उपेन्द्र देखाएर बार्गेनिङ नगर्न माधवलाई जसपा नेताको चेतावनी,राष्ट्रिय पार्टी नभएकाले प्रधानमन्त्री दावी गर्ने ? – Nepal Press

उपेन्द्र देखाएर बार्गेनिङ नगर्न माधवलाई जसपा नेताको चेतावनी,राष्ट्रिय पार्टी नभएकाले प्रधानमन्त्री दावी गर्ने ?

‘वैकल्पिक गठबन्धन’ र माधव नेपाललाई प्रधानमन्त्री बनाउन जसपा अनिच्छुक,नेताहरू भन्छन्- माधवजीको भन्दा हाम्रो पार्टी ठूलो छ, हामी उहाँका पुच्छर होइनाैं

काठमाडौं । सत्ता साझेदार दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको असन्तुष्टि र अहिलेको समिकरणप्रतिको विमति सतहमै प्रकट भइरहेको छ । नेपाल वैकल्पिक गठबन्धनको प्रयासमा कांग्रेससँगको संवादमै छन् । उनले आफूले एमाले र माओवादीको साथ छाडेका दिन जसपाले पनि यो समिकरण छाड्ने र अहिलेको सरकार ढल्ने दावी गरिरहेका बेला जसपाको धारणा भने अहिलेसम्म आएको छैन ।

के जसपा माधव नेपालकै कारणमात्र अहिलेको सत्ता समीकरणमा रहेको हो ? जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिकमा छन्,तर नेताहरु भने नेकपा एसभन्दा जसपा ठूलो र राष्ट्रिय पार्टी भएकाले माधव नेपालको पछि लाग्ने सम्भव नभएको बताइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि बाध्य भएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एमालेसँग सहकार्य गर्न आइपुगे पनि केपी ओलीसँगको तिक्तता अझै हट्न सकेको छैन । उनले सत्ता समीकरण भत्काइदिने चेतावनीमात्र दिएका छैनन्,आफू अपमान सहन नजन्मिएको भन्दै प्रधानमन्त्रीको ग्यारेन्टी मागिरहेका छन् ।

एमालेप्रति माधव नेपालको आक्रोश मत्थर भएको छैन । उनी एमालेसहितको गठबन्धनबाट आफूले आलोपालो प्रधानमन्त्री पाउने सम्भावना नदेखेकै कारण खुलेरै ओलीको आलोचनामा उत्रिएका छन् ।

एउटै गठबन्धनमा भए पनि अहिले उनीहरुले एकअर्काप्रति आरोप-प्रत्यारोप र छेडखानी गर्न छाडेका छैनन् । हिजोमात्रै रसुवा पुगेका ओलीले माधव नेपाल प्रधानमन्त्री खान नपाएर दमको बिरामी जस्तो हर्‍याकहर्‍याक गरिरहेको टिप्पणी गरे ।

ओलीले भने, ‘अहिले पनि तपाईंहरुले देखिराख्नु भएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्‍या छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ ।’

यो अभिव्यक्ति ओलीले त्यसै दिएका होइनन्, अध्यक्ष नेपालले ओलीलाई लक्षित गर्दै आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्न थालेको टिप्पणी गरेका थिए । नेपालले उनीहरुलाई भतभति पोलिरहेको छ र पोलोस् पनि भन्दै त्यस्ता व्यक्तिलाई धिक्कार भन्न चाहान्छु भनेर ओलीको आलोचना गरेका थिए । ओलीले  त्यसको जवाफ फर्काएका हुन् ।

गत सोमबार माधवले भनेका थिए, ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ, म भन्न चाहन्छु।’

नयाँ समीकरणमा आफू बेचैन रहेको बताउँदै आएका नेपालको यो शक्ति भनेको कांग्रेसले देखाएको वैकल्पिक गठबन्धन हो । फागुन २१ गते प्रचण्डले गठबन्धन तोडेपछि कांग्रेसले नेपाललाई वैकल्पिक गठबन्धनको आश्वासन दिइरहेको छ ।

प्रतिनिधिसभामा १० सीट रहेका माधव नेपाल ओलीसँग दूरी बढाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन् । नयाँ गठबन्धन बने कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४-४ जोड्दा १३८ सांसद पुग्नेछन् । यो सरकार गठनको लागि आवश्यक संख्या हो ।

तर, यो समीकरणबाट माधव नेपाललाई प्रधानमन्त्री बनाउन जसपाको भूमिका निर्णायक रहन्छ । जसपा अध्यक्ष उपेन्द्र यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् ।

एमाले नेतृत्वमा नयाँ समीकरण बन्ने बेलामा पनि उपेन्द्रमाथि प्रचण्ड र ओलीको गठबन्धनमा सहभागी नहुन पार्टीभित्र र बाहिरबाट दबाब बढेको थियो ।

नयाँ समीकरणमा माधव नेपाल सहभागी भएपछि मात्रै उपेन्द्रले पार्टीको तर्फबाट सरकारमा मन्त्री पठाएका थिए । नयाँ मन्त्रीहरुको शपथग्रहणअघि उपेन्द्रले माधव नेपाललाई घरमै गएर भेटेका पनि थिए । त्यसबेला उपेन्द्रले माधव नेपाल सरकारमा गए मात्रै आफू जाने भन्दै सुझाव नलिएका होइनन् ।

सम्मानित नेता झलनाथ खनालसहित पार्टीका अधिकांश नेताहरु अहिलेको गठबन्धनको पक्षमा उभिएपछि बाध्य भएर माधव यो समीकरणमा सहभागी भएका थिए ।

के भन्छन् जसपा नेता ?

पछिल्लो समय नेकपा एसले संघ, प्रदेश सरकार गठनदेखि राजनीतिक नियुक्तिमा बार्गेनिङ कस्दै असन्तुष्टि पोखे पनि आफ्नो पार्टीको कुनै असन्तुष्टि नरहेको जसपा प्रवक्ता मनिष सुमनले बताए ।

उनले भने, ‘यो समीकरणप्रति हाम्रो कुनै असन्तुष्टि छैन । हामीले अहिले यो गठबन्धनको विकल्प सोचेका छैनौं । अर्को निर्वाचनसम्म यही गठबन्धन रहिरहनुपर्छ भन्ने पक्षमा हामी दृढ छौं ।’

तर, माधव नेपालले गठबन्धनभित्र दबाब राख्न जसपा आफ्नो साथमा रहेको सन्देश दिन खोजिराख्नु भएको छ नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘हामी सत्ता गठबन्धनको प्रत्येक घटकको साथमा छौं । हामी सुशासनको साथमा छौं, संविधान संशोधनको पक्षमा छौं । मुद्दा मिलेसम्म हामी राजनीतिक दलहरुको साथमा रहन्छौं । तर, मुद्दा नै परिवर्तन भयो भने सँगै रहँदैनौं ।’

उनले माधव नेपालको असन्तुष्टिको कारण जसपालाई थाहा नहुने जिकिर गरे ।

कांग्रेसको वैकल्पिक गठबन्धनबाट माधव नेपाललाई प्रधानमन्त्रीको अफर गर्दा जसपा नै निर्णायक हुने अवस्थामा देखिएको छ । त्यो परिस्थितिमा जसपाले के गर्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘अहिले हामी यही समीकरणमा छौं । अहिले अर्को गठबन्धन बनाउने पक्षमा छैनौं, त्यो अभ्यास गर्दैनौं पनि । सोचिएको पनि छैन । अहिलेको सरकारले पाएको विश्वासको मत सुरक्षित छ ।’

जसपाका सांसद प्रदीप यादव पनि आफूहरु यही गठबन्धनको पक्षमा रहेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘माधव नेपालले गठबन्धन दलभित्र आपसी छलफलमा राख्नुपर्ने कुरा बाहिर राख्दै आउनुभएको छ । सहकार्य थालिसकेपछि कुनै कुरामा विमति छ भने समझदारी गर्नुपर्छ । नत्र गठबन्धन गर्नुभन्दा अगाडि सोच्नुपर्छ । गठबन्धनमा सहभागी हुनुअघि नै उहाँहरुले योबारेमा सोच्नुपर्ने हो ।’

कांग्रेसले वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्रीको अफर गरेपछि जसपा पनि आफ्नो साथमा रहेको सन्देश दिन खोजिराख्नुभएको छ नि भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘जसपा माधव नेपालजीको पार्टीको भ्रातृ संगठन होइन । उहाँको भन्दा ठूलो दल हो । उहाँको १० सीट भए पनि राष्ट्रिय दल होइन, हामी प्रतिनिधिसभामा १२ सीट भएको राष्ट्रिय दल हौं ।’

उनले देशभरको संख्या हेर्ने हो भने पनि नेकपा एसभन्दा जसपा ठूलो भएको जिकिर गरे ।

नेता यादवले थपे, ‘उहाँ (माधव)को पार्टीको डिसिजन उहाँले गर्ने हो, के गर्ने के नगर्ने भन्ने । हाम्रो पार्टीको निर्णय हामी गर्छौं । हामी उहाँको पुच्छर होइनौं, उहाँले जहाँ भन्नुहुन्छ त्यही गइहाल्ने ।’

माधव नेपालले अहिलेको गठबन्धन छाडेर कांग्रेसको प्रस्तावअनुसार वैकल्पिक कोर्समा गए पनि आफ्नो पार्टीले समर्थन नगर्ने उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर