आर्थिक विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : माधव नेपाल – Nepal Press

आर्थिक विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीतिका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । उनले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने सम्भावना रहेको उल्लेख गर्दै सोह्रौँ योजनामा कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

वनजन्य तथा खनिजजन्य उद्योग स्थापना गर्नुपर्ने भन्दै यसका लागि नीतिगत त्रुटि हटाउनुपर्ने उनले बताए । उनले जलविद्युत् र पर्यटन क्षेत्रले विकासबाट मुलुकमा महत्वपूर्ण टेवा मिल्ने भन्दै उक्त क्षेत्रमा सरकारले पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

त्यस्तै, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले परम्परागत ढंगले नभई परिवर्तित अवस्थालाई मध्यनजर गर्दै योजनालाई अन्तिम रुप दिनुपर्ने सुझाव दिए ।

प्रदेशलाई स्रोत र साधनबाट सबल नबनाइ मुलुकको समृद्धि हुन नसक्ने उनले बताए । उनले मुलुकको विकासका लागि योजनाबद्ध विकास अवधारणा अघि बढाइनुपर्नेमा जोड दिए ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आयोगको पुनःसंरचना गरेर कानूनीरुपमा थप सलब बनाएर जानुपर्ने धारणा राखे । आयोगलाई सबल बनाउन सकेको खण्डमा मात्र १६औँ योजनाका रणनीति र कार्यानीति कार्यान्वयनका लागि सहज हुने उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न दलका नेता, सांसद र सरोकारवालाहरुलाई सोह्रौँ योजनाका विषयमा छलफल गर्न बोलाइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर