सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान – Nepal Press
जो नेपालबाट टी-२० विश्वकप खेल्दैछन्- ७

सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान

काठमाडौं। करण केसी भन्ने बित्तिकै सबैभन्दा बढी याद आउने खेल हो, २०१८ मा आयोजित वर्ल्ड क्रिकेट लिग डिभिजन-२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले हात पारेको सनसनीपूर्ण जित। लिग चरणको आफ्नो अन्तिम त्यस खेलमा नेपालले जित हात पारे मात्र एकदिवशीय विश्वकप छनोटमा पुग्ने थियो।

पहिला ब्याटिङ गरेको क्यानडाले एक सय ९५ रनको लक्ष्य दियो। २२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालका कप्तान पारस खड्का गोल्डेन डक आउट भएका थिए। २ रनको अन्तरमा तीन विकेट गुमाएपछि नेपाल १४४-९ को अवस्थामा पुगेको थियो।

यो स्थिति लगभग नेपालले जितको कल्पना गर्नु सपनाजस्तै थियो। अन्तिम आशा थिए करण केसी। उनलाई साथ दिनुपर्ने थियो सन्दीप लामिछानेले। १० औँ नम्बरमा आएका करण र ११ औँ नम्बरमा आएका सन्दीप दुवैले खाता खोलेका थिएनन्। ४७ बल खेल्न बाँकी थियो। सन्दीपको काम विकेट जोगाउनु थियो भने करणको काम रन जोडेर जितको आशा कायम राख्नु। तर त्यसपछि जे भयो, सायद करणले आफ्नो करियरकै स्मरणीय इनिङ्स खेले।

अन्तिम ओभरमा नेपाललाई केवल ८ रन आवश्यक थियो। करणले सुरुका चार बलमा रन जोड्न सकेनन्। पाँचौँ बलमा छक्का प्रहार गरे भने छैटौँ बल क्यानडाले वाइड फ्याँक्यो। अन्तिम बलमा करणले एक रन जोडेर नेपाललाई खेल जिताए। करण ३१ बलमा ४ छक्का र ३ चौकासहित ४२ रनमा अविजित रहे।

सन्दीपले १८ बलमा ५ रन जोडेका थिए। यी दुईबीच अन्तिम विकेटका लागि ५१ रनको साझेदारी भएको थियो। त्यसयता हरेक खेलमा करण बाँकी रहेसम्म नेपालले जितको आशा कहिल्यै मारेन। खेलको अवस्था बुझेर खेल्न सक्ने, ठुला प्रहार गर्न सक्ने ब्याट्सम्यानको पहिचान उनको छ। राम्रा बलर त उनी पहिल्यै देखि थिए।

करणले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५१ खेलका ३६ इनिङ्समा ब्याटिङ गर्दै ४ सय १२ रन जोडेका छन् भने ६८ टी-२० अन्तर्राष्ट्रिय खेलका ३८ इनिङ्समा ४ सय १२ रन जोडेका छन्। यस्तै बलिङतर्फ टी-२० अन्तर्राष्ट्रियमा ९० र एकदिवशीय अन्तर्राष्ट्रियमा ७४ विकेट हात पारेका छन्। टी-२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १५१.६३ र ब्याटिङ औसत १६.०३ छ। यस्तै बलिङ इकोनोमी ७.८२ छ। एकदिवशीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ८४.२५ र ब्याटिङ औसत १४.७१ छ। बलिङ इकोनोमी ५.३ छ।

करण टी-२० अन्तर्राष्ट्रियमा दोस्रो सर्वाधिक विकेट लिने नेपाली बलर हुन्। पहिलो स्थानमा रहेका सन्दीप लामिछानेले ५२ खेलमा ९८ विकेट लिएका छन्। करण सन् २०१५ देखि नेपाली राष्ट्रिय टोलीमा छन्। उनी नेपाली टोलीमा सोमपाल कामीपछि दोस्रो सर्वाधिक अनुभवी खेलाडी हुन्। उनी ९ वर्षयता नेपाली टोलीमा नियमित सदस्य हुन्।

सोमपाल कामी र करणले नेपालको ओपनिङ बलिङ सम्हालेको वर्षौँ भइसकेको छ। करण नयाँ बलमा विपक्षी ब्याट्सम्यानलाई अप्ठेरोमा पार्छन्। उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट एक पटक र ४ विकेट तीन पटक लिएका छन्। यस्तै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा ५ विकेट तीन पटक र ४ विकेट ५ पटक लिएका छन्।

उनी प्राय ८/९ नम्बरमा ब्याटिङ गर्न आउँछन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विभिन्न विकेटका लागि ४ वटा राष्ट्रिय कीर्तिमानी साझेदारी करणको नाममा छ। उनले मलेसियाविरुद्ध छैटौँ विकेटका लागि कुशल मल्लसँग ६६ रन, नेदरल्यान्ड्सविरुद्ध सातौँ विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५५, ओमानविरुद्ध नवौँ विकेटका लागि विवेक यादवसँग ५४ र शरद भेषावकरसँग १० औँ विकेटका लागि १४ रनको साझेदारी गरेका छन्। करण पछिल्लो समय विकेट लिन संघर्षरत छन्। उनले खेलेका पछिल्ला ९ टी-२० अन्तर्राष्ट्रियमध्ये केवल ४ खेलमा मात्र विकेट लिएका छन्। पछिल्ला दुई खेलमा विकेट लिन सकेका छैनन्।

नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

  1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
  2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
  3. अनुभवी ओपनर आसिफबाट आशा
  4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
  5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
  6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
  7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
  8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
  9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
  10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
  11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
  12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
  13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
  14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
  15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *