मधेशका जनताप्रतिको जिम्मेवारी भुलेको छैन: प्रधानमन्त्री प्रचण्ड – Nepal Press

मधेशका जनताप्रतिको जिम्मेवारी भुलेको छैन: प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सर्लाहीको निर्वाचन क्षेत्र ४ ले बलरामा शनिबार आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेशी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गरे ।

मिटरब्याज पीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उनले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेश प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मधेशका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए ।

तराईमा सिंचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै उनले भने, ‘मधेशको जमिनमा सिंचाइ नहुँदासम्म उत्पादकत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन । त्यसैले मधेशमा सिंचाइ गर्ने मेरो प्राथमिकता छ ।’

प्रधानमन्त्री दाहालले मधेशका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गरे ।

उनले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘आगलागी पीडितलाई राहत उपलब्ध हुन्छ । देशभर आगलागीबाट ठूलो क्षति भएको छ ।’

उनले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि ५० हजार रुपैयाँ प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराए । प्रधानमन्त्री दाहालले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका सयौं नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।

यसअघि उनले सर्लाही जिल्लाको गडहिया-डुमरिया नगरपालिका बलरा-८ स्थित जनता नमुना माविको नवनिर्मित भवनको उद्घाटन गरेका थिए । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर