सन्दीपको फिटनेस टेस्ट लिइने, विश्वकपमा समावेश गर्न क्यानले माग्यो आईसीसीको अनुमति – Nepal Press

सन्दीपको फिटनेस टेस्ट लिइने, विश्वकपमा समावेश गर्न क्यानले माग्यो आईसीसीको अनुमति

विश्वकप खेल्न पाउने आशामा एक्लै टियू ग्राउन्डमा गएर अभ्यास गरिरहेका थिए सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई टी २० विश्वकपमा लैजान पहल सुरु गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग एक जना खेलाडी प्रतिस्थापनका लागि अनुमति माग्दै पत्राचार गरिएको क्यान स्रोतले बतायो ।

आईसीसीले दिएको डेडलाइनमा नेपालले १५ सदस्यीय टीम घोषणा गरिसकेको छ । सो टीम अमेरिका प्रस्थान गरेर अहिले अभ्यास म्याचहरू खेलिरहेको छ । सन्दीप भने जिल्ला अदालतबाट दोषी ठहर भएपश्चात् क्यानको निलम्बनमा थिए । समयमै फैसला आएपछि उनी पनि विश्वकपमा सहभागी हुन सक्ने बाटो खुलेको हो ।

क्यानले सन्दीपलाई विश्वकपमा सहभागी गराउनका लागि आईसीसीबाट अनुमति लिनुपर्ने हुन्छ । विश्वकप खेल्ने कुनै पनि टिमले २५ मे सम्म आफ्नो टिममा फेरबदल गर्न पाउँछन् । त्यसैले प्राविधिक कठिनाइ छैन । सन्दीपको मुद्दा फैसला प्रक्रियामा जानासाथै क्यानले उनलाई विश्वकपमा खेलाउनका लागि आफ्नो तयारी गरिरहेको थियो ।

स्रोतले भन्यो, ‘उनले सफाइ पाउने आशामा हामीले अगाडि नै आईसीसीसँग संवाद गरिरहेका थियौँ । अब आईसीसीले अनुमति दिनासाथ उनलाई विश्वकपमा पठाउनेछौँ । सबै प्रक्रिया सक्न ३-४ दिन लाग्न सक्छ ।’

२५ तारिखभित्र उचित कारण देखाएर १५ सदस्यीय स्क्वाडमा रहेका खेलाडी प्रतिस्थापन गर्न सकिने आईसीसीको नियम छ । त्यसो त विश्वकप सुरु भइसकेपछि पनि कुनै पनि समय खेलाडी प्रतिस्थापन गर्न सकिन्छ । स्वाक्डभित्र कोही खेलाडी घाइते भएको वा अन्य कारणले खेल्न नसक्ने भएमा आईसीसीले प्रतिस्थापन गर्ने अनुमति दिन्छ ।

स्रोतका अनुसार अमेरिका पठाउनुअघि सन्दीपको फिटनेस परीक्षण गरिने छ । क्यानका स्ट्रेन्थ एन्ड कन्डिसन एक्स्पर्ट अब्जुल सतार अमेरिकामा छन् । उनले पठाएका गाइडलाइन अनुसार सन्दीपको फिटनेस हेरिने स्रोत बताउँछ ।

सन्दीपले अन्तिमपटक प्रतिस्पर्धात्मक क्रिकेट गत वर्ष पुसमा खेलेका थिए । वीरगञ्जमा आयोजित प्रो क्लव च्याम्पियनसीपमा पर्सा ११ को नेतृत्व गरेका उनले टीमलाई फाइनलसम्म पुर्‍याएका थिए । तर, जिल्ला अदालतले दोषी ठहर गरेपछि उनले फाइनल खेल्न पाएनन् । फाइनलमा उनको टीम पराजित भएको थियो ।

अदालतले सजाय निर्धारण गरेपछि क्यानले सन्दीपलाई निलम्बनमा राख्यो । त्यसपछि उनी क्रिकेटबाट टाढिएका थिए । योबीचमा उनले परिवारसँग र घुमघाममा समय बिताए ।

उच्च अदालतमा फैसला पेसी तोकिएपछि भने सन्दीपले विश्वकपमा जाने आशामा आफ्नो फिटनेसमा ध्यान दिन थालेका थिए । क्यानले पनि उनलाई क्रिकेट अभ्यास गरिराख्न सुझाव दिएको थियो । स्रोतका अनुसार उनी केही दिनदेखि एक्लै त्रिवि मैदानमा गएर बलिङ अभ्यास गरिरहेका थिए । तर, मानसिक तनावमा रहेका उनले राम्ररी बल फ्याँक्न भने सकिरहेका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर