वागमती प्रदेशसभामा लक्ष्मीको आगमनः अपांगता भएकी एक्ली सांसद – Nepal Press

वागमती प्रदेशसभामा लक्ष्मीको आगमनः अपांगता भएकी एक्ली सांसद

काठमाडौं । निर्वाचन आयोगबाट प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिकमा विजयी भएको प्रमाणपत्र लिन आइतबार आयोग कार्यालय आएकाहरूको लाममा थिइन् लक्ष्मी घिमिरे । अरु विजयी उम्मेदवारभन्दा फरक उनी ह्वीलचेयर गुडाएर प्रमाणपत्र लिन आयोग पुगेकी थिइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वागमती प्रदेशमा समानुपातिकतर्फ छानिएकी हुन् लक्ष्मी । सम्भवतः यसपालिको निर्वाचनमार्फत प्रतिनिधिसभा वा प्रदेशसभामा पुग्नेमध्ये अपांगता भएका एक मात्र सांसद हुन् उनी । आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिँदा उनको अनुहारमा उत्साह र आत्मविश्वास भरिएको थियो ।

सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै घिमिरेले आफूले संसदमा अपांगता भएका व्यक्तिहरुको मुद्दालाई नै प्राथमिकतामा राख्ने बताइन् ।

उनले भनिन्, ‘अपांगता भएका व्यक्तिहरुले धेरै खालका समस्या भोग्नुपरिरहेको छ । म राजनीतिमा आउनुको मुख्य उद्देश्य पनि अपांगता भएकाहरुको मुद्दा अगाडि बढाउने हो । यसका निम्ति नीति बनाउने ठाउँमा पनि अपांगता भएका व्यक्ति नै पुग्नुपर्छ भनेर आएकी छु ।’

घिमिरेले शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, खेलकुदलगायतका क्षेत्रमा अपांगता भएकाहरुको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिइन् । उनीहरुलाई केबल भोटबैंकको रूपमा मात्रै प्रयोग गर्न नहुने उनको मान्यता छ ।

राजनीतिशास्त्रकी विद्यार्थी पनि हुन् लक्ष्मी । उनी अहिले पद्मकन्या क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छिन् । २०६६ सालमा भीरबाट लडेर उनको मेरुदण्ड पक्षघात भएको थियो । त्यसयता ह्वीलचेयरको सहरामा छिन् ।

लक्ष्मी यसअघि विवेकशील साझा पार्टीमा थिइन् । रवीन्द्र मिश्रले विवेकशील छोडेर राप्रपा आएपछि उनी पनि सँगै आएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर