यूएई बाढीमा परेकी लीला अझै बेपत्ता, भेटिएको एक शवमा डीएनए परीक्षण गरिँदै – Nepal Press

यूएई बाढीमा परेकी लीला अझै बेपत्ता, भेटिएको एक शवमा डीएनए परीक्षण गरिँदै

युएई । संयुक्त अरब इमिरेट्स (युएई)मा एक महिना पहिले आएको बाढीमा परेर बेपत्ता लीला पाण्डेको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । तुलसीपुर उपमहानगरपालिका– १ भमके, दाङकी ३७ वर्षीया पाण्डे चार छोरीकी आमा हुन । उनी छोरीहरुको लालन पालन र शिक्षा दीक्षासहित घरायसी आर्थिक अवस्था सुधार्न भन्दै २७ महिनाअघि युएई आएकी हुन ।

वैशाख ४ गते युएईमा झन्डै ७० वर्षपछि भारी वर्षा भयो । त्यही पानीका कारण आएको बाढीमा परेर बेपत्ता भएकी लीलाको अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।

कम्पनीका अनुसार कम्पनीको मजदुर क्याम्प अजमानमा थियो । सरसफाइ सम्बन्धी काम गर्दै आएको कम्पनीले आफ्ना कामदारलाई विभिन्न ठाउँबाट बसमा राखेर कम्पनीमा फर्किँदै थियो । भारी वर्षाका कारण सडक डुबानमा थियो ।

त्यही पानीमा बस डुब्यो । बसमा रहेका लीलासहित अर्को एक बङ्गलादेशी महिला त्यही ठाउँबाट बेपत्ता भए । उनीहरु दुईजनाकै अहिलेसम्म कुनै टुङ्गो नलागेको कम्पनीले बताउने गरेको नेपाली दूतावास आबुधावीको भनाइ छ ।

लीलाको खोजीका लागि युएईको आबुधावीमा रहेको नेपाली दूतावासका प्रतिनिधि धेरै पटक यहाँका स्थानीय प्रशासन, अस्पताल, कम्पनीका क्याम्पसम्म नपुगेका पनि होइनन् । तर लीलाको कुनै टुङ्गो लाग्न सकेको छैन ।

महिना दिनदेखि आमा बेपत्ता भएको खबरले ४ वटै छोरीका आँखा ओभाएका छैनन् । जेठी र माइली छोरीहरूको विवाह भइसकेको छ । १४ वर्षीया साइँली छोरी लक्ष्मी र १२ वर्षीया कान्छी देवीलाई ठूली दिदी धनी र भिनाजु विराट शाहले आफुहरुसँगै राखिरहेका छन् ।

दुवै दिदीबहिनी तुलसीपुरको सामुदायिक विद्यालयमा कक्षा १० र ८ मा अध्ययनरत छन् । उनीहरु आमाको खोजीका लागि दिदी भिनाजुसँग नेपालका विभिन्न निकायमा धाइरहेका छन् ।

भेटिएको एउटा शवको डीएनए परीक्षणबाट पहिचान गरिँदै

बाढीका कारण नेपाली नागरिक हराएको बारे आबुधावीमा रहेको नेपाली दूतावासले युएईका विभिन्न निकायमा खोजी गरिदिन आग्रह गर्‍यो । नेपाली दूतावास आबुधावीका श्रम काउन्सिलर दिनबन्धु सुवेदी बेपत्ता भनिएकी लीलाको खोजीमा धेरै निकाय धाए ।

दूतावासले यहाँको माथिल्लो निकायमा समेत पत्राचार गरेर खोजी प्रयास गरेपछि एक जना महिलाको शब फेला परेको र त्यो शशको पहिचान नभएको जानकारी दूतावासलाई आयो । त्यो भेटिएको शश देखेर पहिचान गर्न सम्भव नभएको श्रम काउन्सीलर सुवेदीको भनाइ छ ।

आबुधावीमा रहेको नेपाली दूतावासले वैशाख २५ गते परराष्ट्र मन्त्रालयमा पत्र पठाएर एक जना महिलाको शव फेला परेको तर पहिचान नभएको जानकारी गराएको हो । त्यसपछि परिवारले नाताले ठूला ज्वाँई विराटका साढु पर्ने टिकाराम न्यौपाने युएईमा भएकाले पहिचान गर्न सकिन्छ कि भनेर प्रयास गर्यो ।

उनै टीकारामले पहिचानका लागि शव हेर्न खोजे । तर त्यहाँको प्रशासनले नाता प्रमाण खोजेपछि टीकारामले मृतकको शव हेर्न र पहिचान गर्न नपाएको सामाजिक अभियान्ता कृष्ण खतिवडाले बताए । पहिचान गर्न नसक्दा शवको पहिचान डीएनए परीक्षण गर्ने भनेर सम्बन्धको (पहिलो डिग्री– आफ्नै रगतको सम्बन्ध) युएई ल्याउन युएईले भन्यो ।

१० वर्षीया लक्ष्मी र १२ वर्षीया देवी एक्लै युएई आउन सकेनन् । घर छाडेर टाढा नगएका र आमा जायजेथा बेचेर विदेश गएकोले उनीहरुसँग पैसा पनि छैन । यस्तो अवस्थामा दिदी बहिनी एक्लै युएई आउन सक्ने कुरै भएन ।

ठूली छोरी ज्वाँईले घरको आर्थिक अवस्था कमजोर र एक्लै सानी बहिनीहरुलाई डीएनए परीक्षणका लागि पठाउन नसक्ने जानकारी परराष्ट्र मन्त्रालयलाई गराए । परराष्ट्रले आबुधावीमा रहेको नेपाली दूतावासलाई त्यही जानकारी दियो । दूतावासले यहाँका निकायसँग कुरा गरेर नेपालमै गरेको डीएनए परीक्षण रिपोर्ट पनि मान्य हुने जानकारी परराष्ट्रलाई गराएको छ ।

सोहीअनुसार नेपालमै गरेको डीएनए परीक्षणको रिपोर्ट पनि मान्य हुने व्यहोराको पत्रका आधारमा उनीहरूले बुधवार नेपाल प्रहरीको मुख्यालयमा डीएनए परीक्षणका लागि नमूना बुझाएका छन् ।

डीएनए परीक्षणको रिपोर्ट तयार भएपछि त्यो रिपोर्ट युएई ल्याएर म्याचिङ गरेपछि मात्रै फेला परेको शव लीला पाण्डेको हो, होइन भनेर पहिचानको प्रयासमा रहेको नेपाली दूतावास आबुधावीले जनाएको छ ।

बुबाको केही वर्ष पहिले नै मृत्यु भइसकेकोले ‘आमा हामी दुई बहिनीलाई पढाउन भनेरै विदेश जानु भएको थियो’, लक्ष्मीले भनिन् ‘हामीलाई सधैँ राम्रोसँग पढ्नू, राम्रो बाटोमा लाग्नु भनेर फोनमा सम्झाइ रहनुहुन्थ्यो ।’

वैशाख ४ गते छोरीहरुले आमासँग फेसबुक म्यासेन्जरमा कुराकानी गरेका थिए । त्यो दिन आमाले ठूलो पानी परिरहेको हुँदा आज कम्पनीमा फर्काउँदैन कि भनेको लक्ष्मीले सुनाइन । त्यसपछि लीला न कम्पनीको कोठामा पुगिन् न कहिल्यै हरियो बत्ती बालेर अनलाईन नै आइनन् ।

आम युएईको बाढीमा बेपत्ता भएपछि जेठी छोरी धनीसरा माथि ठूलो जिम्मेवारी थपिएको छ । दुई बहिनीको अभिभावकत्व लिइरहेकी उनले आमाको सास वा लाश भए पनि खोजीरहेकी छन् ।

आमाको सास र लाशको टुंगो नलाग्दा शोकाकुल बनेका बहिनीहरूलाई सम्झाइ–बुझाइ कसरी गर्ने धनीसरा विचलित छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *