मालपोतले गैरआवासीय नागरिकता स्वीकार नगरेपछि पत्रकार न्यौपानेले प्रधानमन्त्रीलाई भेटेर दिए यी सुझाव – Nepal Press

मालपोतले गैरआवासीय नागरिकता स्वीकार नगरेपछि पत्रकार न्यौपानेले प्रधानमन्त्रीलाई भेटेर दिए यी सुझाव

काठमाडौँ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसँग भेटेर प्रवासी नेपालीलाई दोहोरो नागरिकताको माग राखेका छन् ।

अमेरिकाबाट प्रकाशित नेपाली मूलधारको अनलाइन पत्रिका हिमालय खबर मिडिया इन्कका प्रबन्ध सम्पादक समेत रहेका न्यौपानेले प्रवासी नेपालीलाई विभेदबाट मुक्त गरिदिन आग्रह गरेका हुन् ।

उनले आफूले नेपालमा जग्गा किनबेच गर्न खोज्दा मालपोत कार्यालय चितवनले गैरआवासीय नेपाली नागरिकता स्वीकार नगरेको र नेपाली नागरिकसरहको हदबन्दीमा जग्गा किनबेच गर्न नदिएको गुनासो पोखे ।

प्रधानमन्त्रीसँग उनले भने–‘नेपाली जहाँ गएर बसे पनि ती हाम्रै हुन् र रहिरहनेछन् त्यसैले ढुक्क भएर दोहोरो नागरिकता दिनुहोस्, यसको धेरै ठूलो र दीर्घकालीन महत्वा छ । सुरक्षा थ्रेट भएको अमेरिकाले ६२ देशका नागरिकलाई दोहोरो नागरिकता दिएको छ भने नेपालीलाई नेपाली मान्न अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन ।

भेटवार्ताका क्रममा पत्रकार न्यौपानेले अमेरिकामा विभिन्न पेसा व्यवसायसँगै पत्रकारितामा आवद्ध रहेका दुई सय बढी नेपाली मूलका पत्रकारहरुले नेपाल र नेपालीको समृद्धिका बारेमा कलम चलाउँदै आएको र उनीहरुको सोच र लगावलाई नेपाल र अमेरिकाबीचको सम्बन्धमा उपयोग गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर