सन्दीपबारे लिजेन्ड क्रिकेटर वसन्त रेग्मी भन्छन्- विश्वकपमा नेपालले निकै राम्रो खेलाडी गुमायो (भिडिओ) – Nepal Press
नेपाल टक

सन्दीपबारे लिजेन्ड क्रिकेटर वसन्त रेग्मी भन्छन्- विश्वकपमा नेपालले निकै राम्रो खेलाडी गुमायो (भिडिओ)

‘म अहिले पनि टीमभित्रै छु जस्तो लाग्छ, नेपालमा बच्चाहरूलाई क्रिकेट सिकाउने प्लान गर्दैछु’

काठमाडौं । नेपालले सन् २०१४ मा पहिलो पटक आईसिसी टी–२० विश्वकप खेल्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए स्पीनर वसन्त रेग्मी । त्यतिबेला नेपालले पहिलो चरणमा हङकङ र अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल नेट रनरेटमा पछाडि रहेर पहिलो चरणबाट माथि उक्लिन सकेन । नेपालले खेलेका तीनवटै खेलमा वसन्तले विकेट लिएका थिए । पहिलो खेलमा हङकङलाई ८० रनले हराउँदा उनले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए । दोस्रो खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भएको थियो । त्यसमा वसन्तले ३ ओभरमा १४ रन खर्चिएर एक विकेट हात पारेका थिए । तेस्रो खेलमा अफगानिस्तान ९ रनले पराजित हुँदा एक सय ४२ रनको लक्ष्य दिएको नेपालका लागि वसन्तले ३ ओभरमा २८ रन दिएर १ विकेट हासिल गरे ।

वसन्त वर्ल्ड क्रिकेट लिग–डब्लूसीएलमा विश्वकै सर्वाधिक एक सय १८ विकेट लिने बलर हुन् । सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएयता वसन्तको राष्ट्रिय टोलीमा प्रदर्शन फिक्का हुन थाल्यो । खास गरी सन्दीप लामिछानेको उदयले अन्य स्पीनरहरु छायामा पर्न थालेका थिए । टीममा नियमित स्थान बनाउन नसकिरहेको अवस्थामा वसन्त सन् २०२१ मा अमेरिकातर्फ लागे । संकटमा परेको नेपाललाई पटक पटक उद्धार र पुनरागमन गराएका कारण उनी नेपाली क्रिकेटमा ‘क्राइसिस म्यान’ उपनामले समेत परिचित छन् ।

अमेरिका र वेस्ट इन्डिजमा आगामी महिना सुरु हुने विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा वसन्तलाई पनि निम्त्याइएको थियो । सोल्टी होटलमा आयोजित कार्यक्रममा उनीसँगै नेपालका लागि विश्वकप खेलेका शक्ति गौचन पनि सहभागी थिए । त्यतिबेला कप्तान रहेका पारस खड्का अहिले नेपाल क्रिकेट संघ–क्यानका सचिव छन् ।

नेपाल प्रेसले सोल्टी होटलमा वसन्तसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश–

लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिनुभएको छ । नेपाली टोलीलाई बिदाइ गर्ने कार्यक्रममा उपस्थित हुने संयोग कसरी जर्यो ?

– म सोचिरहेको थिएँ कि नेपाल टिमलाई अमेरिकामै स्वागत गर्छु भनेर । प्लस आफूले जानेको केही कुराहरू उहाँलाई बताउन सकेँ भने त्यो महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ, स्पीनरमा । केटाहरूले सोध्ने पनि गर्छन् र म नाइँ पनि भन्दिनँ । जति ज्ञान बाँड्यो त्यति बढ्दै जाने हो । मैले भनेको एउटा शब्दले पनि उनीहरूलाई फाइदा मिल्यो भने मलाई सन्तोष महसुस हुन्छ ।

आफूपछिको पुस्तालाई विश्वकपमा बिदाइ गरिरहँदा कस्तो महसुस भइरहेको छ ?

म एकदम खुसी छु । हामी बीचमा क्वालिफाई गर्न हुन नसक्दा त्यसमा चाहिँ दुखी थिएँ । ३/४ वटा विश्वकपमा हामी छनोट हुन सकेनौँ । कहिले ग्लोबल राउन्डमा पुगेर त कहिले एसीसी प्रतियोगिताहरूबाटै बाहिरिन पुग्यौँ । तर यो नयाँ पुस्ताले अहिले राम्रो गरिरहेको छ । त्यसका लागि गर्व फिल गर्छु ।

उहाँहरूलाई अग्रिम शुभकामना दिन्छु- राम्रो गर्नु, देशको झन्डा फहराउनु । जहिले पनि राम्रो पर्फम गर्नु, फ्यानहरूलाई खुसी राख्नुस् । जे गर्नु हुन्छ मनदेखि सफलता दिलाउने प्रयास गर्नुस् । कहिलेकाहीँ तलमाथि हुन्छ त्यसमा दुखी नहुनुस् । सबैको लाइफमा हुन्छ, गेममा पनि हुन्छ । तलमाथिलाई सफलताको सिँढी बनाएर अगाडि बढ्नुस् भन्ने शुभकामना दिन चाहन्छु ।

विश्वकप खेलिसकेको खेलाडीले यसरी बिदाइमा आउँदा म पनि खेल्न पाएको भए हुन्थ्यो भन्ने लोभ चाहिँ हुन्छ कि हुँदैन ?

त्यस्तो मलाई कहिले पनि हुँदैन । म बाहिर भए पनि टिमभित्रै छु जस्तो लाग्छ । नखेले पनि, दर्शक भएर हेरे पनि मेरो टिम हो, म टिममै छु जस्तो लाग्छ । म गएको भए अझ राम्रो गर्न सक्थेँ कि भन्ने चाहिँ हुन्छ त्यो प्राकृतिक कुरा हो । जुनसुकै पुरानो खेलाडीलाई त्यस्तो सोच आउँछ । तर म उहाँहरू (अहिलेको राष्ट्रिय टोली) देखि नै खुसी छु । मलाई त्यहाँ जानुपर्ने जरुरत नै छैन ।

यो बीचमा क्रिकेट कत्तिको मिस गर्नु भयो ?

त्यस्तो मिस भएको थिएन। मैले अमेरिकामा दुई सिजन माइनर लिग खेलेँ । त्यसमा राम्रो भएको थियो । गत वर्ष मात्र मैले खेलिनँ । अमेरिकामा नेपाली समुदायका बच्चाहरूलाई क्रिकेट सिकाउने सोच बनाएको छु । नेपालमा पनि मैले प्लान गरिरहेको छु । अमेरिका फर्कनुभन्दा पहिला ट्रेनिङ गराउँछु भनेर सोचिरहेको छु ।

१० वर्षअघि विश्वकप खेलेको टिम र अहिले विश्वकप खेल्न लागेको टिममा के फरक देख्नु भएको छ ?

त्यतिबेला खेल्नका लागि राम्रो सुविधा उपलब्ध हुन सक्थेन । अहिलेको टिमले त्यो पाइरहेको छ । यो नेपालको टिमका लागि प्लस प्वाइन्ट हो । राम्रो पनि गरिरहनु भएको छ । अहिले उहाँहरूले गर्व गर्ने मौका दिइरहनु भएको छ । त्यतिबेला हामीले पनि यत्तिको पाएको भए हामी अझ अगाडि बढ्न सक्थ्यौँ की !

तपाईँहरूको समयमा नेपालको स्पीन बलिङ निकै सशक्त थियो । पछिल्लो समय सन्दीप लामिछाने टिममा छैनन् । स्पीन बलिङ समस्यामा देखिन्छ । यसलाई कसरी हेरिरहनु भएको छ ?

नेपालले अहिले निकै राम्रो खेलाडी गुमाएको विश्वकपमा । निश्चितरुपमा, सन्दीपले निकै राम्रो गरिरहेको थियो । बाहिर गएर प्रोफेसनल क्रिकेट पनि खेलिरहेको थियो । त्यसबाट उसले अनुभव बढी प्राप्त गरेको थियो । त्यसले गर्दा टिमलाई जहिले पनि सपोर्ट भइरहेको थियो । अहिले पनि जुन स्पीनरहरु छन्, उनीहरू पनि नराम्रो छैनन् । उहाँहरूले प्लानिङ र एक्जिक्युसनको कुरामा मात्र काम गर्नुपर्छ ।

विश्वकप अमेरिकामै गएर हेर्ने की नेपालमा बसेर ?

– मेरो योजना त अमेरिकामा गएर हेर्ने भन्ने छ । तर यहाँ पनि व्यक्तिगत कामहरू छन् । ती कामहरू चाँडै पुरा भए भने अमेरिकामै गएर हेर्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर