जसपा नेपालको निष्कर्ष- प्रचण्डले सरकार टिकाउन हाम्रो पार्टी फुटाए, समाजवादी मोर्चाको औचित्य छैन – Nepal Press

जसपा नेपालको निष्कर्ष- प्रचण्डले सरकार टिकाउन हाम्रो पार्टी फुटाए, समाजवादी मोर्चाको औचित्य छैन

विभाजनको पक्षमा उभिएकाहरूको भण्डाफोर गर्ने, पार्टीको साधारण सदस्य नरहने गरी हटायो

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार टिकाउनकै लागि आफ्नो पार्टी फुटाएको निष्कर्ष निकालेको छ।

मङ्गलवार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विभाजन गर्नेहरूको तल्लो तहसम्म भण्डाफोर गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले बताए।

उनले पार्टी विभाजनको पक्षमा गर्ने ७ सांसदसहित साथ दिने सबैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको बताए। बैठकमा बोल्ने ७० जनाभन्दा धेरै नेताहरूले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले नै पार्टी फुटाएको धारणा राखेको सुनाए।

उनले भने- ७० जना साथीहरूले बोल्नुभयो सबैले साथीहरूले फुटको कारण प्रचण्डजीले आफैँ स्वीकार्नुभयो। मैले नै फुटाउनुभएको हो भन्नुभएकोप्रति निन्दा प्रकट गर्नुभयो। बोल्नेले त ओली र प्रचण्डसहित सबैको नाम लिएका छन् तर, प्रचण्डको जस्तो अरुको पुष्टि भएको छैन। तर, प्रचण्डजीले त सिन्धुली पुगेर आफैँ स्वीकार्नुभएको छ।

उनले चार दल सम्मिलित समाजवादी मोर्चाको अब कुनै औचित्य नभएको बताए।

प्रवक्ता सुमनले थपे- अहिले निष्क्रिय छ, केही समयअघि राष्ट्रियसभा गृहमा एउटा कार्यक्रम भएको थियो, त्योपछि कुनै औचित्य छैन। मोर्चामा बस्ने बस्नेहरूले नै एकले अर्काविरुद्ध प्रयोग गर्ने भएपछि त्यसको कुनै अर्थ छैन।

यस्तै, बैठकले पार्टी विभाजन भए पनि महाधिवेशनको प्रक्रिया नरोक्ने निर्णय भएको बताए।

उनले भने- हामीले १० गतेभित्र देशभरिबाट हजारौँ महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्नेछ। केही साथीहरुले पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराउनुभएको विधान संशोधन, सम्बन्धी प्रस्ताव महाधिवेशनमा प्रस्तुत गर्नको लागि अनुमोदन गरेका छौँ।

जसपाको महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म हुँदैछ। पार्टी महाधिवेशनतर्फ अग्रसर भइरहेको बेलामा गत साता असोश राई नेतृत्वमा जसपा नेपाल विभाजित भएर जसपा गठन भएको छ।

पार्टी विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध उपेन्द्र यादव अदालतसमेत गएका छन्। त्यसको आज सुनुवाइ भइरहेको छ। तर, नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्न खोजेपछि अशोकलाई उपयोग गरेर जसपा नेपाल विभाजन गराइएको आरोप छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर