सन्दीपले कसलाई गर्लान् प्रतिस्थापन ? यी ३ खेलाडी डेन्जर जोनमा – Nepal Press

सन्दीपले कसलाई गर्लान् प्रतिस्थापन ? यी ३ खेलाडी डेन्जर जोनमा

प्रतिस्थापन हुने खेलाडीलाई नेपाल नफर्काई रिजर्भका रूपमा अमेरिकामै राखिने

काठमाडौं । सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै उनी टी–२० विश्वकपमा सहभागी हुने ढोका खुलेको छ । क्यानले गर्ने फिटनेस टेस्ट र आईसीसीको अनुमतिपश्चात् उनी केही दिनमा अमेरिका उड्नेछन् ।

नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टीम पहिल्यै घोषणा गरिसकेको थियो । तर, आउँदो २५ तारिखसम्म टिममा फेरबदल गर्न पाइन्छ । त्यसेले सन्दीपलाई विश्वकप खेलाउन ठूलो प्राविधिक समस्या छैन । यद्यपि, नेपालले अहिले घोषित टिमबाट एक जनालाई हटाउनुपर्ने हुन्छ ।

स्रोतका अनुसार क्यानले टिम घोषणा गर्दा नै पछि सन्दीपलाई समावेश गर्न सकिने मनसायले अतिरिक्त बलर राखेको थियो । १५ सदस्यीय टिममा अहिले ६ जना फास्ट बलर छन् । अनुभवी सोमपाल कामी र करण केसी पहिलो रोजाइका बलर हुन् ।

यसै गरी, डेथ ओभर स्पेसलिस्टका रूपमा अविनाश बोहरा छन् । पीच कन्डिसन हेरेर उनीहरू तीनै जना प्लेइङ ११ मा अटाउन सक्छन् ।

उनीहरूबाहेक अलराउन्डर गुल्शन झाले पनि मध्यम गतिको बल फ्याँक्छन् । पछिल्लो समय उनको बलिङमा सुधार आइरहेको छ । यस्तै, टिममा दुई अतिरिक्त फास्ट बलरका रूपमा प्रतिस जिसी र कमलसिंह ऐरीलाई पनि समावेश गरिएको छ । यसरी ६ जना फास्ट बलरको भिड किन त ? जबकि प्रतिस र कमलसिंहले प्लेइङ ११ मा स्थान बनाउन निकै कठिन छ ।

क्यान स्रोतका अनुसार नेपालले अमेरिकामा प्राक्टिस गर्नका लागि एक जना अतिरिक्त फास्ट बलर लगेको हो ।

‘त्यहाँ हामी एक महिना अगाडि नै जाँदैछौं भनेपछि यतिका दिन प्राक्टिस गर्नलाई राम्रो बलर पनि चाहियो । त्यसैले कमललाई पनि टिममा राखिएको हो,’ स्रोतले भन्यो ।

यता, टीममा स्पिनरहरूको पनि कमी छैन । रेगुलर स्पिनरका रूपमा ललितसिंह राजवंशी छन् भने सागर ढकाललाई उनको ब्याकअपमा रूपमा राखिएको छ । टीममा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कप्तान रोहित पौडेलले पनि राम्रो स्पिन बलिङ गर्न सक्छन् । सन्दीप पनि टिममा अटाउने भएपछि नेपालको स्पिन आक्रमण मजबुत बन्ने देखिएको छ ।

जहाँसम्म सन्दीपले कसलाई प्रतिस्थापन गर्लान् भन्ने प्रश्न छ, तीनजना बलरहरू ‘डेन्जर जोन’ मा देखिन्छन् । धेरैले सागर ढकालको ठाउँमा सन्दीपलाई राखिने अड्कल गरिरहेका छन् । कारण, सन्दीप भएपछि सागरले प्लेइङ- ११ मा अवसर पाउने सम्भावना कम हुन्छ । सन्दीप ब्याटिङ पनि गर्न सक्छन् भने सागर सक्दैनन् ।

तर, सागरलाई यावत राखेर एक जना फास्ट बलरलाई ब्याक गर्न सक्ने सम्भावना पनि छ । फास्टबलरमा प्रतिश जिसी र कमलसिंह ऐरीमध्ये एक जना बाहिरिनुपर्ने हुन सक्छ । अन्तर्राष्ट्रिय म्याचमा तुलनात्मकरुपमा कमलभन्दा प्रतिशको रेकर्ड राम्रो छ । कमलले लामो समयपछि टिममा कमब्याक गरेका हुन् । प्रतिशत भने पछिल्लो वर्ष निरन्तर खेलिरहेका छन् ।

क्यानले सन्दीपले प्रतिस्थापन गर्ने खेलाडीलाई अमेरिकाबाट नफर्काउने योजना बनाएको छ । उनलाई क्यानकै खर्चमा रिजर्भ खेलाडीका रूपमा अमेरिका राखिने छ । क्यान आफैँले खर्च गर्नुपर्ने कारण चाहिँ नेपालको स्क्वाडमा अफिसियल संख्या धेरै हुनु हो ।

आईसीसीले एउटा देशका लागि २५ जनाको कोटा तोकिदिएको छ । अर्थात् २५ जनाको जाने आउने र विश्वकपभरि बस्ने खर्च आईसीसीले बेहोर्छ । नेपालले १५ सदस्यीय टिमबाहेक १० जना अफिसियलका रूपमा अमेरिका लगिसकेको छ । त्यसैले आईसीसीको कोटा भरिएको हुँदा अतिरिक्त खेलाडी राख्नलाई क्यान आफैँले खर्च गर्नुपर्छ ।

अमेरिका पुगिसकेको खेलाडीलाई विश्वकपअघि नै नेपाल फर्काउनु वाञ्छनीय नहुने भएकाले उतै राख्ने तयारी गरिएको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर