अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब (भिडिओ) – Nepal Press
जो नेपालबाट टी-२० विश्वकप खेल्दैछन्- ४

अस्थिर फर्मबाट गुज्रिरहेका ललित: सन्दीपको अभावले मनोवैज्ञानिक दबाब (भिडिओ)

काठमाडौं । विगतदेखि वर्तमानसम्म नेपाली क्रिकेटको सबैभन्दा सवल पाटोका रुपमा लिन सकिन्छ स्पिन बलिङलाई । हिजो सञ्जम रेग्मी-राजकुमार प्रधानदेखि अहिले सन्दीप लामिछाने र ललितनारायण राजवंशीसम्म आइपुग्दा नेपालले निरन्तर उत्कृष्ट स्पिनरहरु उत्पादन गरिरहेको छ ।

नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेल्दा स्पिन बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यसबेला नेपालका वसन्त रेग्मी र शक्ति गौचनको जोडी एसोसियट राष्ट्रमै उत्कृष्ट स्पिनिङ जोडी कहलाउँथ्यो । अहिलेको अवस्था भने अलिकति फरक छ । दोस्रो पटक टी-२० विश्वकप खेल्दै गर्दा नेपालले स्पिनमा ढुक्क हुन सक्ने अवस्था छैन ।

विचाराधीन मुद्दाका कारण स्टार स्पिनर सन्दीप समेटिन नसकेपछि नेपालको स्पिन आक्रमणमा ठूलो रिक्तता पैदा भएको छ । सन्दीप लामो समयदेखि नेपालका प्रमुख स्पिनरमात्र नभएर प्रमुख बलर नै थिए । उनलाई कप्तानले ‘ट्रम्प कार्ड’ रुपमा प्रयोग गर्न सक्थे । जतिबेला विकेटको तीव्र आवश्यकता हुन्थ्यो, क्याप्टेनले उनलाई बल थमाउँथे । सन्दीपले हम्मेसी निराश पारेनन् पनि । पछिल्लो कालखण्डमा नेपालले हासिल गरेका हरेक ठूला उपलब्धिमा सन्दीपको अविस्मरणीय योगदानलाई नकार्न सकिँदैन ।

तर, विश्वकप जस्तो ठूलो इभेन्टमा नेपालसँग सन्दीप हुने छैनन् । उनको अनुपस्थिति बोधले नै टीममा एक प्रकारको मनोवैज्ञानिक दबाब महसुस गरिसकेको छ । फास्ट बलिङ कमजोर थियो नै, अब स्पिनको पनि चिन्ता थपियो । नेपालको स्पिन आक्रमणले दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्यान्ड्स र बंगलादेशका दिग्गज ब्याट्सम्यानहरुको सामना गर्न सक्ला ?

नेपालसँग उपलब्ध सन्दीपपछिका अनुभवी स्पिनर हुन् ललितनारायण राजवंशी । सन्दीप राइट ह्यान्डेड लेग स्पिनर हुन् भने ललित लेफ्ट ह्यान्ड अर्थोडक्स । सुरुका खेलमा विशेषज्ञ स्पिनरका रुपमा उनले प्लेइङ ११ मा स्थान बनाउने पक्का जस्तै छ । यद्यपि, पछिल्ला खेलहरुमा उनको पर्फमेन्स सन्तोषजनक छैन । गत वर्ष असोजमा काँधको शल्यक्रिया गरेपछि पुरानो फर्म भेट्टाउन सकस परिरहेको छ । अस्थिर प्रदर्शनका कारण उनले टीममा निरन्तर स्थान बनाउन पनि सकेका छैनन् ।

ललितले खेलेका पछिल्ला केही खेलको चर्चा गर्दा उनले आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सकेको देखिँदैन । नेपालले खेलेको पछिल्लो श्रृंखला वेस्ट इन्डिज ‘ए’ सँगको हो, जसमा ललितले दुई वटा म्याचमा मात्रै अवसर पाए । पहिलो खेलमा ४ ओभर बलिङ गर्दा ३४ रन खर्चेका ललितले कुनै पनि विकेट लिन सकेनन् ।


दोस्रो म्याचमा ललितलाई ड्रप गरेर सागर ढकाललाई खेलाइयो । उनले राम्रो प्रदर्शन पनि गरे । सागरले ४ ओभर बलिङ गर्दै १९ रनको खर्चमा २ विकेट लिएका थिए । त्यसपछि ललितले तेस्रो खेलमा पनि स्थान पाएनन् । चौंथो खेलमा कमब्याक गरे, तर प्रदर्शन बिर्सनलायक रह्यो । उनले चार ओभरमा ५३ रन खर्चिँदा कुनै विकेट लिएनन् । पाँचौं खेलमा उनी फेरि ड्रप भए ।

योभन्दा अगाडि नेपालले ओमानमा खेलेको एसीसी प्रिमियर कपमा पनि ललित फिक्का देखिएका थिए । उक्त श्रृंखलामा नेपालले ६ खेल खेलेकोमा पहिलो खेलमा मलेसियाविरुद्ध ४ ओभरमा कुनै विकेट २८ रन खर्चिंदा विकेट लिन सकेनन् । दोस्रोमा कतारविरुद्ध अलिकति सुधारिएको प्रदर्शन गर्दै ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

तेस्रो खेलमा हङकङविरुद्ध ललितले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभरमा १४ रनमात्रै खर्चिएर २ ब्याट्सम्यानलाई आउट गरेका थिए । समूह चरणको अन्तिम खेलमा साउदी अरबविरुद्ध उनको बलिङ महँगो बन्यो । ललितले १ विकेटका लागि २ ओभरमा २१ रन खर्चेका थिए ।

नेपालका लागि सबैभन्दा महत्वपूर्ण यूएईविरुद्धको सेमिफाइनलमा ललितको प्रदर्शन औसत थियो । उनले ४ ओभरमा २३ रन खर्चंदा एक विकेट आफ्नो नाममा लेखाए । तेस्रो स्थानका लागि हङकङविरुद्ध भएको खेलमा ललित ३.३ ओभरमा २१ रन खर्चेर विकेटविहीन रहे ।

ललितको करिअर आँकडा भने राम्रो छ । उनले ओडीआईमा २५ खेलमा ३७ विकेट लिँदा २८.१८ को औसत र ३.८० को इकोनोमी कायम गरेका छन् । टी-२० मा उनले २१ म्याच खेल्दै २५.२२ को औसत र ६.४० को इकोनोमीमा १८ विकेट लिएका छन् ।

सन्दीप र ललित दुवै टीममा हुँदा उनीहरुको ट्युनिङ निकै मिल्थ्यो । सन्दीपले आक्रामक र ललितले रक्षात्मक बलिङ गर्थे । ललितलाई पावरप्लेमै पठाउन सुविधा पनि कप्तानसँग हुन्थ्यो । तर, सन्दीप नहुँदा ललितमाथि बोझ थपिएको छ । यसको प्रभाव उनको प्रदर्शनमा परेको देख्न सकिन्छ ।

नेपाली टीममा दोस्रो स्पिनरका रुपमा सागर ढकाल छन् । तर, नेपालले ललित र सागर दुवैलाई प्लेइङ ११ मा अटाउन सक्ने अवस्था छैन । सन्दीपले ब्याटिङ पनि गर्न सक्थे, तर ललित र सागरमा त्यो क्षमता नभएकाले नेपालको ब्याटिङ गहिराइ पनि प्रभावित बन्नेछ । तथापि टी-२० मा ९ नम्बरसम्म अलराउन्डर हुनु पनि पर्याप्त हो । १० र ११ नम्बरमा खेल्ने अविनाश बोहरा र ललित भने ब्याटिङका लागि चिनिँदैनन् ।

नेपालसँप स्पिन अप्सनको कमी भने छैन । अग्रपंक्ति र मध्यक्रममा खेल्ने ब्याट्सम्यानहरुले राम्रो स्पिन फ्याक्न सक्छन् । दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलसँगै कप्तान रोहित पौडेलमा पनि स्पिन बलबाट विकेट लिने क्षमता छ । यद्यपि, पिचले साथ दिएन भने चाहिँ उनीहरु नचल्न सक्छन् ।

याे पनि पढ्नुस्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर