नयाँ सरकार गठनबारे एमालेसँग छलफल भएको छैन : रमेश लेखक – Nepal Press

नयाँ सरकार गठनबारे एमालेसँग छलफल भएको छैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले नयाँ सरकार गठनका बारेमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका छन् ।

बुधबार सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँगको छलफलमा मुख्य सचेतक लेखकले वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन गर्ने बिषयमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका हुन् ।

उनले अहिलेनै आफुहरु वर्तमान सत्तागठबन्धन भत्काउने पक्षमा नरहेको जिकिर गरे । साना दलहरु मिलेर सरकार बनाउदा पटक पटक परिवर्तन भइरहने अवस्थामा ठूला दलहरु मिलेर सरकार बनाउनु उपयुक्त हुने जनमानसमा धारणा उव्जिएको उनले बताए । राजनीतिमा वार्ता सम्वाद निरन्तर भइरहने भएपनि अहिलेको समिकरणलाई भत्काउन कांग्रेसले हतारो नगर्ने उनको भनाइ छ ।

त्यस्तै, लेखकले सहकारी प्रकरणमा गृहमन्त्रीमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानबिन आयोग गठन गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको धारणा राखे । संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका बिषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए ।

लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका बिषयलाई गम्भीरता नदेखाएको जिकिर गरे । उनले संसदलाई प्रभावकारी रुपमा अघि बढाउने दायित्व सरकारको भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर