सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार (भिडिओ) – Nepal Press
जो नेपालबाट टी-२० विश्वकप खेल्दैछन्- ५

सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार (भिडिओ)

काठमाडौं । विश्वकप खेल्न पठाइएको १५ सदस्यीय टोलीभित्र सबैभन्दा कम अनुभवी ब्याट्सम्यान हुन् सन्दीप जोरा । तर, विश्वकपदेखि नेपालको आगामी यात्रामा नेपालले उनीबाट धेरै आशा राखेको छ ।

घरेलु मैदानमा आफ्नो उत्कृष्टता देखाउँदै आए तापनि सन्दीपले अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई बलियोसँग उभ्याउन सकिरहेका थिएनन् । तर, पछिल्ला प्रतियोगिताहरुमा गरेको प्रदर्शनले उनले टी-२० मा मध्यक्रमका खम्बा बन्नसक्ने ताकत देखाए । विकेटमा टिक्नसक्ने, पार्टनरशिप बनाउन सक्ने र आवश्यक पर्दा आक्रामक सटहरु खेल्न सक्ने क्षमता उनमा छ ।

जोराले नेपालको राष्ट्रिय टीमबाट ५ वर्ष अगाडि नै डेब्यू गरेका हुन्, जतिबेला उनी केवल १७ वर्षका थिए । घरेलु प्रतियोगिता र अन्डर १९ मा आफूलाई प्रमाणित गरिसकेपछि यूएईविरुद्धको घरेलु सिरिजमा उनलाई पहिलो पटक राष्ट्रिय टीमको स्क्वाडमा राखिएको थियो ।

यू-१९ एसिया कपमा ७४ बलमा ७६ रन र भारतविरुद्ध २० बलमा २० रन जोड्दै उनले आफ्नो क्षमताको छनक दिएका थिए । घरेलु क्रिकेटमा उनले ईपीएल, डीपीएल, पीपीएल सबैमा खेलेर आफूलाई निखारे ।

राष्ट्रिय टीममा पनि सन्दीपको सुखद डेब्यू भएको थियो । उनले यूएईविरुद्धको अन्तिम वान डेमा नेपालका लागि डेब्यू गर्दै २० बलमा १९ रन जोडेका थिए । खेल नेपालले जितेको थियो । त्यसलगत्तै भएको टी-२० मा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । १५३ रनको लक्ष्य पछ्याइरहेको खेलमा पाँचौं क्रममा आएका उनले अर्धशतकीय पारी खेलेका थिए । उनी ४६ बलमा ५३ रन बनाएर आउट भए । खेलमा नेपाल पराजित भए पनि सन्दीपले मन जितेका थिए ।

त्यसपछि भने सन्दीपले आफ्नो लय गुमाउँदा टीममा पर्न सकेनन् । एकै पटक २०२३ को फेब्रुअरीमा उनलाई आईसीसी विश्वकप लिग-२ को सिरिजमा समावेश गरिएको थियो । सोपश्चात भने उनी टी-२० स्क्वाडमा नियमित पर्दै आएका छन् ।

सन्दीपले सबैभन्दा छाप छोडेको खेल हो एसियन गेम्समा भारतविरुद्ध । भारतका चर्चित खेलाडीहरु रहेको टीमलाई नेपालले कडा चुनौती दिएको थियो । खेलमा छैटौं नम्बरमा ब्याटिङ गर्दै उनले १२ बलमा २९ रन हानेका थिए ।

पछिल्लो समय सन्दीप निकै राम्रो टी-२० फर्ममा छन् । धेरै पटक उनले अप्ठेरो स्थितिबाट टीमलाई उकासेका छन् । गत मार्चमा नेपालले हङकङ भ्रमण गर्दा केही युवा खेलाडीहरुलाई अवसर दिइएको थियो, जसमा सन्दीप पनि परे । पहिलो खेलमा हङकङविरुद्ध २ रनमात्रै जोड्न सकेका उनले दोस्रो खेलमा पपुवा न्यूगिनीविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरे । सन्दीपले २६ बलमा ४ छक्का र ३ चौकासहित ५६ रन जोडेपछि नेपाल १९८ रनको बलियो स्कोरमा पुगेको थियो ।

पुपुवा न्यूगिनीविरुद्धको दोस्रो खेलमा नेपालको ब्याटिङ नराम्रोसँग फ्लप भयो । नेपाल ८५ रनमा अलआउट हुँदा सन्दीपले १२ बल खेल्दै सर्वाधिक १७ रन जोडेका थिए ।

सो भ्रमणलगत्तै घरेलु मैदानमा नेपालले आयरल्यान्ड ‘ए’सँग दुई म्याचको श्रृंखला खेलेको थियो । त्यसमा पनि सन्दीप छुटेनन् । नेपालले ६ विकेटको जीत हासिल गर्दा सन्दीप ३५ बलमा ३६ रन जोड्न सफल भए । दोस्रो खेलमा सातौं नम्बरमा ब्याटिङ गरेका उनले १० बलमा २१ रनको केमियो खेले ।

गत अप्रिलमा भएको एसीसी प्रिमियर लिगमा नेपालले अपेक्षित प्रदर्शन गर्न सकेन । नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो । प्रतियोगितामा सन्दीपको व्यक्तिगत प्रदर्शन भने सन्तोषजनक थियो । यो प्रतियोगिताले उनलाई नेपालको टी-२० स्क्वाडमा नछुट्ने नाम बनाएको छ ।

पहिलो खेलमा मलेसियाविरुद्ध ९ बलमा अविजित १२ रन जोडेका सन्दीप दोस्रो खेलमा ६ बलमा ७ रन बनाएर आउट भए । तेस्रो खेलमा हङकङविरुद्ध १७ बलमा १९ रन जोड्दै नटआउट रहे । साउदी अरबविरुद्धको समूह चरणको अन्तिम खेलमा उनी क्रिजमा आउन पाएनन् ।

सेमिफाइनलमा यूएईविरुद्ध सन्दीपले एक्लै संघर्ष गर्दै अर्धशतक बनाएका थिए । नेपाल ११९ रनमा अलआउट हुँदा ५० रनको पारी खेले । तेस्रो स्थानका लागि हङकङविरुद्ध भएको खेलमा पनि उनले लत्तो छोडेनन् । २३ बलमा २२ रन बनाएर खेलिरहेको अवस्था दुर्भाग्यपूर्ण तरिकाले रनआउट भएका थिए ।

पछिल्लो पटक नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध खेलेको श्रृंखलाका ५ मध्ये २ खेलमा मात्रै सन्दीपलाई प्लेइङ सेटमा राखियो । त्यसमा पनि एउटा खेलमा मात्रै ब्याटिङमा उत्रिन पाए । जसमा उनी १४ बलमा १९ रन बनाएर आउट भएका थिए ।

सन्दीप विश्वकपअघि पक्कै पनि उच्च मनोबलमा छन् । उनी र कप्तान रोहित पौडेलको फर्मले गर्दा नेपालको मध्यक्रम निकै बलियो देखिएको छ । अनुभवी आरिफ शेखलाई बाहिर राखेर सन्दीपलाई स्थान दिइनुले पनि उनीमाथि टीमले धेरै आशा गरेको छ ।

नेपाली टीममा अलराउन्डर भरिभराउ छन् । सन्दीपमात्रै एक जना ‘पियोर ब्याट्सम्यान’ हुन भन्दा फरक पर्दैन । सन्दीपभन्दा अगाडि कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल र कुशल मल्ल जस्ता ब्याट्सम्यान छन् भने पछाडि पनि दीपेन्द्रसिंह ऐरी र गुल्शन झा पालो पर्खिरहेका हुन्छन् । यस्तोमा सन्दीपलाई दिइएको भूमिका भनेको पार्टनरसीप बिल्ड अप गर्दै दीपेन्द्र, गुल्शनका लागि आधारशीला बनाइदिने हो । यद्यपि, आवश्यक पर्दा उनी आफैं ठूला सट हान्न हिच्किचाउँदैनन् ।

नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

  1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
  2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
  3. अनुभवी ओपनर आसिफबाट आशा
  4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
  5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
  6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
  7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
  8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
  9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
  10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
  11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
  12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
  13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
  14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
  15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर