‘किचन क्याबिनेट’ सुदृढ गर्दै रवि, सचिवालय प्रमुखमा भित्र्याए सुशासन विज्ञ डा. भरतमणि – Nepal Press

‘किचन क्याबिनेट’ सुदृढ गर्दै रवि, सचिवालय प्रमुखमा भित्र्याए सुशासन विज्ञ डा. भरतमणि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफ्नो सचिवालयको सुदृढीकरणमा लागेका छन् । उनले भर्खरै सचिवालय प्रमुखमा बलियो प्रोफाइल भएका सुशासन विज्ञ डा. भरतमणि देवकोटालाई भित्र्याए ।

कानूनतः लामिछानेले सरकारी सेवा सुविधा पाउने गरी आफ्नो सचिवालयमा ११ जनासम्म कर्मचारी नियुक्त गर्न सक्छन् । उनले उक्त कोटामा नियुक्ति गर्दै सचिवालयलाई पूर्णता दिन लागेका हुन् । अहिले ७ जना सचिवालयमा कार्यरत छन् ।

डा. देवकोटालाई सहसचिव सरहको सेवा सुविधा पाउने गरी ४ दिनअघि नियुक्ति दिइएको हो । उनले काम थालिसकेका छन् । डा. देवकोटासँग अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । उनले थुप्रै देशमा सेभ द चिल्ड्रेनको कन्ट्री डाइरेक्टरको जिम्मेवारी निभाएका थिए ।

डा. देवकोटाले अमेरिकाबाट विद्यावारिधि गरेका हुन् । व्यवस्थापन विषयमा वासिङ्टन इन्टरनेसनल युनिभर्सिटीबाट पीएचडी गरेपछि उनले विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्थामा काम गरेका थिए ।

उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका प्रमुख थिए । रविको सचिवालयमा तानिएपछि कार्यवाहक प्रमुखको जिम्मेवारी यज्ञमणि न्यौपानेलाई दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर