कांग्रेस र रास्वपाबीच किन बढ्याे टकराव ? – Nepal Press

कांग्रेस र रास्वपाबीच किन बढ्याे टकराव ?

महामन्त्री मुकुल ढकालको जिकिर- कांग्रेसले आफ्नो अस्तित्व रक्षा गर्न रास्वपालाई बदनाम गराउन खोज्दैछ

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कुनै समय लाग्ने आरोप थियो- ‘भाइ कांग्रेस’ । तर, अहिले परिस्थिति फेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमाले अध्यक्ष केपी ओलीसँग काँध मिलाएपछि कांग्रेसले रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निशाना बनाएको देखिन्छ ।

गृहमन्त्रीलाई सहकारी प्रकरणमा जोडेर कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदनदेखि सडकसम्म उछालेको छ । सत्ताको अंकगणितको कारणले रविलाई प्रधानमन्त्री प्रचण्ड र ओलीको बलियो साथ छ ।

यद्यपि, कांग्रेस गल्ने मूडमा छैन । गृहमन्त्रीको विषय उठाएर सत्ता समीकरणमा अप्ठ्यारो पारेर वैकल्पिक गठबन्धनसम्मको रणनीतिमा कांग्रेस छ । रास्वपा उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, मनिष झा, तोसिमा कार्की, अरनिको पाण्डेसहित शीर्ष तहमा पुगेका नेता कांग्रेस पृष्ठभूमिका छन् । तर, पछिल्लो कांग्रेसले लामिछानेलाई निशाना बनाएपछि त्यसको प्रतिवादमा तीनै नेताहरू खनिएका छन् ।

कांग्रेस अहिले विकृत, भ्रष्ट, निकम्मा समूहको कब्जामा रहेको रास्वपा उपसभापति वाग्लेको आरोप छ ।

गत वैशाखको उपनिर्वाचनमा कांग्रेस छाडेर तनहुँ २ बाट निर्वाचित वाग्लेले बुधबार इलाम पुगेर भनेका थिए, ‘म पनि बीपी कोइरालाको अनुयायी हुँ । आजका दिनमा पनि मेरा राजनीतिको रोल मोडल उहाँ नै हुनुहुन्छ । तर, कांग्रेस ८० प्रतिशत विकृत, भ्रष्ट, निकम्मा समूहले चलाएको छ ।’

सभापति रवि लामिछानेले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गर्दा अस्वीकार गरेपछि आक्रमण थालेको जिकिर गरेका छन् ।

बुधबार इलामको चुनावी सभामा उनले भने, ‘डेढ वर्षको लागि तिमीलाई प्रधानमन्त्री बनाउँछु भनेका थिए, म आज पहिलो पटक सार्वजनिक ठाउँमा भनिरहेको छु, मसँग प्रमाणमात्रै होइन, लिखित कन्ट्रयाक साइन गर्नको लागि उनीहरूले दिएका थिए । जब मैले त्यो प्रस्ताव अस्वीकार गरेँ, त्यसपछि संसदमा हंगामा भयो । प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर त्यहाँबाट सुरू गरे ।’

यतातिर संसदबाट दबाब दिने अर्कोतिर आफूलाई प्रधानमन्त्रीको लागि फकाउने दोहोरो चरित्र निरन्तर गरिरहेकै कारणले आफू समितिको पक्षमा नउभिएको जिकिर गरे ।

लामिछानेको भनाइ थियो, ‘म प्रमाणित नभएको कुरा गर्दिनँ, प्रधानमन्त्रीको जवाफपछि मैले उनको अफर अस्वीकार गरेपछि संसदीय छानबिन समितिको कुरा गरे । दिउँसो संसदमा नांगो नाच देखाए बेलुका डेढ वर्ष प्रधानमन्त्रीको अफरलाई साइन गर भनेर टेबलमा राखे । त्यसकारण मैले स्वीकार नगरेको हो । नत्र म हरेक आरोपमा छानबिनसँग डराउने मान्छे होइन ।’

उनले कांग्रेसले अनैतिक राजनीति गरेको भन्दै आफू कहिल्यै शिर नझुकाउने बताए ।

तर, प्रचण्डले ओलीसँग काँध जोडेपछि रविसहित नेकपा एसका अध्यक्ष माधव नेपाललाई सम्म प्रधानमन्त्रीको अफर गरेको कांग्रेस अहिले त्यो कुरा स्वीकार्न तयार छैन । कांग्रेस सांसद रामहरि खतिवडाले आफूले लामिछानेलाई प्रधानमन्त्री अफर नै नगरेको दाबी गरे ।

उनले भने, ‘यो कुरा प्रष्ट छ, गृहमन्त्री चाहियो भनेर रोइरोइ बसेको मान्छे प्रधानमन्त्रीको अफर गरेको भए खाँदैनथ्यो । नचाहिँदो कुरा गरेर जनतामा भ्रम छर्ने ? उहाँहरू सबै कुरा सार्वजनिक गरिहाल्नुहुन्छ । तर, त्यो गरेको भए उहाँहरूले अहिलेसम्म बाहिर ल्याइसक्नुहुन्थ्यो, त्यस्तो भए सार्वजनिक गरिदिनुस् न हामी चाहन्छौं ।’

सरकारले समिति नबनाएसम्म सदन चल्न नदिने अडान आफूहरुको यथावत् रहेको सुनाए । कांग्रेस प्रतिपक्षमा पुग्यो भनेर नआत्तिएको जिकिर गर्दै विपक्षमै रहेको जनताको कुरा उठाउने बताए । त्यसो त रविसहित रास्वपा नेता मात्रै नभइ प्रधानमन्त्री प्रचण्ड र ओलीले पनि प्रधानमन्त्रीको अफर अस्वीकार गरेकै कारण कांग्रेस खनिएको दाबी गर्दै आइरहेका छन् ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको भन्दै आफूले दोषी करार नगरेको बताए ।

उनले मंगलबार इलाम पुगेर भनेका थिए, ‘गृहमन्त्रीलाई सहकारी ठगीको दोषी नै हो भन्दिनँ, यति भन्छौँ तपाईँको विषयमा उठेका प्रश्नको गम्भीर छानबिन हुनुपर्छ। ढाकाराम श्रेष्ठले दुर्गा प्रसाईँसँग दुई करोड मागे रे कुनै प्रमाण थिएन, कुनै डकुमेन्ट थिएन, उनलाई सांसद पदबाट बर्खास्त गर्न लेखेर दिए । ए कस्तो लोकतन्त्र ? कस्तो न्याय ? सांसदलाई आरोपमात्रै लाग्दा उसको पद बर्खास्त गर्नुपर्ने, अनि सभापतिको सन्दर्भमा दर्जनौँ प्रमाण हुँदै गर्दा छानबिन गर्नुपर्दैन भन्ने यो कस्तो लोकतान्त्रिक पद्धति हो ?’

शर्मा मात्रै होइन अर्का महामन्त्री गगन थापासँग त रवि लामिछानेको चर्को टकराव बढेको छ ।

‘कांग्रेस अस्तित्व रक्षामा छ’

तर, रास्वपा महामन्त्री मुकुल ढकाल कांग्रेसले आफ्नो प्रतिस्पर्धी रास्वपालाई देखेर बदनाम गराउन लागिपरेको जिकिर गरे ।

उनले भने, ‘कांग्रेस सीट संख्याको आधारमा पहिलो ठूलो शक्ति हो हामी चौथौ हौं । दोस्रो र तेस्रो उहाँहरु वामपन्थी विचारधारको हुनुभयो । हामीले लोकतान्त्रिक विचार धाराका भयौं । पछिल्लो समय कांग्रेसले आफ्नो प्रतिस्पर्धीको रूपमा हामीलाई देखेको कारणले अहिले न्वारानदेखिको बल लगाएर हामीलाई बदनाम गर्न लागिपरेको छ ।’

कांग्रेसले अस्तित्व रक्षाको परिस्थितिबाट गुज्रिरहेको उनको दाबी छ ।

ढकालले थपे, ‘यो भन्दा अगाडि नेकपा हुँदाखेरी पनि लोकतान्त्रिक विचारधाराको कुनै शक्ति थिएन । त्यतिबेलामा आकार सानो भएपनि अस्तित्व थियो । तर, अहिले अस्तित्व रक्षाको कारणले पनि हामीविरुद्ध लाग्नुभएको छ । तर, अहिले त संसदीय अंकगणितमा त हामीभन्दा ठूलो हुनुहुन्छ, त्यही भएर लोकतान्त्रिक स्पेसको लागि उहाँहरुले आफ्नो लडाइँ गरिराख्नुभएको छ ।’

उनले अबको दिनमा लोकतान्त्रिक शक्ति रास्वपामात्रै हौं भन्ने प्रमाणित हुने बताए ।

ढकालले थपे, ‘अहिले उहाँहरूले मुख्य प्रतिस्पर्धा नभइ कांग्रेस पार्टीको अस्तित्व नै संकटमा परेको हुनाले रक्षाको लागि अन्तिम प्रयास गरिराख्नुभएको छ ।’

विश्लेषकको तर्क- सैद्धान्तिक आधार छैन

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल बहुदलीय पद्धतिमा राजनीतिक दलहरुबीच सकारात्मक र नकारात्मक दुवै सम्बन्ध हुनेलाई स्वभाविक ठान्छन् ।

उनले भने, ‘कांग्रेस अहिले प्रमुख प्रतिपक्ष दल हो, स्वाभाविकरूपमा सरकार रहेकाको सानातिना मुद्दा भेट्यो भने उठाइहाल्छ । उसले मात्रै होइन अरुले पनि उठाइरहेकै हुन् ।’

कांग्रेसको विकल्पमा रास्वपा लोकतान्त्रिक शक्तिको रूपमा स्थापित हुने आधार भने तय भइनसकेको उनको बुझाइ छ ।

उनले थपे, ‘लोकतान्त्रिक प्रणालीमा एउटाको विकल्प अर्को हुनु नराम्रो कुरा होइन । अहिले नेपालमा लोकतान्त्रिक शक्तिको कुनै पनि विकल्प छैन नेपाली कांग्रेसको, सबै कम्युनिष्टहरू छन्, कम्युनिष्टको विकल्प कम्युनिष्टहरू नै भइरहेका छन् । तर, लोकतान्त्रिक पार्टीको विकल्प लोकतान्त्रिक पार्टी नै भन्दा लोकतान्त्रिक पार्टी के कारणले यसको विकल्प खोज्नुपर्यो ती सबै हटाउनसक्ने क्षमता मसँग छ भनेर स्थापित गर्नसक्छ। त्यो भयो भने स्वभाविक रूपमा विकल्प भइहाल्छ ।’

अहिले कांग्रेसको विकल्पमा लोकतान्त्रिक शक्ति रास्वपा हुने सैद्धान्तिक आधार सभापति लामिछानेको व्यवहारबाट नदेखिएको उनले सुनाए ।

विश्लेषक दाहाल भन्छन्, ‘रविजी गृहमन्त्री हुनुहुन्छ उहाँमाथि त्यतिधेरै प्रश्न उठेका छन् । त्यसमा केही जवाफ त दिनुपर्‍यो नि ! उहाँ विपक्षमा हुँदा चर्को कुरा गर्नुहुन्थ्यो अहिले किन कामिरहनुभएको छ । पहिला आफ्नो कुरा भन्नुपर्‍यो नि ! म तयार छु पहिला छानबिन गर म कुनै प्रभाव पार्दिनँ भनेर भन्ने आँट गर्नसक्नुपर्‍यो । त्यो चाहिँ नगर्ने ? त्यसरी वैकल्पिक बन्न सकिँदैन ।’

विकल्प शक्ति हुन्छु भन्नेहरूले पुराना दलहरूबाट भएका कमीकमजोरीलाई देखाएर आफ्नाविरुद्ध आउने कुराहरूलाई ढाकछोप गर्न नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर