प्रतिवादीका वकिलहरुको दाबी- सानु भण्डारीको काँधमा बन्दुक राखेर मान्छे छानीछानी ‘ड्यामेज’ गर्न खोजियो – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

प्रतिवादीका वकिलहरुको दाबी- सानु भण्डारीको काँधमा बन्दुक राखेर मान्छे छानीछानी ‘ड्यामेज’ गर्न खोजियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत बुधबार प्रतिवादीको तर्फबाट बहस गर्ने वकिलहरुले विनाप्रमाण र विनाअनुसन्धान सरकारी अभियोजन पक्षले अदालतमा मुद्दा थोपर्न ल्याइएको जिकिर गरे ।

सरकारी अभियोजन पक्षले मान्छे छानीछानी अभियुक्त बनाएर उनीहरुलाई सिध्याउन खोजेको प्रतिवादीका वकिलहरुले दलिल पेश गरेका छन् ।

अधिवक्ता शालिकराम सापकोटाले सानु भण्डारीको काँधमा बन्दसक राखेर सकारी अभियोजन पक्षले मान्छे छानीछानी ड्यामेज गर्न खोजेको दाबी गरे ।

सानु भण्डारीको पक्षबाट बहस गरेका उनले प्रहरी एवं सरकारी वकिलले आफूहरुले छानेका व्यक्तिहरुलाई मात्रै पोल्न लगाएको बताए ।

सानुले पोलेका टोपबहादुर रायमाझीलाई प्रतिवादी बनाइँदा अख्तियार प्रमुख प्रेम राई र पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनाकला थापालाई प्रतिवादी नबनाएको अधिवक्ता सापकोटाको संकेत थियो ।

उनले प्रहरी र सरकारी वकिलले आफूहरुलाई चाहिएका व्यक्तिहरुलाई मात्रै पोल्न लगाएर विनाप्रमाण अदालतमा मुद्दा दायर गरिएको जिकिर गरे ।

‘सरकारी अभियोजन पक्षको अनुसन्धान नै भद्रगोल छ’, उनले भने, ‘उनीहरुको नियत नै खराब देखियो । नत्र एकै व्यक्तिले पोलेका सीमित व्यक्तिमाथि मुद्दा लाग्ने बाँकी उम्किने भन्ने हुँदैन ।’

त्यस्तै प्रतिवादीको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता शिवप्रसाद रिजालले सरकारी अभियोजन पक्षले स्वतन्त्र अनुसन्धान नगरी हचुवाको भरमा अदालतमा मुद्दा ल्याइएको बताए ।

अहिले सरकारी वकिलले समेत स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने अधिकार हुँदा पनि स्वार्थ प्रेरित भएर मुद्दा ल्याइएको उनको भनाइ थियो ।

‘दूषित मनसायबाट मुद्दा लगाइएको छ । स्वतन्त्र अनुसन्धान गरिएको छैन । प्रमाण केही छैन । के कारणले दोषी भए र के सजाय हुने भन्नेसम्म मुद्दामा स्पष्ट छैन’, वरिष्ठ अधिवक्ता रिजालले भने, ‘अनुसन्धानसमेत अदालतले गर्नुपर्ने अवस्था छ । सबै काम अदालतले गर्नुपर्ने गरी सरकारी अभियोजन पक्षले अभियोगमात्रै लगाउने काम गरेको छ ।’

उनले पनि प्रतिवादीले पोलेकै भरमा टोपबहादुर रायमाझी पनि अभियुक्त हुने भए अरु व्यक्तिहरु पनि प्रतिवादी हुनुपर्ने जिकिर गरे ।

उनले पैसा दिएर नक्कली भुटानी शरणार्थी बन्न तयार पीडितहरु पनि दोषी रहेको दाबी गरे । वरिष्ठ अधिवक्ता रिजालले उनीहरुमाथि मतियारको रुपमा कारबाही गर्नुपर्ने माग गरे ।

मङ्गलबार सरकारी वकिलको बहस सकिएपछि बुधबारबाट अभियुक्त पक्षका वकिलहरूको बहस जारी छ । सो बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसाोसियसनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले नाम टिपाएका छन् ।

यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिन समय पाएका थिए । अभियुक्त पक्षका वकिलहरूलाई भने ६ दिनको समय दिइनेछ ।

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाइ अभियोगपत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् । १२ जना अझै फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर