‘वसन्त’ आधाउधी मेरै कथा हो : प्रकाश सपूत – Nepal Press

‘वसन्त’ आधाउधी मेरै कथा हो : प्रकाश सपूत

काठमाडौं । राजधानीमा एक कार्यक्रमबीच गायक तथा सर्जक प्रकाश सपूतले आफूले निर्देशन गर्न लागेको चलचित्र ‘वसन्त’ को घोषणा गरे । नाम घोषणाकै बीच चलचित्रको सार प्रस्तुत गरिएको एक भिडियो क्लिप देखाइएको थियो । भिडियो सपूतले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै प्रोजेक्टबारे विस्तृत जानकारी गराएका थिए ।

यो उनको डेब्यु निर्देशकीय चलचित्र हो । यसअघि उनले नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’मा नायकको रुपमा डेब्यु गरेका थिए । अब भने उनी आफैं चलचित्र बनाउँदैछन् ।

चलचित्रको कथा उनी आफैंले लेखेका हुन् । चलचित्रका गीतहरुमा संगीत पनि उनी आफैंले भर्नेछन् । सपूतले कार्यक्रममा चलचित्रको रिलिज मिति पनि घोषणा गरे । चलचित्र यहीं वर्षको चैते दशैँमा रिलिज हुनेछ ।

चैतको समयमा वसन्त ऋतु पर्ने र नयाँ वर्षको समय पनि छुने भएकाले चलचित्र चैते दशैँमा रिलिज गर्न लागेको सपूतले बताए ।

दलित युवकको प्रेम कथालाई समेटिएको ‘वसन्त’ लाई मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचनले मिलेर निर्माण गर्नेछन् ।

चलचित्रमा सपूत स्वयं फिचर्ड छन् । उनलाई स्क्रिनमा नायिका स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेले साथ दिँदैछन् । प्रकाश र स्वस्तिमाले यसअघि ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नुपर्छ’ गीतका भिडियोमा सहकार्य गरेका थिए । अब भने यी दुई चलचित्रमै देखिने भएका छन् ।

चलचित्रको कथावस्तु बागलुङको ग्रामीण क्षेत्रको हो । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र सो लक्ष्य हासिल गर्न उनले गर्ने संघर्ष चलचित्रको कथा हो । आरनमा काम गर्ने लोहारको रोलमा कमलमणि देखिनेछन् । चलचित्रमा ‘वसन्त’ को भूमिका निर्वाह गरेका प्रकाश उनै कमलमणिका छोरा हुन् । चलचित्रमा स्वस्तिमाले ‘शान्ति’ नामक पात्रको रोल गरेकी छन् । स्वस्तिमा कथित उपल्लो जातकी युवतीको भूमिकामा छिन् ।

सपूतका अनुसार यो चलचित्र उनको आफ्नो अनुभवमा आधारित छ । उनले आफ्नो जीवनको भोगाइ फिल्मांकन हुने बताए ।

‘म सानैबाट समाजमा यस्ता पात्रहरु भइदिए हुन्थ्यो वा शान्तिहरु भइदिए हुन्थ्यो भन्दै हुर्किएँ । तर भइदिएनन् । कोहीकोही देखिन्थे । तर, उनीहरुमा सोच थियो, आँट थिएन’, उनले सुनाए, ‘उनीहरुमा यो विद्रोह गर्ने हिम्मतै थिएन । त्यही शान्तिको विद्रोह र वसन्तको कथालाई देखाउन खोजेको छु ।’

उनका अनुसार यो सुरुवात हो । ‘पहिला आफ्नो कथा भनौं अनि कथाहरु खोजौं जस्तो लाग्यो । त्यसैले वसन्त आधाउधी मेरै कथा हो । हामीले यस्तै जीवन बाँच्यौं, यस्तै जीवन भोग्यौं र त्यही जीवनको चित्रण वसन्तमा गरिएको छ’, उनले थपे ।

नायिका स्वस्तिमा खडकाले पनि सपूतसँग जोडिन पाएकोमा आफू खुसी भएको बताइन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पनि उपस्थित थिए। केसीले स्वस्तिमा आफ्नो मनपर्ने नायिका भएको र प्रकाश सपूत आगामी दिनमा नेपाली सिने क्षेत्र हाँक्ने व्यक्ति भएर निस्किनेमा आफू विश्वस्त भएको बताए ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार हुने चलचित्रको सह–निर्देशन सुनिल विकले गर्दैछन् । सुनिल प्रकाशका भाइ हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *