सात सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरसहित अशोक राईको निवेदन आयोगमा दर्ता – Nepal Press

सात सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरसहित अशोक राईको निवेदन आयोगमा दर्ता

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाटी (जसपा)बाट अलग्गिएर उक्त पार्टीका वरिष्ठ नेता अशोक राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार जनता समाजवादी पार्टी मात्रै नाम राखेर सात जना सांसद एवम ३० जना केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहित आयोगमा निवेदन दर्ता भएको हो ।

जसपाका नेतासमेत रहेका प्रतिनिधि सभा सदस्य विरेन्द्र महतोका अनुसार आइतबार निर्वाचन आयोगमा पुगेर सात जना सांसद र ३० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेर नयाँ दल दर्ताका लागि निवेदन पेश गरेको दाबी गरे ।

राजनीतिक दल दर्ता सम्बन्धी ऐन, २०७३ को दफा ३३ को उपदफा दुई अनुसार कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यसमेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको नमानिने उल्लेछ ।

जसपा नेपालसँग अहिले प्रतिनिधि सभामा १२ जना र राष्ट्रिय सभामा तीन जना सांसद रहेका छन् । जसमा प्रतिनिधि सभामा अशोककुमार राई, उपेन्द्र यादव, दीपक कार्की, नवलकिशोर शाह, प्रकाश अधिकारी, प्रदीप यादव, रन्जुकुमारी झा, राजकिशोर यादव, रेखा यादव, विरेन्द्रप्रसाद महतो, सुशीला श्रेष्ठ, हसीना खान गरेर १२ जना सांसद रहेका छन् । यस्तै राष्ट्रिय सभामा तीन जना सांसद रहेका छन् । जसमा पुजा चौधरी, मृगेन्द्रकुमारसिंह यादव र मोहम्मद खालिद रहेका छन् ।

जसपाका १५ सांसदमध्ये ६ जना सांसदसहित ४० प्रतिशत केन्द्रीय सदस्य मिलेर अर्को दल दर्ता गर्न पाउछन् । संघीय संसदको ४० प्रतिशत हिसाव गर्दा जसप मध्ये सात जना सांसद नयाँ दल दर्ता गर्नेगरी राईको पक्षमा निर्वाचन आयोगमा पुगेपछि उपेन्द्र यादवको पक्षमा भने ८ जना सांसद मात्रै देखिएका छन् ।

तर, जसपा नेपालको केन्द्रीय समिति भने ४०६ जनाको रहेको छ । सात जना सांसद पुर्याए पनि राई पक्षले अब उक्त पार्टीका १६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउनुपर्नेछ । त्यसपछि मात्रै निर्वाचन आयोगले नयाँ दल दर्ता भएको निर्णय गर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर