सरकारलाई विज्ञहरुको ध्यानाकर्षण- डोजरे विकासले पहिरो आमन्त्रण गरिरहेको छ (भिडिओ) – Nepal Press

सरकारलाई विज्ञहरुको ध्यानाकर्षण- डोजरे विकासले पहिरो आमन्त्रण गरिरहेको छ (भिडिओ)

‘पहिरोबाट बर्सेनि ३०० नेपालीले ज्यान गुमाउँछन्, न्यूनीकरणमा सरकारले चासो दिँदैन’

काठमाडौं । विपतविज्ञहरुले प्रभावको आधारमा पहिरो पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

धादिङको धुनीबेंसी नगरपालिकामा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले शनिबार आयोजना गरेको ‘पहिरोको चुनौती र व्यवस्थापन’ विषयक सचेतना अभियान कार्यक्रममा विज्ञहरुले नेपालमा पहिरोका कारण बर्सेनि ३०० नेपालीले ज्यान गुमाइरहेको भए पनि सरकारले आवश्यक चासो नदेखाएको गुनासो गरेका हुन् ।

उनीहरुले पहिरोविज्ञहरुलाई पहिरोको चिन्ता नहुने र पहिरो पीडितलाई पहिरोको बारेमा ज्ञान नहुने समस्याले पनि धेरै नोक्सान व्यहोर्नु परिरहेको बताए । पहिरो रोकथाम र न्यूनीकरण गर्न सरकारको गर्ने विकासे आयोजनाहरुमा पनि आवश्यक ध्यान दिन जरुरी रहेको उनीहरुको भनाइ छ ।

विज्ञहरुले डोजरे विकासका कारण पहिरो आमन्त्रण गर्ने काम भइरहेको औंल्याए । पीडितहरुलाई पहिरो सचेतना जागरण अभियानबाट सचेत गराउन आवश्यक रहेको उनीहरुले बताए । पहिरोको जोखिम क्षेत्रको पहिचान गरेर बस्ती बसाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले सरकारले अहिले जोखिम नक्सांकन गरेर पूर्वसूचना प्रणालीको विकास गरिएको बताए ।

प्राधिकरणले पहिरोबाट हुने क्षति कम गर्न पहिरो पूर्वसूचना प्रणालीको विकास गरिरहेको उनको भनाइ छ । ‘पहिरो पूर्वसूचना प्रणाली देशका १४ जिल्लामा अहिले सञ्चालन भइरहेको छ । आगामी दिन अझै विस्तार हुनेछ’, उनले भने, ‘भूकम्पको पूर्वसूचना प्रणाली सहज हुने भए पनि पहिरोको कठिन हुने गरेको छ । यस वर्ष बाढी र पहिरोको हिसाबमा देशमा बढी चुनौती र चिन्ता रहेको छ ।’

यस वर्ष गत वर्षहरुको तुलनामा बढी वर्षा हुने सम्भावना रहेको र त्यसका लागि देशभरका प्रणालीहरु चुस्त बनाउने र पूर्वतयारीहरु गर्ने काम भइरहेको उनले जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनविज्ञ डा. गंगालाल तुलाधरले संघ, प्रदेश र स्थानीय सरकारले कुल वार्षिक बजेटको ५ प्रतिशत बजेट हरेक जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि छुट्याउनुपर्ने माग गरेको भए पनि सरकारले आफ्नो काम होइन भन्ने हिसाबले बेवास्ता गरेको बताए ।

उनले कामको दायित्व र कामको प्राथमिकतामा नराख्ने चलनले वर्षमा विपतका कारण मानिसहरु मर्नुपर्ने बाध्यता रहेको बताए ।

अहिले पनि वर्षमा १ हजार मानिस विपतका कारणले मर्नुपरेको उनको भनाइ छ ।

एनसेटका अध्यक्ष आमोदमणि दीक्षितले पहिरोको प्रत्यक्ष असर अर्बौं रुपैयाँ रहेको र अप्रत्यक्ष असर बेपत्ताहरु धेरै रहेको बताए । उनले मुलुकको अर्थतन्त्रमा पहिरोका कारण धेरै ठूलो असर पर्ने गरेको बताए ।

प्राध्यापक डा. नेत्रप्रकाश भण्डारीले पानी र पहाड भएपछि पहिरो जाने बताउँदै बाटोको वरपरमात्रै पहिरो जाने भन्ने भाष्य सिर्जना भइरहेको बताए । उनले पहिरोको जोखिम कुन ठाउँमा छ र कुन ठाउँमा छैन भन्नेबारेमा जानकारी हुनुपर्ने औंल्याए ।

‘आफू बस्ने ठाउँ जोखिममा छ वा छैन भन्नेबारेमा सबैले जानकारी पाउनुपर्छ’, प्रा. भण्डारीले भने ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले डोजरे विकासका नाममा पहिरोलाई आमन्त्रण गर्ने काम भइरहेको बताए ।

धुनीबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नागरिकको प्रत्यक्ष देख्ने, सुन्ने र अनुभूति गर्ने सरकार स्थानीय सरकार भए पनि स्थानीय सरकारसँग धेरै समस्या रहेको बताए । उनले स्थानीय सरकारको अप्ठेरो बुझ्ने सरकार केन्द्रमा बन्न नसकेको गुनासो गरे ।

केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व हुन नसक्दा कानूनमा लेखिएको कुरा पनि स्थानीय सरकारले प्राप्त र उपयोग गर्न नपाएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *