सोमपाल कामी- धार खोजिरहेको नेपालकाे पुरानो हतियार – Nepal Press
जो नेपालबाट टी-२० विश्वकप खेल्दैछन्- ११

सोमपाल कामी- धार खोजिरहेको नेपालकाे पुरानो हतियार

काठमाडौं। विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टोलीका सबैभन्दा अनुभवी सदस्य हुन् सोमपाल कामी । उनी दुई वटा टी-२० विश्वकप खेल्ने पहिलो नेपाली क्रिकेटर पनि बन्दैछन् ।

सन् २०१४ मा आयोजना भएको विश्वकप उनले खेलेका थिए । त्यसयता १० वर्षपछि नेपाली टोली विश्वकपमा छनोट भएर अमेरिका पुगेको हो । तर अनुभवका हिसाबले सोमपालको जुन प्रभाव देखिनु पर्ने हो, त्यो हेर्दा समय प्रतिकुल चलिरहेको देखिन्छ ।

विश्वकपअघि खेलिएको वामअर्पमा सोमपालले सोमबार क्यानडाविरुद्ध ३ ओभरमा ३३ रन खर्चिएर एक विकेट लिएका थिए। पछिल्लो क्रमका ब्याट्सम्यानलाई उनले आउट गरेका थिए ।

सोमपाल नेपालका ओपनिङ बलर हुन् । तर गत नोभेम्बरमा भएको विश्वकप एसियाली छनोटको फाइनलदेखि सोमपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लय समाउन संघर्षरत देखिन्छन् ।

ओमानविरुद्ध भएको एसियाली छनोटको फाइनलमा सोमपालले ३ ओभरमा ३७ रन खर्चिएर एक विकेट हात पारेका थिए। त्यसपछि खेलेका ८ टी-२० अन्तर्राष्ट्रियमध्ये एक खेलमा मात्र उनले विकेट लिए ।

गत अप्रिलमा भएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईविरुद्ध ३ ओभरमा २८ रन खर्चिएर एक विकेट लिँदै उनले लगातार ५ खेलको विकेटविहीन यात्रा तोडेका थिए। नेपाल उक्त सेमिफाइनलमा पराजित भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा उनले हङकङविरुद्ध ४ ओभरमा ३३ रन खर्चिएर ३ विकेट हात पारेका थिए ।

त्यसयता नेपालले टी-२० अन्तर्राष्ट्रिय खेलेको छैन । सन् २०२४ मा सोमपालले बलिङ गरेका १० टी-२० अन्तर्राष्ट्रियका २७ ओभरमा ६ विकेट लिएका छन् भने बलिङ इकोनोमी ९.१४ रहेको छ ।

सोमपालले हालसम्म ६५ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५८ विकेट लिएका छन् । यसमा बलिङ इकोनोमी ७.१९ छ । उनले एकै खेलमा बढीमा ३ विकेटसम्म लिएका छन् । सोमपालले ५४ एकदिवसीय अन्तर्राष्ट्रियमा ७१ विकेट लिएका छन् ५.१२ बलिङ इकोनोमीसहित । उनी ब्याटिङ गर्न सक्ने क्षमता पनि राख्छन् ।

उनले टी-२० अन्तर्राष्ट्रियका ३८ इनिङ्समा ब्याटिङ गर्दै ३ सय १५ रन जोडेका छन् जसमा १३ छक्का र २५ चौका प्रहार गरेका छन् । स्ट्राइक रेट ११५.३८ छ। एकदिवशीय अन्तर्राष्ट्रियमा ४२ इनिङ्स ब्याटिङ गर्दै २ अर्धशतकसहित ५ सय ९६ रन जोडेका छन् ।

सोमपालको प्रदर्शन स्थिर नहुनु नै चिन्ताको विषय हो । ठूला टोलीविरुद्ध उनको अनुभव नेपालका लागि बलियो पक्ष हुन सक्ने छ । हालै नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’विरुद्धको अन्तिम खेलमा सोमपालले १६ रन खर्चिएर ३ विकेट लिएका थिए ।

उनले सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध ४ ओभरमा ३२ रन खर्चिएर २ विकेट लिएका थिए । त्यतिबेला नेपालले विश्वकपमा खेलेका खेललाई टी-२० अन्तर्राष्ट्रियको मान्यता दिइएको थियो ।

टी-२० अन्तर्राष्ट्रियमा त्यसअघि नेपालले अफगानिस्तानलाई कहिल्यै हराउन सकेको थिएन । नेपालले त्यस विश्वकपमा खेलेका ३ खेलमा सोमपालले ९ ओभर बलिङ गर्दै ६६ रन खर्चिएर ४ विकेट लिएका थिए । त्यसमा एक मेडन ओभर पनि समावेश थियो ।

सोमपालले बलिया टोलीहरू अधिकांशविरुद्ध विकेट लिएका छन् । गत वर्ष भएको एसियन गेम्समा उनले भारतविरुद्ध एक विकेट हात पारेका थिए । उनले यूएई, नेदरल्यान्ड्स, ओमान, जिम्बावे, केन्या, आयरल्यान्ड, हङकङजस्ता टोलीविरुद्ध विगतमा विकेट लिएका छन् ।

सोमपालले नेपालले खेलेका टी-२० अन्तर्राष्ट्रिय खेलमा एसियामा ४६, अफ्रिकामा ४ र युरोपमा ८ विकेट लिएका छन् । एसियामा लिएका विकेटमध्ये घरेलु मैदानमै खेलेका खेल मा २१ विकेट लिएका छन् । सोमपालले नेपालले टस जितेका खेलमा ३० र टस हारेका खेलमा २८ विकेट हात पारेका छन् ।

यस्तै नेपालले पहिला ब्याटिङ गरेका खेलमा ३० र पहिला फिल्डिङ गरेका खेलमा २८ विकेट हात पारेका छन् । सोमपालले कुल ३८ विकेट लिएका ३७ टी-२० अन्तर्राष्ट्रिय खेल नेपालले जितेको छ ।

१८ विकेट लिएका २६ खेल भने नेपालले हारेको थियो । सोमपालले सन् २०१४ मा हङकङविरुद्ध भएको एक टी-२० अन्तर्राष्ट्रिय खेलमा १० ‍औँ नम्बरमा आएर ब्याटिङ गर्दै ४० रन जोडेर विश्व कीर्तिमान बनाएका थिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि इनिङमा १० औँ नम्बरमा आएर कुनै पनि ब्याट्सम्यानले यति धेरै रन बनाउन सकेको छैन ।

नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

  1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
  2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
  3. अनुभवी ओपनर आसिफबाट आशा
  4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
  5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
  6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
  7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
  8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
  9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
  10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
  11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
  12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
  13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
  14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
  15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर