पाल्पामा शुक्रबारदेखि अन्तरव्यवस्थापिका भेला : प्रतिनिधिसभा, राष्ट्रियसभा र सबै प्रदेशका सभामुख, उपसभामुख सहभागी – Nepal Press

पाल्पामा शुक्रबारदेखि अन्तरव्यवस्थापिका भेला : प्रतिनिधिसभा, राष्ट्रियसभा र सबै प्रदेशका सभामुख, उपसभामुख सहभागी

रुपन्देही । प्रतिनिधिसभा र ७ वटै प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहितको अन्तर व्यवस्थापिका भेला शुक्रबारदेखि पाल्पाको तानसेनमा आयोजना गरिएको छ । यसका लागि अधिकांश सहभागीहरु बिहीबार नै तानसेन पुगेका छन् ।

लुम्बिनी प्रदेश सभाको आयोजनामा तानसेनमा आयोजना गरिएको अन्तर व्यवस्थापिका सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेसहित ७ वटै प्रदेशका सभामुख तथा उपसभामुखको सहभागिता रहने छ ।

भेलामा केन्द्र र प्रदेशलाई केन्द्रित गरेर संसदीय बजेट महाशाखा सम्बन्धी अवधारणापत्र प्रस्तुत, छलफल र अन्तरक्रिया, अन्तर व्यवस्थापिका कार्यविधि माथि छलफल, अन्तर व्यवस्थापिका मञ्च नेपाल गठन सम्बन्धी कानुन तथा विविध विषयमा छलफल केन्द्रित रहने आयोजक लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले जानकारी दिए ।

संघीयतालाई पूर्णरुपमा कार्यान्वयन गर्न र गराउन र यो अन्तर व्यवस्थापिका भेला महत्वपूर्ण हुने आयोजक लुम्बिनी प्रदेशसभाले जनाएको छ । शनिबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितको उपस्थितिमा ७ वटै प्रदेशका सभामुख तथा उपसभामुखहरूको सहभागितामा अन्तर व्यवस्थापिका सम्मेलन पाल्पा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनका अवसरमा पाल्पाका पर्यटकीय गन्तव्यहरू रानीमहल, पाल्पा दरबार र पाल्पा भैरवस्थानको अवलोकन गराउने तयारी गरिएको छ । कर्णाली प्रदेशमा विश्वासको मत लिने कार्यक्रम बिहीबार भएकाले त्यहाँबाट आउन ढिला भएको र अन्य सबै प्रदेशबाट सहभागिता रहने लुम्बिनी प्रदेशका सभामुखको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर