कपिलवस्तुप्रति ओली प्रेमः भन्छन्- फिल्डमा नियमित नभएपनि अपडेट भइरहन्छु – Nepal Press

कपिलवस्तुप्रति ओली प्रेमः भन्छन्- फिल्डमा नियमित नभएपनि अपडेट भइरहन्छु

रुपन्देही । पछिल्लो केही वर्षयता एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तुमा विभिन्न कार्यक्रममा नियमितजसो आउन थालेका छन् ।

यसैक्रममा उनी विजयनगर गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माणमा ओली सहभागी भए । कार्यक्रममा टाढाटाढाबाट सर्वसाधारण उपस्थित भएका थिए । उनी भिडमै गएर बालबालिका, वृद्धवृद्धासँग भलाकुसारी गरे । ओलीसँग स्थानीयले आफ्ना गाउँठाउँ र व्यक्तिगत समस्या पनि खुलेर राखेका थिए ।

तराईमा कमजोरजस्तै मानिएको आफ्नो पार्टीले पछिल्लो स्थानीय तह र संसदीय निर्वाचनमा अन्य दलको बलियो गठबन्धनविरुद्ध उत्साहजनक नतिजा निकालेकाले पनि उनी उत्साहित भएका छन् । विशेषगरी तराई केन्द्रित प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराएर जिल्लामा पार्टी बलियो भएकाले पनि उनी यहाँ धेरै कार्यक्रममा आउन थालेका हुन् ।

३ संघीय र ६ प्रदेशसभा रहेको यस जिल्लामा गठबन्धनविरुद्ध एमाले एक्लैले २ संघीय र ४ प्रदेश सभा जितेको थियो । क्षेत्र नं २ मा पनि थोरै मतले एमालेका उम्मेदार बृजेशकुमार पराजित भएका थिए । यसअघि अन्य दलमा रहेका मंगलप्रसाद गुप्ता एमाले प्रवेश गरेर क्षेत्र नं ३ बाट संघीय सांसद विजयी भएका छन् भने क्षेत्र नं २ का बृजेश पनि निर्वाचनअघि एमाले प्रवेश गरेर निर्वाचन लडेर थोरै मतले पराजित भएका हुन् । स्थानीय तहमा पनि सबैभन्दा ठूलो वाणगंगामा एमालेले जितेको छ भने विजयनगर र यशोधरामा पनि जितेको छ भने अन्य पालिकामा पनि थोरै मतले पराजित भएको छ । स्थानीय र संघीय निर्वाचनअघिका ठूला पार्टी प्रवेश कार्यक्रममा ओली कपिलवस्तु आएका थिए ।

बुधबार आएका ओलीले विजयनगरमा आयोजित कार्यक्रममा कपिलवस्तुको समृद्धिका लागि आफूले थालेका र सोचेका केही प्रयासको फेहरिस्त सुनाए । अधिकांश भूमि खेतीयोग्य भएकाले दुई दशकअघि आफू परराष्ट्मन्त्री हुँदा नौमुरेबाट सिंचाई आयोजना ल्याउने योजना भारतमा राखेपनि त्यो सम्भव नभएको जनाए ।

‘म परराष्ट्रमन्त्री हुँदा भारतमा गएको बेला नौमुरे बनाउने विषय राखेको थिएँ तर पछि त्यो कता हरायो, अब यो आफैं बनाउनेगरी अघि बढाउनुपर्दछ, नौमुरे बनाएर कपिलवस्तु उर्वर बनाउनुपर्छ’ उनले भने ।

कपिलवस्तुको समृद्धि कृषिबाट नै संभव भएको ओलीले सुनाउँदै अब त्यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर अघि बढाउन आग्रह गरे । ‘पूर्वाधार धेरै बनिसकेका छन्, अब व्यवसायिक योजना बनाएर अघि बढौं, यातायात, बिजुली, संचार सबै सुविधा छ, अब सिंचाइलाई व्यवस्थित बनाएर कृषिलाई व्यवसायीकरण गरौं, पर्यटनलाई पनि जोडौं, जिल्लाको समृद्धि यसैबाट संभव छ, यसमा ढिलाई नगरौं’ ओलीले भने ।

उनले भने ‘मैले यहाँ धेरै बुझेको छु, फिल्डमा धेरै नआएपनि यहाँको भूगोल,नक्सा हेरेको छ, बेलाबेलामा त्यो हेरेर अपडेट हुन्छ, अहिले स्थानीय, प्रदेश र संघमा यहाँको बलियो उपस्थिति छ, मैले के गर्नुपर्छ योजना लिएर आउनुस् सहकार्यमा अगाडि बढौं, तपाईहरुको उत्सालाई मेरो सलाम छ, हामी सहभागी सरकारले सधै साथ दिन्छ, एमालेले साथ दिन्छ ।’

बुधबार उनले सम्बोधन गरिरहेको समयमा पानी परिरहेको थियो तर स्थानीयले निर्धक्क उनको सम्बोधन सुनिरहेका थिए, फोटा भिडियो खिचिरहेका थिए र केहीले प्रत्यक्ष प्रशारण गरिरहेका थिए । ओलीले आजै पार्टीको जिल्ला अधिवेशन सकेर ४ बजे नै काठमाडौं फर्किनुपर्ने भएकाले पुनः आएर थप छलफल गर्ने प्रतिवद्धतासमेत गरेका थिए ।

विजयनगरमा आयोजित कार्यक्रममा उनले निर्धारित समयअगावै काम सक्ने ठेकेदारलाई सम्मान गरे ।

ओली प्रधानमन्त्री भएको बेला सुरू भएको कपिलवस्तुको विजयनगर गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माणका लागि दुई वर्षअघि निर्माणको जिम्मेवारी पाएका विकोही नवसृजनशील जेबीका सञ्चालक रविकुमार गौतमले समयअगावै निर्माणको काम सकेर गाउँपालिकालाई बुझाएका थिए । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले १८ करोड लागतमा बनेको यो भवन ठेकेदारले निर्धारित समयअगावै काम सकेर बुझाएकाले सम्मान गरिएको जानकारी गराए ।

बुधबार सो भवन उद्घाटनका अवसरमा एमाले अध्यक्ष ओलीले यस्ता ठेकेदारलाई खोजीखोजी सम्मान गर्नुपर्ने बताएका थिए ।

‘मलाई यो भन्दा बढी खुसी के हुन्छ ? जताततै ठेकेदारले काम समयमा गरेन भनेर गुनासैगुनासा छन्, यहाँ त समय अगावै काम सकाएर गाउँपालिकालाई बुझाउनुभएछ, यस्तो व्यक्तिलाई सम्मान गरौं, उत्साह थपौं, गलत गर्नेलाई निरुत्साहित गरौं’ उनले भने ।’

‘नेपालमा ठेक्का लम्बाउने ठूलो रोग छ, यो कसैले लुकाएर लुक्ने विषय होइन, अब त्यो रोग हटाउन यहाँ सम्मानित भएकाजस्तै ठेकेदार खोजौं, विकासमा यो ब्रेक थ्र हो’, ओलीले थपे, ‘मेरै पालामा शिलान्यास भएको आधारभूत अस्पताल आफै उद्घाटन गर्ने अवसर पाएको छ, ठेकेदारलाई सम्मान गर्न पाएको छु, जिल्लावासीको न्यानो माया पाएको छु ।’

तत्कालीन समयमा ३९६ वटा अस्पताल एकैपटक शिलन्यास गर्दा किन गाउँगाउँमा अस्पताल भन्नेहरु अहिले अस्पताल बनेको ठाउँमा पुगेर स्थानीयले लिएको सेवा हेरेर आश्चर्यमा परेको ओलीको भनाइ थियो ।

‘सुविधा आफ्नै गाउँघरमा आएको छ, अब अस्पताल रित्तो भवन होइन सक्षम र प्रभावकारी सेवा दिने बनाउनुपर्छ’ उनले भने–तीन वर्ष विकासका धेरै काम रोकिएका थिए, अन्यौलग्रस्त भएका थिए, अब धेरै कामले गति लिनेछ, लिन थालेको छ, यो पनि त्यसैको परिणाम हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर