चेम्बर प्रतिनिधिमण्डललाई प्रधानमन्त्री दाहालले भने- अर्थतन्त्रको जग बलियो बनाउने गरी नीति तथा कार्यक्रम बन्दैछ


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । आइतबार चेम्बर प्रतिनिधिमण्डलले सिंहदरवारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधिमण्डलमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रवीर मालाकार एवं पदाधिकारीहरु थिए । भेटमा प्रतिनिधिमण्डलले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्नेलगायतका सुझाव दिएको छ ।
अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ । आयकर ऐन २०५८ का अधिकांश प्रावधान स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूतप्रभावी दायित्व देखापरेको भन्दै अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
घरजग्गा खरिद बिक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालू नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यालयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ ।
‘विगतमा लिएका संकुचित नीतिहरुका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्ततालगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ’, चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चेम्बरले सहकारी क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि अविलम्व पहल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरु पीडित भएका छन् । सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान हुनुपर्छ ।’
चेम्बरले करका कारण विवादित मुद्दाहरुको यथाशीघ्र समाधान गर्न कर व्यवस्थापन आयोग गठन गर्न माग गरेको छ ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताए ।
उनले भने, ‘अर्थतन्त्र संकटोन्मुख पनि छैन, चलायमान पनि हुन सकेको छैन । अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन ।’
प्रधानमन्त्री दाहालले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको बताए । मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्न सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।
सहकारी समस्या समाधान गर्न सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।