नेता केसीको ‘अर्थपूर्ण घरदैलो’- सभामुख बनेर सक्रिय राजनीति टुंग्याउने चाहना – Nepal Press

नेता केसीको ‘अर्थपूर्ण घरदैलो’- सभामुख बनेर सक्रिय राजनीति टुंग्याउने चाहना

कांग्रेस नेता केसी भन्छन्- पार्टी र गठबन्धनले भन्यो भने अहिलेको संसदमा सबैलाई संयोजन गर्ने क्षमता राख्छु

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीको ४० वर्षदेखिको संसदीय राजनीतिको सम्भवतः यो अन्तिम चुनाव थियो । गठबन्धनको उम्मेदवार बनेर नुवाकोट २ बाट चुनाव जितेका केसीले यसबीचमा सत्ता गठबन्धनका शीर्ष नेतामात्र भेटेनन्,एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत अर्थपूर्ण भेटवार्ता गरे ।

नुवाकोटबाट चुनाव जितेर फर्केपछि ओलीबाट शीर्ष भेटवार्ता शुरु गरेका केसीले प्रचण्ड, माधव नेपाल हुँदै बुधवार आफ्नै पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवासँग लामो भेटवार्ता गरेका थिए । केसीको यो भेटवार्ता र दौडाहा बधाइ साटासाटमा मात्र सिमित भने छैन ।

केसीले शीर्ष नेताहरुसँगको भेटमा आफ्नो संसदीय राजनीतिको यो अन्तिम कार्यकाल रहेकाले अनुभव,क्षमता र व्यक्तित्व व्यवस्थापन होस् भन्ने चाहना व्यक्त गरेका छन् । गठबन्धनबाट सभामुखको साझा उम्मेदवार बन्ने केसीको चाहना रहेको कांग्रेस स्रोतले जनाएको छ ।

पार्टीभित्र आफ्नो पक्षमा वातावरण बनाउन केसीले देउवापछिका नेताहरुसँग पनि एक्ला एक्लै छलफल गरिरहेका छन् । केसी २०३८ सालमा राष्ट्रिय पञ्चायतको सदस्य जितेर संसदीय राजनीतिमा होमिएका थिए । २०४३ सालमा रापंस हारेपछि जिल्ला पन्चायतको सभापति बनेका केसी,वहुदलपछि कांग्रेसबाट सांसद बने ।

२०४८ र २०५१ मा चुनाव जितेका केसी २०५६ र २०६४ मा भने पराजित भए । २०७० मा पुनः चुनाव जितेर २०७४ मा पराजित भएका उनको यो चुनाव भने अन्तिम हो । उमेरले पनि उनी कांग्रेसका जेष्ठ सदस्यमै पर्छन् । ७६ वर्षीय केसीले प्रधानमन्त्रीबाहेक प्रायः प्रभावशाली मन्त्रालय चलाइसकेकाले अब सभामुख चलाउने चाहना राखेको बताइएको छ ।

प्राध्यापन पेशाबाट राजनीतिमा लागेका केसी वाकपटुता भएका बौद्धिक नेता भएकाले उमेर,अनुभवका कारण पनि सभामुखका लागि योग्य भएको तर्क उनी निकटहरुको छ । यद्यपी सत्ता गठबन्धनको भागबण्डामा सभामुख कसको पर्ने भन्ने टुंगो छैन । तर सबै दलका शीर्ष नेताको समर्थन आफूले लिन खोजेको केसीले बताएका छन् ।

राजनीतिक जीवनको उत्तरार्धमा उच्च संवैधानिक तथा राजनीतिक पदमा पुग्ने केसीको लालसा पूरा हुने वा नहुने निश्चित छैन । तर पनि उनले अहिल देखाएको सक्रियता भने सभामुख पदकै लागि रहेको उनी निकट स्रोतले जनाएको छ ।

केसीले आफ्नो उच्चस्तरीय भेटघाट बधाइ आदान प्रदानको लागिमात्र सिमित नभएको स्वीकार गरे । केसीले नेपाल प्रेससँग कुरा गर्दै जनताले चुनावमार्फत व्यक्त गरेको असन्तुष्टि र राज्यका संवैधानिक संस्थाहरुको क्षयिकरणका सन्दर्भमा अब बन्ने सरकार गम्भीर होस् भनेर आफूले चिन्ताका साथ भेटघाट गरेको बताए ।

सभाखुको दावीबारे उनले भने–अहिलेको संसदभित्र सबैलाई संयोजन गर्ने योग्यता भएको पात्रको रुपमा गठबन्धन र पार्टीले सोच्यो भने म सभामुख पदको लागि तयार छु । तर अहिलेको भेटघाटमा मैले मलाई सभामुख बननाइदेऊ भनेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर