कहिल्यै शून्यमा आउट नभएका गुल्शन – Nepal Press
जो नेपालबाट टी-२० विश्वकप खेल्दैछन्- ८

कहिल्यै शून्यमा आउट नभएका गुल्शन

काठमाडौं । नेपाली युवा क्रिकेटर गुल्शन झाको नाममा ब्याटिङतर्फ उल्लेखनीय रेकर्ड छ । उनी अन्तर्राष्ट्रिय मान्यता प्राप्त टेस्ट, एक दिवसीय र टी-२० खेलको करियरमा शून्यमा आउट नहुने ब्याट्सम्यानको सूचीमा तेस्रो स्थानमा छन् ।

हालसम्म ५६ खेलका ४४ इनिङ्समा ब्याटिङ गरेका गुल्शन एक पटक पनि शून्यमा आउट भएका छैनन् । त्यसमध्ये १२ खेलमा उनी नटआउट रहेका थिए ।

भारतमा वृजेश पटेल ४७ इनिङ्स र अस्ट्रेलियाका जेम्स वालेस बुर्क ४४ इनिङ्समा शून्यमा आउट भएका थिएनन् । पटेलले टेस्टमा ३८ र एक दिवसीय अन्तर्राष्ट्रियमा ९ इनिङ्स खेलेका थिए । नेपालका गुल्शनले २२ एक दिवसीय अन्तर्राष्ट्रिय र २२ टी-२० इनिङ्स ब्याटिङ गरेका छन् ।

उनले ब्याटिङतर्फ एक दिवसीय अन्तर्राष्ट्रियमा २७ खेल खेल्दै ३ अर्धशतकसहित ५१४ रन जोडेका छन् । उनको ब्याटिङ औसत ३०.२३ र स्ट्राइक रेट ७३.६३ रहेको छ । टी-२० अन्तर्राष्ट्रियमा २९ खेलमा एक अर्धशतकसहित ३६२ रन जोडेका छन् ।

ब्याटिङ औसत २४.१३ र स्ट्राइक रेट १३९.२३ रहेको छ । यस्तै बलिङतर्फ एक दिवसीय अन्तर्राष्ट्रियमा ६.३ को इकोनोमीमा २१ विकेट लिएका छन् । टी-२० अन्तर्राष्ट्रियमा ७.१९ को इकोनोमीसहित १९ विकेट हात पारेका छन् ।

सर्लाहीमा जन्मिएका १८ वर्षीय गुल्शनले सन् २०२१ को सेप्टेम्बरमा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसको ५ महिनापछि उनले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् । उनी प्राय: ७ नम्बरमा ब्याटिङमा आउँछन् ।

गत नोभेम्बरमा मूलपानीमा भएको टी-२० विश्वकपको एसियाली छनोटको सेमिफाइनलमा गुल्शनले २२ रन जोडेका थिए । उनीसहितको प्रदर्शनमा नेपाल विश्वकपमा छनोट भएको थियो । फाइनलमा उनले ओमानविरुद्ध ५४ रन बनाएका थिए । त्यस खेलमा उनले २५ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए । उनले नेदरल्यान्ड्स, यूएई, ओमान, आयरल्यान्ड, नामिबियाविरुद्ध स्तरीय प्रदर्शन गर्ने गरेका छन् ।

हालै नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’विरुद्ध पहिलो खेलमै घरेलु टोलीले शानदार जीत निकाल्दा गुल्शनले सुझबुझपूर्ण प्रदर्शन गरेका थिए । नेपालले २०५ रनको लक्ष्य पाएको त्यस खेलमा जीतका लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो ।

सुरुका दुई बलमा नेपालले २ रनमात्र जोडेको थियो, तर तेस्रो र चौथो बलमा गुल्शनले लगातार चौका प्रहार गरेर नेपाललाई जीत दिलाए । एक दिवसीय फर्म्याटको विश्वकप छनोटमा गुल्शनले आयरल्यान्डविरुद्ध ५७ रन जोडेका थिए । वेस्ट इन्डिजविरुद्ध पनि ४२ रन जोडेका थिए । उनले एसिया कपमा भारतविरुद्ध २३ र पाकिस्तानविरुद्ध १३ रन बनाएका थिए ।

गत वर्ष विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा नेपालले यूएईविरुद्ध ३१० रनको लक्ष्य डकवर्थ लुइस नियमका आधारमा जित्दा गुल्शनले अविजित ५० रनको इनिङ्स खेलेका थिए । खेल कति बेला रोकिन सक्छ भन्ने अनिश्चितबीच उनले आवश्यक बाउन्ड्री प्रहार गरेर नेपाललाई डकवर्थमा अगाडि राखेका थिए ।

यही जीतले नेपाल विश्वकपको विश्वस्तरको छनोटमा सोझै पुगेको थियो । एसीसी प्रिमियर कपको फाइनलमा पनि उनले प्लेयर अफ दी म्याच प्रदर्शन गरेका थिए । यूएईविरुद्ध भएको त्यस खेलमा गुल्शनले ६७ रन जोडेपछि नेपाल एसिया कप पुगेको थियो ।

बलिङ र ब्याटिङ दुवैमा जम्नसक्ने क्षमताका कारण गुल्शनले टोलीमा आफ्नो स्थान बलियो बनाउँदै लगेका छन् । उनलाई नेपालको खेल जिताउन सक्ने खेलाडीका रुपमा हेरिने गरेको छ । आगामी टी-२० विश्वकपमा पनि उनी विपक्षी ब्याट्सम्यान र बलर दुवैको नजरमा पर्ने निश्चित छ ।

नेपाली क्रिकेट खेलाडीहरुबारे नेपाल प्रेसका थप सामग्री पढ्नुहोस्-

  1. टी-२० विश्वकपअघि कुशलको खराब फर्म नेपालको चिन्ता
  2. ‘रेड हट’ फर्ममा रोहित, फ्यानलाई बनाउँदैछन् मोहित
  3. अनुभवी ओपनर आसिफबाट आशा
  4. अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब
  5. सन्दीप जोरा- नेपालका नवोदित ब्याटिङ स्टार
  6. १६७ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका कुशल
  7. सन्दीपलाई पछ्याइरहेका बलर, १० नम्बरमा आएर खेल जिताउन सक्ने ब्याट्सम्यान
  8. ‘थ्रीडी क्रिकेटर’ दीपेन्द्र : नेपालको भरोसाका केन्द्र
  9. ‘योर्कर विशेषज्ञ’ अविनाश: जो डेथ ओभरमा अक्सर चुक्छन्
  10. सोमपाल कामी- धार खोजिरहेको नेपालको पुरानो हतियार
  11. सागर ढकाल- नेपालले खोजिरहेका नयाँ विशेषज्ञ स्पीनर
  12. प्रतिश जिसी- नेपालको फास्ट बलिङमा अविनाश, सोमपाल र करणका विकल्प
  13. एकदिवसीयको प्रदर्शनले टी-२० विश्वकपमा अटाएका अनिल जो बन्दैछन् आसिफलाई ‘थ्रेट’
  14. २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय नखेली विश्वकप पुगेका कमल
  15. कहिल्यै शून्यमा आउट नभएका गुल्शन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *