प्रतिनिधिसभाका महिला सांसद: यस्ताे छ समावेशिताकाे हिसाबकिताब – Nepal Press

प्रतिनिधिसभाका महिला सांसद: यस्ताे छ समावेशिताकाे हिसाबकिताब

काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकबाट ३३ प्रतिशत महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा ८ राजनीतिक दलबाट ३३.१० प्रतिशत (९१ जना) महिला निर्वाचित भएका हुन् ।

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको प्रत्यक्षबाट ३ प्रतिशत (९ जना) मात्रै महिला निर्वाचित भएका थिए । संविधानअनुसार नपुग ३० प्रतिशत (८२ जना) समानुपातिकबाट निर्वाचित गरिएको हो ।

आयोगको अन्तिम परिणामअनुसार प्रतिनिधिसभामा ६६.९० प्रतिशत (१८४ जना) पुरुष निर्वाचित भएका छन् । जसमा ८५ प्रतिशत अर्थात १५६ जना प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । बाँकी १५ प्रतिशत (२८ जना) समानुपातिकबाट प्रतिनिधिसभामा आएका हुन् ।

प्रतिनिधिसभामा महिला सांसदको संख्या ९१ जना पुग्दा सबैभन्दा बढी ३५ प्रतिशत (३१ जना) खस आर्यबाटै निर्वाचित भएका छन् । दोस्रोमा आदिवासी जनजातिबाट ३० प्रतिशत (२८ जना) निर्वाचित भए । तेस्रोमा मधेसीबाट १६ प्रतिशत (१५ जना) महिला निर्वाचित भएका छन् ।

त्यस्तै करिब ९ प्रतिशत (८ जना) दलित महिला निर्वाचित भएका छन् । थारुबाट ६ प्रतिशत (६ जना) र मुस्लिमबाट ३ प्रतिशत (३ जना) महिला निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसबाट सबैभन्दा बढी ३३ प्रतिशत (३० जना) महिला निर्वाचित भएका छन् । कांग्रेसबाट सबैभन्दा बढी ३३ प्रतिशत (१० जना) महिला आदिवासी जनजातिबाट निर्वाचित भएका छन् । दोस्रोमा ३० प्रतिशत (९ जना) महिला खस आर्यका छन् ।

त्यस्तै १३-१३ प्रतिशत (४-४ जना) मधेसी र दलित महिला कांग्रेसबाट प्रतिनिधिसभामा पुगेका छन् । ६ प्रतिशत (२ जना) थारु, ३ प्रतिशत (१ जना) मुस्लिमबाट निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा एमालेबाट २७ जना महिला निर्वाचित भएका छन् । एमालेबाट सबैभन्दा बढी ३३ प्रतिशत (९ जना) महिला खस आर्य प्रतिनिधिसभामा पुगेका छन् । दोस्रोमा आदिवासी जनजातिबाट करिव २६ प्रतिशत (७ जना), १८ प्रतिशत (५ जना) मधेसी, ११ प्रतिशत (३ जना) थारु र ७ प्रतिशत (२ जना) दलित महिला निर्वाचित भएका छन् । एमालेबाट मुस्लिम महिला भने एक जना पनि निर्वाचित हुन सकेनन् ।

माओवादीबाट प्रतिनिधिसभामा १३ जना महिला निर्वाचित भएका छन् । उसले सबैभन्दा बढी ३०-३० प्रतिशत (४-४ जना) खस आर्य र आदिवासी जनजातिबाट निर्वाचित भएका छन् । माओवादीले १५ प्रतिशत (२ जना) महिला मधेसी, ७-७ प्रतिशत (एक-एक जना) महिला दलित, थारु र मुस्लिमबाट निर्वाचित भएका छन् ।

रास्वपाबाट ८ जना महिला निर्वाचित भएका छन् । जसमध्ये सबैभन्दा बढी ६२ प्रतिशत (५ जना) खस आर्यबाट निर्वाचित भएका छन् । २५ प्रतिशत (२ जना) आदिवासी जनजाति र १२ प्रतिशत (एक जना) मधेसीबाट महिला निर्वाचित भएका छन् । रास्वपाबाट दलित, थारु र मुस्लिमबाट एक जना पनि महिला निर्वाचित भएनन् ।

राप्रपाबाट ५ जना महिला निर्वाचित हुँदा थारु र मुस्लिमबाहेक सबै समावेशी समूहका महिलाले प्रतिनिधित्व गरेका छन् । राप्रपपाबाट सबैभन्दा बढी ४० प्रतिशत (२ जना) खस आर्य, २०-२० प्रतिशत (एक-एक जना) आदिवासी जनजाति, मधेसी र दलित महिला निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीबाट ४ जना महिला निर्वाचित भए । जसमा खस आर्य, आदिवासी जनजाति, मधेसी र मुस्लिमबाट एकएक जना प्रतिनिधिसभामा पुगेका छन् ।

यस्तै जनमत पार्टीबाट ४ जना निर्वाचित हुँदा ५० प्रतिशत (२ जना) आदिवासी जनजाति र एक-एक जना आदिवासी जनजाति र मधेसीबाट प्रतिनिधिसभामा पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट १ जनामात्रै महिला निर्वाचित भए । प्रत्यक्षतर्फ निर्वाचित पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आदिवासी जनजाति हुन् ।

आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९ प्रतिशत अर्थात २२५ जना महिला र ९१ प्रतिशत अर्थात २ हजार १८६ पुरुष गरी जम्मा २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । समानुपातिकतर्फ भने ५४ प्रतिशत अर्थात १ हजार १८७ महिला र ४६ प्रतिशत अर्थात १ हजार १२ पुरुष गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

आगामी पाँच वर्षका लागि प्रतिनिधिसभामा २७५ जना सदस्य चुनिएका छन् । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित भएको अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइसकेको छ । निर्वाचित प्रतिनिधिसभाका सदस्यहरुको नाम राजपत्रमा प्रकाशित भएपछि उनीहरूको सपथग्रहणको प्रक्रिया अघि बढ्नेछ ।

दलगत हिसाबले कांग्रेसबाट ८९ जनामध्ये ३०, एमालेबाट ७८ जनामध्ये २७, माओवादी केन्द्रबाट ३२ जनामध्ये १३, महिला, रास्वपाबाट २० जनामध्ये ८, राप्रपाबाट १४ जनामध्ये ५, जसपाबाट १२ जनामध्ये ४, जनमतबाट ६ जनामध्ये ४ र नागरिक उन्मुक्ति पार्टीबाट ३ जनामध्ये एक जना महिला निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)बाट १०, लोसपाबाट ४, नेमकिपा र राष्ट्रिय जनमोर्चाबाट एकएक जना निर्वाचित हुँदा कोही महिला परेनन् । यस्तै स्वतन्त्रबाट निर्वाचित ५ जनामध्ये पनि महिला कोही परेनन् ।

कुन दलबाट को महिला भए निर्वाचित ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर