लासको महंगो यात्रा गरायो । नेपालबाट कतार र कतारबाट अमेरिका जाने दुवै जहाजमा खेलाडीहरुले विजनेस क्लासको स्वाद चाखेका हुन् । खेलाडीहरुका लागि विजनेस क्लासको टिकट काटिएको सम्भवत पहिलोपटक हो ।

विश्वकप सुरु हुनुभन्दा एक महिना अगाडि नै खेलाडीहरुलाई अमेरिका पठाइएको हो । गत २१ वैशाखमा सोल्टी होटलमा खेलाडीहरुको बिदाइ कार्यक्रम भव्यरुपमा गरिएको थियो । त्यसको भोलिपल्ट उनीहरु अमेरिकातर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौंबाट २२ गते राति कतार एयरवेजको जहाजबाट उडेका खेलाडीहरु विजनेस क्लासको अनुभव लिन पाउँदा दंगदास थिए । बलर सोमपाल कामीले त भ्लग नै बनाएर युट्यूवमा पोस्ट गरेका छन् । सन् २०१४ को टि–२० विश्वकपमा भाग लिन बंगलादेश गएका बेला विजनेस क्लास नपाउँदा दुख लागेको भन्दै अहिलेको उपलब्धीमा उनले खुशी व्यक्त गरे ।

‘बल्ल फिल भइरहेको छ कि हामी अन्तर्राष्ट्रिय खेलाडी हौं भन्ने’, सोमपाल भन्छन् ।

काठमाडौंबाट उडेपछि कतारको दोहामा नेपाली टीमको ट्रान्जिट थियो । त्यहाँबाट फेरि १७ घन्टाको यात्रा पश्चात टीम अमेरिकाको मियामी अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएको हो । नेप्लीज एसोसिएसन अफ फ्लोरडाले विमानस्थलमा क्रिकेट टीमलाई स्वागत गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *