वनभोजमा शिक्षकबीच कुटाकुट प्रकरण : भ्रामक समाचार लेखेको क्याम्पस प्रमुखको आरोप, महासंघको विरोध – Nepal Press

वनभोजमा शिक्षकबीच कुटाकुट प्रकरण : भ्रामक समाचार लेखेको क्याम्पस प्रमुखको आरोप, महासंघको विरोध

कैलाली । कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको वनभोज कार्यक्रममा प्राध्यापकबीच भएको कुटपिट प्रकरण अहिले क्याम्पसले घटना लुकाउन खोज्ने र पत्रकारलाई दोष देखाउनेसम्म पुगेको छ ।

शनिबार वनभोज खान कैलालीको खानिडाडा पुगेका क्याम्पसका प्राध्यापकबीच कुटाकुट भएको हो । उक्त विषय प्रहरी कार्यालय सम्म पनि पुगेको थियो ।

क्याम्पसका प्राध्यापक विकास गौतमले आफूमाथि कुटपिट भएको भन्दै चार जनाविरुद्ध इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएका थिए । घटनाको भोलिपल्ट क्याम्पसले उक्त वनभोजमा शिक्षकबीच कुटाकुट भएको घटना प्रति छानबिन गरेर दोषीमाथि कारबाही प्रक्रिया अगाडी बढाउनु पर्नेमा उल्टै सञ्चार माध्यमहरूलाई दोष देखाएर घटना लुकाउने प्रयास गरेको पाइएको छ ।

क्याम्पस प्रमुखले लक्ष्मीप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरू प्रति झुटो समाचार प्रकाशन तथा प्रसारण गरेको आरोप लगाएका छन् ।

‘खानीडाडास्थित पिकनिक स्थलमा भएका क्रिया प्रतिक्रिया मिडिया र सामाजिक सञ्जालमा क्याम्पसको नाम जोडेर आएका आधारहीन, भ्रामक र झुटो समाचार प्रति क्याम्पसको गम्भीर ध्यानाकर्षण भएको छ’, क्याम्पस प्रमुख भट्टराईले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पसको नाम र यसको विश्वासमा अवरोध पुराउने निज मासिकता बोकेकाहरूको मिडियाबाजीको कुनै सत्यता नभएको जानकारी समेत गराउँछौँ ।’

क्याम्पस प्रमुखले घटनामा कसैले कसैलाई कुटपिट नभएको जिकिर गर्न खोजेका छन् । ‘दुई विद्यालयका सरहरूको खानपिन पछिको सामान्य भनाभनलाई क्याम्पसलाई जोडी समाचार बन्नु असान्दर्भिक भएको महसुस गर्दै प्रेससँग सम्बन्धित माथिल्लो निकायलाई कपोकल्पित र भ्रामक समाचार लेखिएकोमा प्रमाण सहित आउन चुनौती समेत दिन चाहन्छौँ’, उनले विज्ञप्तिमा लेखेका छन् ।

आफू कुटिएको भन्दै प्रहरी सम्म पुगेर कारबाहीको लागि निवेदन दिएपछि पत्रकारले समाचार लेख्दा पनि क्याम्पसले आफ्नो दोष लुकाउन पत्रकारलाई दोषि करार गरेको प्रति पत्रकार महासङ्घ कैलालीले विरोध जनाएको छ ।

‘घटनाको प्रमाण सहित प्रहरीमा उजुरी गरेको विषयलाई मिडियाले उठान गरेको छ प्रहरी प्रशासन मिडियाको लागि प्रमुख समाचारको स्रोत रहेको क्याम्पस प्रशासनलाई जानकारी गराउँछौँ’, पत्रकार महासङ्घका अध्यक्ष हिमालय जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो गल्ती स्वीकार गरि आगामी दिनमा नदोहोर्याउने प्रतिबद्धता गर्नुको साटो आफ्नो प्रतिकूल भयो भनेर मिडियालाई आरोप लगाउने कुरा पत्रकार महासङ्घलाई स्वीकार्य नभएको चेतावनी दिँदै शब्द सच्चाउन आग्रह गर्दछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *