बजेट अभावले रोकिएको भरौल खानेपानी आयोजनाई पूर्णता दिन मन्त्रीको ध्यानाकर्षण – Nepal Press

बजेट अभावले रोकिएको भरौल खानेपानी आयोजनाई पूर्णता दिन मन्त्रीको ध्यानाकर्षण

धरान । भरौल खानेपानीलाई बजेट विनियोजनका लागि खानेपानीमन्त्री राजेन्द्रकुमार राईलाई ध्यानाकर्षण गराइएको छ ।

कोशीका सांसद विजयकुमार राई नेतृत्वमा एक टोलीले शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका- ३, ४ र ५ मा सञ्चालित यो आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आगामी बजेटमा समावेशका लागि अनुरोध गरेको हो ।

२१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाबाट २८ हजार ७ सय ७९ स्थानीय लाभान्वित हुने छन् । मन्त्री राईले वार्षिक बजेटमा आयोजनालाई समेट्ने आश्वासन दिए ।

२०६५/०६६ सालदेखि निर्माण प्रारम्भ भएको आयोजनाअन्तर्गत ४ हजार घरमा धारा जडान गरिएको भएपनि पानी वितरण गर्न नसकिएको भरौल खानेपानी व्यवस्थापन समितिको अध्यक्ष हरि पौडेलले बताए ।

६० प्रतिशत जति काम सम्पन्न भएपनि आर्थिक अभावले काम रोकिएको र करिब ४ करोड रकम जुटाउन सकिएको खण्डमा सबैलाई खानेपानी वितरण गर्न सहज हुने उनले सुनाए । प्रदेशसभा सदस्य राईसहित नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई र नेकपा (एमाले) कोशी प्रदेश सदस्य मौसम राई बजेटको माग लिएर मन्त्री निवास पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *