कमजोर बनेपछि उपेन्द्र यादवले मागे महन्थ ठाकुरसँग आशीर्वाद – Nepal Press

कमजोर बनेपछि उपेन्द्र यादवले मागे महन्थ ठाकुरसँग आशीर्वाद

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्त ठाकुरसँग भेटेरै आशीर्वाद मागेका छन् ।

उप-प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीबाट राजीनामा दिनुअघि यादवले भेट्नका लागि लोसपा अध्यक्ष ठाकुर निवास पुगेका थिए । सो क्रममा यादवले सहयोग माग्दै ठाकुरलाई भने, ‘मलाई कमजोर पार्ने खेल भयो । अब तपाईँको आशीर्वाद चाहिन्छ ।’

जसपा नेपाल विभाजन भएपछि अध्यक्ष यादव लामो समयपछि लोसपा अध्यक्ष ठाकुरलाई भेट्न पुगेका थिए । उनले मधेश प्रदेश सरकार बचाइदिन समेत आग्रह गरेको बुझिएको छ ।

लोसपा सत्ता गठबन्धनमा छैन । गठबन्धनकै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा परेका छन् ।

यादव उप(प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री थिए । पार्टी विभाजनपछि उनलाई राजीनामा दिनुपरेको छ । सरकारबाट समर्थन फिर्ता लिने पनि तयारी गरेका छन् । यसरी संकटमा परेपछि उनले लोसपा अध्यक्ष ठाकुरको सहयोग खोजेका छन् ।

लोसपाका महासचिव डा. सुरेन्द्र झाले नेपाल प्रेससँग भने, ‘उपेन्द्र जी हाम्रो अध्यक्ष जीको निवासमै आएर भेट्नुभएको छ । उहाँले हामीमाथि चौतर्फी प्रहार भयो । कमजोर पार्न खोजियो । अब फेरी तपाईँको आशीर्वाद चाहियो भनेर सहयोग माग्नुभयो ।’

‘सहयोग मागेपछि हाम्रो अध्यक्ष जीले संवाद हुनुपर्छ । हामी सहयोग गर्न तयार छौँ भन्नुभयो,’ महासचिव डा. झाले भने, ‘मधेश प्रदेशको सवालमा जीतेन्द्र सोनललाई जिम्मा दिएका छौँ । उहाँले नै निर्णय लिनुहुन्छ । उहाँसँगै छलफल गर्नुस् भनेर भन्नुभएको छ ।’

उनले मधेश प्रदेशमा सरकार बनाउने विषयमा सबैसँग छलफल गर्न सकिने बताए । उनले भने, ‘छलफलका लागि खुल्ला छौँ । तर हाम्रो चाहना छ मधेशी दलकै योग्य तथा सक्षम व्यक्तिले नेतृत्व गर्न पाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर