संसदीय समितिको मागमा अडिग रहने कांग्रेसको निर्णय, सभामुखको भूमिका तटस्थ नभएको ठहर (भिडिओ) – Nepal Press

संसदीय समितिको मागमा अडिग रहने कांग्रेसको निर्णय, सभामुखको भूमिका तटस्थ नभएको ठहर (भिडिओ)

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद वैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गर्‍यो ।

बैठकपछि पत्रकारसँग बोल्दै कांग्रेस नेता रमेश लेखकले सहकारीको रकम ठगीमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण सार्वजनिक भएकोले उनीमाथि छानविनको माग पुन जोडदार रुपमा राखिएको बताए ।

सरकार नै सहकारी ठगीमा लागेकालाई बचाउन लागिपरेको ठहर कांग्रेसले गरेको उनले जानकारी दिए । ‘सरकारलाई यस्ता जनहितविरोधि काममा नलाग्न चेतावनी दिएका छौं,’ लेखकले भने ।

कांग्रेसले हिजो वैठक सञ्चालनको विषयलाई लिएर पनि ध्यानाकर्षण भएको जनाएको छ ।

लेखकले भने, ‘विपक्षी दल उभियो भने मात्रै पनि संसद अवरोध मानिन्छ । एकजना मात्रै उभिए पनि अवरोध मानिन्छ भनेर सभामुखबाट रुलिङ भएका छन् । तर सिंगो प्रतिपक्षी दल वेलमा नारा लगाउँदै गर्दा बैठक सञ्चालन गर्नु उचित भएन भन्ने ठहर गरिएको छ । सम्माननीय सभामुखको पद तटस्थता र निस्पक्षताको पद हो । तर, त्यस्तो भूमिका उहाँबाट भएन । हामीले सभामुखलाई तटस्थता र निस्पक्षता कायम राख्न आग्रह गरेका छौं ।’

प्रतिपक्षी सांसदहरु सदनमा उभिएको बेला सत्तापक्षकै माननीय नेताहरु उभिने कुरा स्वभाविक नभएको पनि लेखकले बताए ।

 


प्रतिक्रिया

One thought on “संसदीय समितिको मागमा अडिग रहने कांग्रेसको निर्णय, सभामुखको भूमिका तटस्थ नभएको ठहर (भिडिओ)

  1. यही कांग्रेस होइन तत्कालीन नेकपा एमालेलाई फुटाउन सभामुख रामचन्द्र पौडेल र अग्नि सापकोटा प्रयोग गर्ने कांग्रेस आततायी थियो र छ भन्ने म एक आम नागरिकको बुझाई हो सत्ता नभए पछि बौलाउने रोग कांग्रेसीमा रहेछ नत्र हिजो को अवस्थामा के हेरेर बसेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर