विश्वकपको वार्मअपमा नेपालले पाएन टेस्ट टीम, अमेरिका र क्यानडासँग खेल्ने – Nepal Press

विश्वकपको वार्मअपमा नेपालले पाएन टेस्ट टीम, अमेरिका र क्यानडासँग खेल्ने

क्यान अध्यक्ष चन्द भन्छन्- हामीले चाहेर मात्र नहुँदो रहेछ

काठमाडौं । नेपालले टी-२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा बलिया टीमसँग भिड्नबाट वञ्चित बनेको छ । कम्तीमा एउटा टेस्ट राष्ट्रसँग वार्मअप खेल्न पाउने आशालाई आईसीसीले तुषारापात गरिदिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ । दुवै वार्मअप म्याच अमेरिकामा २६ र २८ तारिखमा हुनेछन् । यद्यपि, आइसीसीले आधिकारिक रूपमा सेड्यूल सार्वजनिक गरिसकेको छैन ।

नेपालले विश्वकपको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध जुन ४ तारिखमा अमेरिकाको डाल्लासमा खेल्नेछ । दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा ११ जुनमा श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । नेपालका बाँकी दुई खेल वेस्ट इन्डिजमा छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा साउथ अफ्रिका विरुद्ध १४ तारिखमा म्याच छ भने समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेशविरुद्ध १६ तारिखमा सोही मैदानमा खेल्ने तालिका रहेको छ ।

यदि वार्म अप बलिया टीमसँग खेल्न पाएको भए विश्वकपका लागि नेपालको राम्रो तयारी हुन सक्थ्यो । त्यो अवसर गुम्यो ।

आइसीसीले नेपाललाई यसरी टेस्ट टिमसँग वार्म अप खेल्नबाट वञ्चित गरेको यो पहिलोपटक होइन । गत वर्ष जुन १८ देखि ९ जुलाइसम्म जिम्बाबेमा भएको विश्वकप छनोट प्रतियोगितामा पनि नेपाललाई हेपाइमा पारिएको थियो ।

आइसीसीले अरु सबै एसोसियट राष्ट्रलाई कम्तीमा एउटा टेस्ट टिमसँग वार्मअप राख्दा नेपाललाई त्यो अवसर दिएन । नेपालले नियमित खेल्दै आएका ओमान र यूएईसँग नै वार्मअप खेल्नुपरेको थियो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द पनि वार्म अपमा टेस्ट टिम नदिइएको प्रति खिन्न देखिन्छन् । आफूहरूले प्रयास गर्दा पनि सम्भव नभएको उनको भनाइ छ ।

उनले भने, ‘दर्शकको चाहना र क्यानको पनि चाहना थियो कि कम्तीमा एउटा टेस्ट टिमसँग वार्म अप खेल्न पाइयोस् भन्ने । तर हामीले भनेर मात्र नहुँदो रहेछ । लबिङ गर्दागर्दै पनि भएन । टिमहरुको ट्राभलिङ र उपलब्धतालाई पनि हेरिएको होला । यूएसए र क्यानाडाका सबै खेल अमेरिकामा नै छन् । नेपालको पनि पहिलो दुईवटा म्याच अमेरिकामा छ । त्यसैले अमेरिका र क्यानडासँग नै हाम्रो दुईवटा म्याच राखिएको जानकारी आएको छ ।’


प्रतिक्रिया

One thought on “विश्वकपको वार्मअपमा नेपालले पाएन टेस्ट टीम, अमेरिका र क्यानडासँग खेल्ने

  1. यदि त्यहाँ केही कारण छ भने त्यो इन्डिया को कारणले हो। इन्डिया क्रिकेट मात्र होईन नेपालको राम्रो कहिल्यै चाहदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर