केकी अधिकारीको ‘पुनरोदय’ – Nepal Press

केकी अधिकारीको ‘पुनरोदय’

सालिन नायिकाले देखाइन् बक्स अफिसमा दम: स्टारडममा हिरोभन्दा के कम ?

काठमाडौं । केकी अधिकारी नेपाली चलचित्रमा कुनै नयाँ नाम होइन । तर, होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’ मार्फत उनले आफूलाई ‘रि-ब्रान्डिङ’ गर्न सफल भएकी छन् ।

दुई साता अगाडि रिलिज भएको यस चलचित्रले बक्स अफिसमा धुमधडाका गरिरहेको छ, जुन धेरैका लागि अनपेक्षित हो । फिल्म चल्नलाई एउटा स्टार हिरो चाहिन्छ भन्ने भाष्यलाई तोड्दै केकीले आफ्नै बलबुतामा दर्शक उरालिन् । एक करोड लगानीमा बनेको फिल्मले अहिलेसम्म ६ करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

‘बोक्सीको घर’को केकीका लागि मात्र नभएर नेपाली चलचित्र जगतकै लागि खुशीको समाचार हो । चलेको हिरोविना एउटा नायिकाको स्टारडमले पनि चलचित्र हिट हुनसक्छ भन्ने मानक स्थापित भयो । बोक्सीको घरमा ‘हिरो’ कोही छैन । केकीबाहेक अरु कुनै ‘सेलेबल’ अनुहार छैन । तर, पनि दर्शक पहिलो दिनबाटै हलमा झुम्मिए । यसले नेपाली चलचित्रका सबै नायिकाहरुको मनोबल उच्च बनाउने पक्का छ ।

बोक्सीको घरको सफलताबाट पुलकित भएर आज नायिका स्वस्तिमा खड्काले फेसबुकमा लेखेकी छन् कि अभिनेत्रीहरुलाई लिएर थुप्रै रुढिवादी मान्यताहरुको जरोमा यो फिल्मले आगो लगाइदियो । जस्तै कि, विवाहित नायिका चल्दैनन्, ३० कटेपछि नायिकाको आयु सकिन्छ, नायिकाको बलमा मात्रै फिल्म हिट हुँदैन आदि । स्वस्तिमाले लेखेको धेरै हदसम्म सत्य हो ।

हुन त ‘बोक्सीको घर’ केकीकै कारणले मात्रै चलेको हो भन्दा पनि अतिरञ्जना हुन सक्ला । फिल्म रिलिज हुनु अगाडि नै ‘बुझिनँ मैले’ गीत भाइरल भइसकेको थियो, जसले गर्दा एउटा ‘हाइप’ पहिल्यै बन्यो । गीत हिट हुनुको श्रेय गीतका सर्जक प्रकाश सपूत, कोरियोग्राफर सुनिल क्षेत्री र केकी स्वयंलाई दिनुपर्छ । गीत जति बुलन्द छ, केकीको डान्स र अभिनय त्यत्तिकै उत्कृष्ट छ । यसले फिल्मको ‘इनिसियल’ व्यापारलाई निकै ठूलो बुस्ट अप गर्‍याे ।

अर्को महत्वपूर्ण पाटो हो कन्टेन्ट । केकीले एउटा सामाजिक मुद्दालाई उत्खनन् गरेर फिल्मका रुपमा दर्शकमाझ पस्केकी छन् । व्यापारिक हिसाबले मात्र नभएर उनले आफ्नै करिअरमाथि पनि जुवा खेलेकी थिइन् । मनोरञ्जनका लागि हलसम्म आउने दर्शकलाई यस्ता भारीभरकम विषयवस्तुको बोझ थोपरिदिएर अत्यास लगाइदिनु फिल्म मेकरका दृष्टिले जोखिमपूर्ण नै मानिन्छ ।

अर्को कुरा ‘हिरोइन’ बाट आमदर्शकले ग्ल्यामर खोज्छन् । हिरोइनलाई ‘हट’ र ‘सेक्सी’ अवतारमा पेश गर्दा दर्शकको एउटा समूहलाई आकर्षित गर्न सकिन्छ भन्ने परम्परागत दृष्टिकोण मेकर्समा पनि कायम छ । आफैंले बनाएको फिल्ममा केकीले पनि यही दृष्टिकोणबाट सोच्न सक्थिन् । उनले मसालेदार विषयवस्तु रोज्न सक्थिन् र आफ्नो लागि जस्तो भूमिका पनि छान्न सक्थिन् । तर, उनले कथित ‘बोक्सी’ जस्तो ‘नन ग्ल्यामरस’ र चुनौतीपूर्ण भूमिका छानिन् । उनले हिरोइन होइन, ‘अभिनेत्री’ वा ‘कलाकार’ बन्न चाहिन् । क्यारेक्टरलाई न्याय दिन उनी आफ्नो लामो कपाल खौरिएर मुडुलो बन्नसमेत तयार भएकी थिइन् ।

यदि केकी असफल भएको भए भविष्यमा कुनै पनि चलेका नायिकाले यस्तो खालको क्यारेक्टर रोल गर्ने हिम्मत गर्ने थिएनन् । केकीले अन्य नायिकाहरुका लागि पनि ताल्चा फुकालिदिएकी छन् । यो पनि सकारात्मक पक्ष हो । चलचित्रमा हिरोइनलाई शोपिसका रुपमा मात्रै प्रस्तुत गर्ने परिपाटीको अन्त्य हुनैपर्छ ।

नेपाली चलचित्रमा करिब डेढ दशकदेखि सक्रिय छिन् केकी । अभिनयमा अब्बल हुँदाहुँदै पनि केकीलाई लामो समयसम्म असफल हिरोइनको ट्याग लागिरह्यो । आफ्नो अभिनयले प्रशंसा पाए पनि निर्माताको लगानी सुरक्षित हुन नसक्दा उनी स्वयंले आफूलाई ‘अभागी’ ठान्न थालेकी थिइन् । तर, हिम्मत भने हारिनन् । यात्रा जारी राखिन् ।

सन् २०१० मा ‘स्वर’ बाट डेब्यु गरेकी केकीले सफलताको स्वाद चाख्न सन् २०१७ सम्म पर्खिनुपरेको थियो । उनले अभिनय गरेका मसान, आइएम सरी, महसुस, श्री ५ अम्बरे, फन्को, बितेका पल, मेरो बेस्ट फ्रेन्ड, बाग्मती, भाग सानी भाग, हाउ फन्नीलगायत दर्जनभन्दा बढी चलचित्र फ्लप भएका थिए । यद्यपि, उनी डिमान्डेड भने भइराखिन् । पहिलो पटक सन् २०१७ मा ‘घामपानी’ सफल भएपछि केकीको करिअरमा अलिकति घाम उदाएको थियो । त्यसको दुई वर्षपछि सुपरहिट फिल्म ‘छ माया छपक्कै’ को हिस्सा बन्न पाइन् । यद्यपि, फिल्मको सफलताको श्रेय केकीभन्दा पनि दीपकराज गिरीको टीमले नै लग्यो ।

‘बोक्सीको घर’ केकी आफैंले निर्माण गरेको दोस्रो फिल्म हो । हिट फिल्मको खडेरीकै बीच ६ वर्ष अगाडि केकीले पहिलो पटक आफैं चलचित्र निर्माण गरेकी थिइन् । त्यसमा पनि सफलता हात परेन । उनले निर्माण गरेको मनोरञ्जनात्मक चलचित्र ‘कोहलपुर एक्सप्रेस’ व्यापारिक रुपमा मात्रै असफल भएन कि भारतीय फिल्मबाट कपी गरेको आरोपसमेत खेप्नुपर्‍याे । यो आरोपले उनलाई आजका दिनसम्म पनि पिछा छाडेको छैन । जबकि विदेशी चलचित्रबाट ‘इन्स्पायर्ड’ भएर चलचित्र बनाउने ट्रेन्ड विश्वव्यापी नै छ ।

फिल्म फ्लप भएपछि केकीले रियालिटी शोमा पनि हात हालिन् । उनको प्रोडक्सनमा टीभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को परिकल्पना भयो । यो शो भने पहिलो सिजनबाटै हिट भयो । अहिले तेस्रो सिजन चलिरहेको छ । कमेडी च्याम्पियन अहिले नेपालमा प्रतिभाशाली कमेडीयन उत्पादन गर्ने गतिलो मञ्च बनेको छ ।

केकी पहिल्यैदेखि अलिकति फरक छविकी नायिका हुन् । सुशिक्षित र सालिन नायिकाको उपमा पाएकी उनी प्रगतिशील सोचविचार राख्छिन् । उनले गत वर्ष गुपचुप रुपमा विवाह गरिन्, जहाँ परिवारका सदस्यहरुमात्र उपस्थित थिए । चाहेको भए अरुले जसरी ठूलो तामझाम मच्चाउन सक्थिन् । तर, विवाह नितान्त निजी मामला हो र यसलाई विकराल बनाउनु हुँदैन भन्ने आफ्नो मान्यतालाई व्यवहारमा लागू गरेर देखाइन् ।

फेरि ‘बोक्सीको घर’मा नै फर्किउँ । यो फिल्म सफल हुँदा केकीलाई मात्र होइन, सिंगो नेपाली चलचित्र उद्योग नै लाभान्वित भएको छ भन्दा फरक नपर्ला । कन्टेन्ट पृथक र बलियो छ भने मामुली बजेटमा पनि गतिलो फिल्म बन्नसक्छ र व्यापारिक सफलता पाउन सक्छ भन्ने सन्देश गएको छ । दीपकराज गिरीले भने जस्तो स्टारमा भन्दा कन्टेन्टमा लगानी गर्न धेरै निर्माताहरुलाई प्रोत्साहन मिलेको छ ।

– चिरञ्जीवी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *