कांग्रेसका महिला उम्मेदवार- प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने मौका ५ जनालाई मात्र – Nepal Press

कांग्रेसका महिला उम्मेदवार- प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने मौका ५ जनालाई मात्र

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला उम्मेदवारी शून्य

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ८९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा ५ जना मात्रै महिला समेटिएका छन् ।

देशभरका ७ वटा प्रदेशमध्ये ४ वटा प्रदेशमा एक–दुई जना गरेर महिलाको सहभागिता गराएको भए पनि ३ वटा प्रदेशमा भने एक जना पनि महिलाको उम्मेदवारी दर्ता भएन ।

कांग्रेसले प्रदेश १ का १९ वटा क्षेत्रमा उम्मेदवारी दर्ता गराउँदा २ जना महिलाको उम्मेदवारी दर्ता भएको छ ।

कांग्रेसले एउटा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा सीता गुरुङलाई उम्मेदवार बनाएको छ । मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइरालाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै मधेस प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमध्ये एक निर्वाचन क्षेत्रमा मात्रै महिलाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसबाट सिरहा क्षेत्र नम्बर २ मा चित्र लेखा यादवले उम्मेदवारी दर्ता गराएकी हुन् ।

बागमती प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा गठबन्धनबाटै नेपाली कांग्रेसका साझा उम्मेदवार उठाउँदा एक जना महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सह महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दर्ता गराएकी हुन् ।

लुम्बिनीका १३ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दर्ता गराउँदा १ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ । जसमा निवर्तमान उपसभामुख पुष्पा भुसालले अर्घाखाँचीबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिला उम्मेदवारी शून्य

यस्तै गण्डकी प्रदेशका ११ निर्वाचन क्षेत्र, सुदूरपश्चिम प्रदेशमा ९ वटा निर्वाचन क्षेत्र र कर्णाली प्रदेशका ४ वटा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले साँझ उम्मेदवारका रूपमा आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराउँदा एक जना पनि महिलाको उम्मेदवारी दर्ता गराउन सकेन ।

कांग्रेसले ७७ निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको हो ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले ४७, नेकपा (एकीकृत समाजवादी)ले २०, लोकतान्त्रिक समाजवादी पार्टीले ७ र जनमोर्चाले २ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *