निर्वाचन प्रतिवेदन बुझाएसँगै सातै प्रदेशमा नयाँ सरकार गठनको ढोका खुल्यो – Nepal Press

निर्वाचन प्रतिवेदन बुझाएसँगै सातै प्रदेशमा नयाँ सरकार गठनको ढोका खुल्यो

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले बुझाएसँगै सरकार गठन प्रक्रिया अघि बढेको छ। आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाएपछि प्रदेश सरकार गठन प्रक्रिया अघि बढेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुन शमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बागमती, आयुक्त ईश्वरीप्रसाद पौडेल गण्डकी, आयुक्त रामप्रसाद भण्डारी लुम्बिनी, सहसचिव यज्ञप्रसाद भट्टराई कर्णाली र आयुक्त जानकीकुमारी तुलाधरले सुदूरपश्चिममा पुगेर निर्वाचन प्रतिवेदन बुझाएका छन्।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ।

आयोगले अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको ढोका खुल्ने बागमती प्रदेशका कानूनमन्त्री कृष्णप्रसाद खनालले बताए। उनले सबै प्रदेश गठबन्धनको सरकार बन्ने समेत दाबी गरे।

गठबन्धनमा माओवादीलाई सुदूरपश्चिम र बागमती, कांग्रेसलाई गण्डकी, कर्णाली र लुम्बिनी पाउने गरी शीर्ष तहमा समझदारीको प्रयास भइरहेको छ ।

तर, गठबन्धनमा आबद्ध रहेको नेकपा एसले पनि एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । प्रदेश १ र मधेस प्रदेशमा गठबन्धनको बहुमत नपुग्ने भएकाले त्यहाँ टुंग्याउन सकेको छैन ।

प्रदेश १ मा सत्तागठबन्धनभन्दा पनि एमाले गठबन्धनको सरकार बन्ने सम्भावना छ भने मधेस प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।

आयोगले यसअघि नै प्रतिनिधिसभातर्फको निर्वाचन प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो। अहिले संघमा पनि सरकार गठनको लागि दलहरूबीच रस्साकस्सी चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर