१६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल (भिडिओ) – Nepal Press
जो नेपालबाट टी-२० विश्वकप खेल्दैछन्- ६

१६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल (भिडिओ)

काठमाडौं । सेप्टेम्बर २७, २०२३ चीनको होङजाउ क्रिकेट मैदान । यो मिति र ठाउँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) यसका सबै सदस्य राष्ट्र र खेलाडीहरूले सम्झिनु पर्ने धेरै वटा कारण छन् । त्यसको केन्द्रमा थियो नेपाल र खेलाडीहरू कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी थिए ।

एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गत समूहगत चरणको खेलमा नेपालले मंगोलियाविरुद्ध त्यस दिन त्यस मैदानमा ३ सय १५ रनको लक्ष्य दिएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसअघि र हालसम्म यति धेरै रनको लक्ष्य कसैले पनि दिएको छैन ।

नेपालले प्रति ओभर १५.७ को औसतमा रन जोडेको थियो। त्यसमा कुशल मल्लले मात्र अविजित एक सय ३७ रन जोडेका थिए । ३४ बलमा शतक पुरा गरेर कुशलले विश्व कीर्तिमान बनाएका थिए । त्यसअघि यति कम बलमा कसैले पनि टी-२० अन्तर्राष्ट्रिय शतक बनाएको थिएन । कुशलले कप्तान रोहित पौडेलसँग तेस्रो विकेटका लागि एक सय ९३ रनको साझेदारी गरेका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि यो विश्व कीर्तिमानी साझेदारी थियो ।

यही खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए । यो कीर्तिमान तोडिन असम्भव प्राय छ । नेपालले २ सय ७३ रन अन्तरको जित हात पारेर टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा थप अर्को विश्व कीर्तिमान बनाएको थियो, सर्वाधिक फराकिलो रन अन्तरको जितमा । नेपालले दिएको विशाल लक्ष्यमा कुशलले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गरेका थिए । यो प्रदर्शनले कुशल विश्वभरका मिडियामा छाए, टेस्ट राष्ट्रको आँखामा परे ।

उक्त प्रदर्शनयता कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटक अर्धशतक बनाइसकेका छन्। एक महिनापछि उनले घरेलु मैदानमा हङकङविरुद्ध ४१ बलमा ९२ रन जोडेका थिए। सोही महिना मलेसियाविरुद्ध पनि ३४ बलमा ६५ रन जोडे। गत मार्चमा नामिबियाविरुद्ध ३७ बलमा ५५ रन जोडेका थिए। पछिल्ला यी तीन वटै अर्धशतक कुशलले घरेलु मैदानमा बनाएका थिए।

सन् २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दा कुशल स्कुल पढ्दै थिए। विभिन्न अन्तर्वार्ताहरूमा कुशलले आफूलाई उक्त विश्वकपमा नेपालको चर्चाले क्रिकेटमा लाग्न प्रेरित गरेको उल्लेख गरेका छन्। हुन पनि त्यसपछि नेपालमा क्रिकेटको माहोल नयाँ उचाइमा पुगेको थियो। विश्वकपमा चर्चा बटुलेका स्पीनर शक्ति गौचनको गृह जिल्लामा उनीसँग क्रिकेट सिक्न पुगे कुशल पनि। कुशलले स्पीन बलिङको कौशल सिके। आक्रामक ब्याटिङ उनको रगतमै थियो।

सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि क्रिकेट नेपालमा अझ तेजिलो बन्यो। शक्तिको छत्रछायामा कुशललाई राष्ट्रिय टोलीमा आउन लामो समय लागेन । सन् २०२९ को सेप्टेम्बरमा उनले सिंगापुरमा जिम्बावेविरुद्ध खेल्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। पहिलो खेलमा उनले ६ बलमा २ रन जोडेका थिए भने ३ ओभरमा २८ रन खर्चिएर एक विकेट पनि हात पार्न सकेका थिएनन्। त्यसको ५ महिनापछि उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि डेब्यु गर्न सफल भए ।

उनले अमेरिकाविरुद्ध भएको त्यस खेलमा अर्धशतक बनाए। त्यस प्रदर्शनले उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै सबैभन्दा कम उमेरका ब्याट्सम्यान बनेका थिए। त्यसयता कुशल निरन्तर राष्ट्रिय टोलीमा छन्। उनले विभिन्न दिशामा प्रहार गर्ने ब्राउन्ड्रीको शैली र छक्काको चर्चा भइरहन्छ।

कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १६७-२४ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । ३९ खेल खेल्ने क्रममा उनले एक शतक र ४ अर्धशतकसहित ७ सय ७१ रन जोडेका छन् । उनको ब्याटिङ औसत २९.६५ छ जुन टी-२० अन्तर्राष्ट्रियमा राम्रो मानिन्छ। बलियो स्ट्राइक रेट र राम्रो ब्याटिङ औसत दुवै कारण टोलीमा उनको स्थान मजबुत बन्दै आएको छ। उनी टी-२० अन्तर्राष्ट्रियमा ९ पटक नटआउट रहेका छन्। कुशलले २५ खेलमा बलिङ गर्दै १९ विकेट लिएका छन् जसमा बलिङ इकोनोमी ६.१८ छ। यो बलिङ इकोनोमी पनि टी-२० अन्तर्राष्ट्रियमा किफायती मानिन्छ।

कुशलले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३६ खेल खेल्दै एक शतक र ४ अर्धशतकसहित ७ सय १६ रन जोडेका छन् । उनको ब्याटिङ औसत २४.६८ र स्ट्राइक रेट ९६.२३ छ।

बलिङतर्फ ३० खेलमा २४ विकेट लिएका छन् । नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न विकेटका लागि गरेका राष्ट्रिय कीर्तिमान स्तरका साझेदारीमा कुशलको नाम जोडिन्छ । उनले तेस्रो विकेटका लागि रोहित पौडेलसँग एक सय ९३ रन, पाँचौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग एक सय ४५ रन (हङकङविरुद्ध) र छैटौँ विकेटका लागि करन केसीसँग ६६ रन९मलेसियाविरुद्ध०को साझेदारी गरेका छन् । बायाँ हाते ब्याट्सम्यान र स्लो आर्म अर्थोडक्स बलरका रूपमा कुशलले आसन्न टी-२० विश्वकपमा गतिलो छाप छाड्न सक्ने अपेक्षा गरिएको छ ।

नेपाल विश्वकप खेल्न जानुअघि कीर्तिपुर मैदानमा वेस्ट इन्डिज एविरुद्ध खेलिरहेको अन्तिम टी-२० मा कुशलले ३७ रन जोडेका थिए । आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरमा उनी केवल दुईपटक शून्यमा आउट भएका छन् । सन् २०२२ को फेब्रुअरीमा क्यानडाविरुद्ध खेलेयता उनी शून्यमै आउट भएका छैनन् ।

नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

  1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
  2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
  3. अनुभवी ओपनर आसिफबाट आशा
  4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
  5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
  6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
  7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
  8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
  9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
  10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
  11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
  12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
  13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
  14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
  15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर