नार्कको ३३ औं वार्षिकोत्सवमा बाली उपचार शिविर तथा अन्तरक्रिया – Nepal Press

नार्कको ३३ औं वार्षिकोत्सवमा बाली उपचार शिविर तथा अन्तरक्रिया

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद‘नार्क’को ३३ औं वार्षिकोत्सवको अवसरमा पनौतीमा राष्ट्रिय कीट विज्ञान अनुसन्धान कार्यक्रम सञ्चालन गरेको छ । आइतबार पनौती नगरपालिकामा नार्कद्वारा एक दिने बाली उपचार शिविर तथा वैज्ञानिक र कृषकबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

राष्ट्रिय बाली रोग बिज्ञान अनुसन्धान केन्द्र खुमलटार एवम् पनौती नगरपालिकाको सहआयोजनामा गरिएको कार्यक्रममा ४० कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराले नार्कसँगको समन्वय र सहकार्यले किसानका विद्यमान समस्या समाधान गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गरिन् । उनले नार्कबाट उत्पादित उन्नत बीउबिजन गुणस्तरीय हुनेहुनाले सिफारिस गरिएका प्रविधि अपनाउन किसानलाई आग्रह पनि सेत गरिन् ।

त्यस्तै, नगरपालिकाका निर्देशक प्रणराज न्यौपानेले नार्कले विकास गरेका प्रविधि किसानस्तरमा पुर्याउन जरुरी रहेको बताए ।

कार्यक्रममा किसानले उठाउनुभएका रोग र कीराका समस्याको समाधानका उपायहरूबारे नार्कका बैज्ञानिकहरूले जानकारी दिए । शिविरमा किसानहरूले रोग र कीरा लागेका विभिन्न बालीका नमूना लिएर वैज्ञानिकहरूसँग परामर्श लिए । वैज्ञानिकहरूले शिविरमै नमुनाको जाँच गरि आवश्यक सल्लाह समेत दिए ।

कार्यक्रममा राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्रका अनुसन्धानकर्मीहरू डा. काशीनाथ चिलुवाल, रामचन्द्र गौली, विष्णु न्यौपाने, बिनु भाट, राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रका प्रमुख सुरज वैद्य, अनुसन्धानकर्मीहरू चेतना मानन्धर, श्रृंखला मानन्धर, विमला पन्त, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय लगायतको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *