बुटवलमा मेडिकलबाटै लागूऔषधको कारोबार, सञ्चालक पक्राउ – Nepal Press

बुटवलमा मेडिकलबाटै लागूऔषधको कारोबार, सञ्चालक पक्राउ

रुपन्देही । बुटवलमा मेडिकल पसल राखेर लागूऔषध कारोबार गरेको प्रमाणसहित एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिक यस्तो आरोपमा पक्राउ परेका हुन् । प्रहरीले विशेष सूचना र प्रमाणका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।

औषधिजस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागूऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ घर भएका विकले केही समययता सो स्थानमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

पेट दुख्दा खाने औषधि डाइसाकोमिन पृगावलेन जो दुखाई कम गर्न खाने गरिन्छ यी दुई औषधि मिलाएर लागूऔषध प्रयोगकर्तालाई बिक्री गरेको प्रहरी भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले लागूऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा पुगेर सञ्चालकलाई नियन्त्रणमा लिएको नेपाल प्रेसलाई बताए ।

डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागूऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको उनको भनाइ छ । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि फेला परेको बताएको छ ।

प्रहरीले केही लागूऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । स्थानीयका अनुसार ती सञ्चालक राती अबेरसम्म र बिहान पनि निकै छिटो मेडिकल पसल खोल्ने गरेकाले आशंका बढाएको थियो ।

औषधि व्यवसायी संघ रूपन्देहीले डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्नु गैरकानुनी रहेको प्रष्ट पारेको छ । ‘छुट्टाछुट्टै बेचेमा ती पेट र नशाका औषधी नै हुन् तर मिसाएर ठूलो परिणाममा बेचेको प्रहरीले भेटाएको छ, सबै विषय अनुसन्धानपछि खुल्नेछ, हरेक व्यवसायीले आफ्नो जिम्मेवारी र कर्तव्यअनुसार चल्न सक्नुपर्छ’संघका उपाध्यक्ष नारायण थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर